काठमाडौं - कुनै पनि क्षेत्रमा उत्कृष्टता हासिल गर्न लामो समयदेखिको अभ्यास अथवा तयारी आवश्यक हुन्छ, जुन तथ्य खेलक्षेत्र पनि लागू नहुने कुरै भएन । अन्तर्राष्ट्रिय सफलताका अगाडि आवश्यक भौतिक पूर्वाधार र उत्कृष्ट प्रशिक्षण कारक रहेको तथ्य जगजाहेर नै छ।
नेपालमा एकतिर भनेजस्ता भौतिक पूर्वाधार छैनन्, भएका पनि जीर्ण अवस्थामै छन् । काठमाडौंको केन्द्रमा रहेको दशरथ रंगशाला परिसर २०७२ वैशाखमा गएको भूकम्पले अझै पनि अस्तव्यस्त छ । झन् त्यसमा थालिएको पुनर्निर्माणले खेलाडीको प्रशिक्षण भने थलिएको छ । यी आरोहअवरोहका कारण पछिल्ला समयमा खेलाडीले राम्रो तयारी गर्न सकिरहेको छैनन्।
सातदोबाटोमा रहेको स्विमिङ पुल समयमा नबन्दा स्विमिङ खेलाडी आफ्नै खर्चमा प्रतिमहिना १० हजार रुपैयाँ तिरेर कालोपुलमा रहेको प्राइभेट सेक्टर प्रशिक्षण गर्न बाध्य छन् ।
जसको कारण उनीहरूको स्टामिना पनि राम्रोसँग जम्न सकिरहेको छैन । खेलनेतृत्व पछिल्ला समयमा आठौं राष्ट्रिय खेलकुद र १३औं सागको तयारीमा जुटेकाले पनि खेलाडीहरूले आफ्नो तयारीलाई जारी राख्न आवश्यक पर्ने प्रशिक्षण केन्द्र जतिसक्दो चाँडो निर्माण गर्नबाट चुकिरहेको छ।
नेपाली खेलकुदका अधिकांश मुख्य प्रशिक्षण केन्द्र पछिल्ला समयमा पुनर्निर्माणका कारण सञ्चालनमा छैनन् । प्रस्तावित १३औं सागलगायत कयौं अन्तर्राष्ट्रिय खेलको तयारीमा प्रयोग हुने ती अधिकांश प्रशिक्षण केन्द्र ढुंगा र बालुवाले भरिभराउ छन् । त्यसमा पनि केही ठाउँमा ती पूर्वाधार भत्काइँदै गरेका कारण निकै ठूलो मेसिन र तिनका आवाज प्रशिक्षणका लागि व्यवधान उत्पन्न गर्ने कारक हुन् । यस्तै नेपाली खेलकुदको मुख्य प्रशिक्षण केन्द्रमध्ये एक हो– त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्।
सातदोबाटोको परिस्थिति पनि उस्तै छ । वि.सं २०६८ सालमा राखेपका तत्कालीन सदस्यसचिव युवराज लामाको पालामा रंगशालाका पिलर रेक्टोफिट गर्ने भन्दै सुरु भएको पुनर्निर्माण अझैसम्म पनि सकिएको छैन । भूकम्पबाट क्षतिग्रस्त थप संरचना पुनर्निर्माणले अझै पनि पूर्णता पाउन सकिरहेको छैन।
भूकम्पबाट क्षति भएका संरचनाहरू समयमा नबन्दा खेलाडीहरूले प्रशिक्षण गर्ने ठाउँको अभाव भोग्दै आइरहेका छन् । करिब ५० भन्दामाथि खेलको मुख्य प्रशिक्षण केन्द्र रहेको परिषद् परिसरका संरचना पुनर्निर्माण चलिरहेकाले खेलाडीहरू प्रशिक्षण गर्न वैकल्पिक स्थान खोज्न बाध्य छन् । परिषद्लाई केन्द्रीय प्रशिक्षण स्थल बनाउँदै आएका खेलाडीले संरचना बन्न ढिला हुँदा ७ महिनादेखि राम्रोसँग प्रशिक्षण गर्न पाएका छैनन्।
परिषद्को भित्री कभर्डहल र सेमी कभर्डहलमा कयौं प्रतियोगिता र प्रशिक्षण हुँदै आएका थिए । सातदोबाटोमा रहेका प्रशिक्षण केन्द्रमा अवस्था उस्तै छ । त्यहाँ पनि निर्माण नै भइरहेको छ । वरिपरि भवन बन्न थालेपछि प्रशिक्षण गत महिनादेखि ठप्पजस्तै छ । सेमी कभर्डहलसँगै खेलाडीका लागि हस्पिटल बन्दै छ।
त्यसैले केही दिनअगाडिदेखि भूकम्पबाट क्षतिग्रस्त त्रिपुरेश्वरस्थित स्विमिङ पुलमा बक्सिङलगायत अन्य खेलले आलैपालो प्रशिक्षण गरिरहेका छन् । भत्किएको स्विमिङ पुलमा निकै फोहोर भए पनि केही भागमा खेलाडीले सफा गरेर प्रशिक्षक गर्दै आइरहेका छन् । उसु र करातेका केही खेलाडीले परिषद्ले ब्लु क्रस हस्पिटललाई पार्किङ गर्न दिएको स्थलमा प्रशिक्षण गर्दै छन्।
सोही भत्किएको स्थानमा पालो मिलाएर बेलुका मुवाँथाई र क्योकुसिन करातेका खेलाडी पनि प्रशिक्षण गर्छन् । स्विमिङ पुलनजिकै परिषद्को प्राङ्गणमा १२औं सागमा स्वर्णविजेता निमा घर्तीमगरलगायतको उसु टोली प्रशिक्षणरत छ।
पार्किङ गर्न हुत्तिएर आएका गाडीबाट सजग रहँदै सो टोली प्रशिक्षण गरिरहेको हुन्छ । त्यहाँ गाडी आउँदा धुलो उडिरहे पनि खेलाडी हातले मुख छोप्दै प्रशिक्षणमै केन्द्रित छन् । खेलाडीहरूको यो दुर्दशाप्रति खेलनेतृत्व युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई कुनै किसिमको चासो छैन।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार सर्वाधिक भ्रमण गर्ने मन्त्रीको रूपमा सार्वजनिक भइरहँदा खेलक्षेत्रले उनको गैरजिम्मेवारी देखिरहेको छ । एकातिर मन्त्री विश्वकर्माले भ्रमणका लागि १० महिनाभित्र ९ लाख ५५ हजारभन्दा माथि रकम बुझेको सार्वजनिक भएको छ भने अर्कातिर फोहोरले भरिएको स्विमिङ पुलमा प्रशिक्षण गरिरहेका खेलाडीको निकै निराशा छँदै छ।
राष्ट्रिय खेलकुद परिषद्ले केही खेलाडी समेटेर विशष्ो प्रशिक्षण सुरु गरेता पनि उनीहरूले पनि प्रशिक्षण केन्द्रको अभाव खेप्दै आइरहेको छ । उसु टोलीले पनि १३औं साग लक्षित विशेष प्रशिक्षण गरिरहेको हो । तर, उनीहरूले स्थान अभाव खेपिरहेका छन्।
उसुका मुख्य सहायक प्रशिक्षक गणेश अर्यालले १२औं सागका स्वर्ण विजेता निमालगायत सान्सौं र थाउलोको समान दुई खेलाडी विशेष प्रशिक्षणमा रहेको बताउँदै खेल्ने स्थान अभावका कारण समस्या उत्पन्न भएको दुखसो पोखे ।
‘परिषद्ले विशेष प्रशिक्षण सुरु गरेर राम्रो गरिरहेको छ । तर, खेल्ने संरचना नहुँदा खेलाडी समस्यामा छन् । हामी सेमी कभर्ड हलमा प्रशिक्षण गरिरहेका थियौं । त्यहाँको केही स्थान भत्काउन थालिएपछि हामीले स्विमिङ पुल र पार्किङ भएको स्थान रोजेका हौं,’ उसुका प्रशिक्षक गणेशले भने, ‘बिहानबेलुका खेलाडीले प्रशिक्षण गर्ने समयमा पार्किङलाई व्यवस्थित गर्दिएको भए हामीसँगै अन्य खेलका खेलाडीले पनि सहज तरिकाले प्रशिक्षण गर्थे। ’
आठौं राष्ट्रिय खेलकुद आयोजनामा ढिलाइ भएकाले राष्ट्रिय खेलकुद परिषद्ले इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गत मंसिर २५ देखि विशेष प्रशिक्षणमा राखेको थियो । माघ ५ गतेसम्म सञ्चालन भएको विशेष प्रशिक्षणमा २९ खेलमध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४५ खेलाडी विशेष प्रशिक्षणमा सहभागी थिए।
बक्सिङका प्रशिक्षक डम्बरदत्त भट्टले भने सुरुमा प्रशिक्षणस्थल अभाव भए पनि अहिले लगनखेलस्थित आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा प्रशिक्षण गर्न पाएको बताए । ‘सुरुमा सातदोबाटोकै राष्ट्रिय खेलकुद परिषद् कम्पाउन्डबाहिर प्रहिक्षण गर्दै थियौं । त्यहाँ पनि निर्माण भइरहेको थियो । केही दिन डिस्टर्भ भएपछि चार खेलाडीलाई आर्मीको स्थानमा प्रशिक्षण गरायौं,’ प्रशिक्षक भट्टले भने, ‘यहाँ सबै सामग्री भएकाले पूर्णरूपमा तालिम गर्न सहज भयो।’
सातदोबाटोमा पनि पुनर्निर्माण भइरहेकाले राष्ट्रिय स्तरका खेलाडीलगायत कयौं खेलाडीको स्थानाभावका कारण प्रशिक्षण अलपत्र छ । सातदोबाटो पनि प्याराग्लाडिङबाहेक अन्य खेलले उपत्यकामा प्रशिक्षण गरिरहे पनि विभिन्न प्राइभेट सेक्टरमा सञ्चालित स्थानमा महँगो रूपमा प्रशिक्षण गर्दै आइरहेका छन्।
सातदोबाटोमा रहेको स्विमिङ पुल समयमा नबन्दा स्विमिङ खेलाडी आफ्नै खर्चमा प्रतिमहिना १० हजार रुपैयाँ तिरेर कालोपुलमा रहेको प्राइभेट सेक्टर प्रशिक्षण गर्न बाध्य छन् । स्विमिङ संघले ३० खेलाडीमध्ये २० खेलाडीलाई आधी रकम तिरेको महासचिव जगतमान श्रेष्ठले जानकारी दिए । १० खेलाडीले भने पूरै रकम तिरेर प्रशिक्षण गरेको संघका महासचिव जगतमान श्रेष्ठले श्रेष्ठले जनाए।
आगामी मार्चभित्र स्विमिङ पुलको तयारी सक्ने बताइए पनि समयमा काम नहुँदा समय बढ्न सक्ने संघले उल्लेख गरेको छ । त्यस्तै १८औं एसियाडमा रजत पदक हासिल गरेको प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्रीले भने पोखरामा प्रशिक्षण गरिरहेको छ । तर, अन्य खेलले भने समस्या भोग्दै आएका छन् । राखेपले विशेष प्रशिक्षणका लागि सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई जिम्मेवारी दिएको थियो।
तर, खेल्ने स्थान पर्याप्त र उपयुक्त भने छैन । राखेपका सदस्यसचिव केशवकुमार विष्टले बाँकी खेलाडीलाई आठौं राष्ट्रिय खेलकुद लगत्तै प्रशिक्षणमा राखिने बताइसकेका छन् । यद्यपि, पछिल्ला समय परिषद् आठौं राष्ट्रिय खेलको तयारीमा जुटेकाले केन्द्रको संरचना पुनर्निर्माणमा जति हुनुपर्ने सहज रूपले अगाडि बढ्न सकेको छैन।
सबैको ध्यान आठौं खेलकुदमा रहेकाले कयौं खेलाडीको भविष्यको रूपमा जोडिएको मुख्य प्रशिक्षण केन्द्रको निर्माणले तीव्रता पाउन सकिरहेको छैन । र त्यसैले समयमा नै केन्द्रमा रहेको संरचनाको पुनर्निमाणमा पनि त्यतिकै मात्र ध्यान दिनुपर्ने देखिन्छ।
प्रकाशित: ७ माघ २०७५ ०२:०२ सोमबार