१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

चौध वर्षपछि पोखरामा अफ्रिकन टोली

पोखरा – १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोलीले गोल्डकपमा सहभागिता जनाउँदै छ। छैटौं संस्करणको मनकामना केबलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको सहभागिता हुँदैै छ।

यसअघि यसै प्रतियोगिताको तेस्रो आहा रारा गोल्डकपमा अफ्रिकन युनाइटेडले सहभागिता जनाई उपाधि उचालेको थियो। यसपटक भने क्यामरुनी टोली दाउफिन्सको सहभागिता रहनेछ। क्यामरुनी टोलीको नेपाली व्यवसायिक फुटबलमा भने दोस्रो सहभागिता हो। यसअघि सुदूरपश्चिममा आयोजित खप्तड गोल्डकपमा सहभागिता जनाएको थियो।

पोखरा कपको पहिलो संस्करणमा विदेशी टोली बंगलादेशको धनमुन्डी क्लब पोखरा आइपुगेको थियो। उपाधि जितेर फर्किएको टोली त्यसपछि पोखरा फर्किएन। आउँदो मंगलबारदेखि सुरु हुने छैटौं संस्करणमा अर्को विदेशी टोलीको रूपमा भने जापानको युनिर्भसिटीको टिम पनि आउने आयोजकले जनाएको छ। रिहो युनिर्भसिटी जापानले पोखराको मैदानमा पहिलो पटक उपस्थिति जनाउँदा नेपालका अन्य दश टोलीले प्रतिस्पर्धा गर्नेछ।

सहिद स्मारक लिगमा सहभागी भएका ‘ए’ डिभिजन ९ र आयोजक पोखरा–११ गरी कुल १२ टोलीले उपाधिका लागि चुनौती प्रस्तुत गर्ने प्रतियोगिताका संयोजक हरि खड्काले जानकारी दिए। प्रतियोगितामा लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार, संकटा, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, नेपाल पुलिस, हिमालयन शेर्पा, च्यासल र ब्रिगेड ब्वाइज क्लबको सहभागिता रहने संयोजक खड्काले बताए।

छैटौं संस्करणमा पुरस्कार राशिसमेत बृद्धि गरिएको छ। पाँचौं संस्करणभन्दा झण्डै दुई लाख रुपैयाँ बृद्धि गरिएको छ। विजेताले सात लाख ५५ हजार, उपविजेताले चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने निर्णयसमेत भएको कास्की जिल्ला फुटबल संघले गरेको छ। विधागत पाँच उत्कृष्टअन्तर्गत फरवार्ड, डिफेन्स, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

आयोजक जिल्ला फुटबल संघले १२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। संघका अनुसार फुटबल खेलमा योगदान गर्ने एक जनालाई सम्मानस्वरूप मोटरसाइकल प्रदान गर्ने निर्णयसमेत गरेको छ। दुई वर्षपछि पुनः सञ्चालनमा आएको प्रतियोगिताअन्तर्गत मनकामना केबलकार पोखरा कपको तयारी अन्तिम चरणमा छ। मैदान वरिपरी टिनले बार्ने काम गरिएको छ। दर्शकलाई आवश्यक प्यारापिट निर्माण गरिँदै छ। संघले मैदानलाई मर्मत सम्भारसमेत गरिरहेको छ।

प्रकाशित: १२ माघ २०७५ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App