काठमाडौं – युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार (आज) घरेलु टोलीको सामना गर्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।
तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिज खेल्न युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज २–१ ले आफ्नो पक्षमा पारिसकेको छ। एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ३ विकेटको पराजय बेहोरेपनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रन र तेस्रो खेलमा ४ विकेटको जित निकालेको थियो।
नेपालले टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल माघ १८ र तेस्रो तथा अन्तिम खेल माघ २० गते खेल्नेछ। राम्रो फर्ममा रहेको नेपाली टोलीले टि–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ। जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीकाटिप्पणी हुने गरेपनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन्।
सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–२० विश्वकप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो। पुनः गत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको थियो। टि–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ।
सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्तरुपमा आयोजना गएको टि–२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २० रनले पराजित भएको थियो। त्यस्तै सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टि–२० विश्वकपअन्तर्गत अभ्यास खेलमा युएई ६ विकेटले विजयी भएको थियो। सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो।
प्रकाशित: १७ माघ २०७५ ०५:३९ बिहीबार