२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

पुलिसको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं – जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा सोमबार साबिकको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पूर्णविराम लागेको हो। एपिएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ। पुलिसको एपिएफसँग समान २१ अंक भए पनि पुलिस हेड टु हेडमा पछि परेको हो।

खेलमा एपिएफले पहिलो सेट २५–२० ले सहजै आफ्नो पक्षमा बनाउँदै विभागीय टोलीमाथि दबाब बनायो। तर, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपिएफले पुलिसलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्यो। तर, एपिएफले ३३–३१ को कठिन जित निकाल्दै दोस्रो सेटमा पनि महत्वपूर्ण सफलता प्राप्त गर्यो।

दुई सेट आफ्नो बनाएसँगै बलियो आत्मविश्वासी बनेको एपिएफले तेस्रो सेट भने २५–१० ले सहजै आफ्नो बनाउँदै पुलिसको अपराजित यात्रालाई रोक्यो। यससँगै पहिलो राउन्डको खेल सकिन लाग्दा एपिएफ  लिगमा अपराजित रहने एक्लो टोली बनेको छ। एपिएफले पहिलो चरणको अन्तिम खेल मंगलबार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिसँग खेल्नेछ। 

सोमबारकै अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान बलियो बनाएको छ। आर्मीले पश्चिमाञ्चलमाथि २५–१२, २५–१५ र २५–२१ को सहज जित निकाल्यो। आर्मीसँग पराजित भएको पश्चिमाञ्चलले चितवन टाइग्रेसमाथि २५–२२, २५–५ र २५–१५ को जित निकाल्दै चौथो स्थानमा उक्लन सफल भयो।

पहिलो चरणको अन्तिम खेल बाँकी छँदा पश्चिमाञ्चलले ७ खेलबाट १३ अंक जोड्यो। निकै रोमाञ्चक बनेको खेलमा चितवन टाइगे्रसले श्रीगाउँ दाङमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो। चितवनले सुरुआती दुई सेट गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।

चितवन सुरुआती दुई सेटमा १७–२५ र २१–२५ ले पछि परेको थियो। तर, त्यसपछिको तीन सेट चितवनले २५–२२, २५–५ र १७–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो। डबल लिगअन्तर्गत मंगलबार पहिलो चरणको एक खेल हुनेछ। पहिलो राउन्डको अन्तिम खेलमा एपिएफ र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दोस्रो चरणको पाँच खेल हुने आयोजकले जनाएको छ।

दोस्रो चरणमा आर्मी र सेब, पुलिस र चितवन टाइग्रेस, पश्चिमाञ्चल र श्रीगाउँ तथा एपिएफ र चितवन टाइग्रेसबीच खेल हुनेछन्। पहिलो चरण सकिँदा सेब ११ अंकसहित पाँचौं, श्रीगाउँ १० अंक जोडेर छैटौं स्थानमा छन्। चितवन ८ अंक जोडेर सातौं स्थानमा रहँदै दोस्रो राउन्डमा प्रवेश गर्न सफल भयो। यी टोलीहरूबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ।

प्रकाशित: १५ माघ २०७५ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App