७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रिन्स अन्तिम चारमा

काठमाडौं – दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका छन्। मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सहिद रंगशालास्थित कभर्डहलमा मंगलबार यु–१९ विधातर्फ प्रिन्सले म्यानमारका थु रिनमाथि २१–११ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सेमीफाइनल यात्रा तय गरेका हुन्।

यु–१५ का पनि नेपाल नम्बर एक प्रिन्सले नेपालकै रोहित बराललाई पनि २१–६ र २१–११ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन्।  प्रतियोगिताको यु–१९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले नेपालकै सत्यम सुब्बालाई २१–४ र २१–१० को सोझो सेटमा पराजित गर्दै सेमिफाइलनमा नेपालकै पविन लिन्थेप सँगको भेट पक्का गरेका छन्।

पविनले भने क्वार्टरफाइनलमा प्रनिश सिंह ठकुरीमाथि २१–१२, १६–२१ र २१–१६ को रोमाञ्चक जित निकाल्न सफल भएका थिए। रुकेश महर्जनले सहरोज अन्सारीलाई २१–१४, १५–२१ र २१–१७ को सेटमा पराजित गरे। रुकेशले फाइनल प्रवेशका लागि प्रिन्ससँग प्रतिस्पर्धा गर्नेछन्।

यु–१५ ब्वाइजतर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु ले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम चारमा पुगे। हिमालले बिवेक चौधरीलाई २१–१६ र २१–१९, रोसन साउदले उज्जल श्रेष्ठलाई १३–२१, २१–१२ र २१–१३ ले तथा ज लिनले नेपालका अनिष खतिवडालाई २१–१६ र २१–११ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन्।

गल्र्स यु–१९ तर्फको खेलमा जेशिका गुरुङ, सीमा राजवंशी, रञ्जना भट्ट, र रसिला महर्जनले अन्तिम चारको यात्रा तय गरे। जेसिकाले निता लम्साललाई २१–१० र २१–६, सीमाले विश्ना बिष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१–१२ र २१–१२ ले तथा रसिलाले अञ्जना राईलाई २१–२ र २१–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। विश्ना खेलका दौरान घुँडामा चोटका कारण खेलबाट बाहिरिएकी थिइन्।

ब्वाइज यु–१९ युगलतर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१–१० र २१–१० ले हराउँदै सेमिफाइनलमा पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीसँगको भेट पक्का गरे। त्यसअघि पेम्बा र प्रियान्सुको जोडीले क्वार्टरफाइनलमा देवराज राना र रोसन साउदको जोडीलाई २१–११ र २१–१२ ले स्तब्ध पारेका थिए।

बिहीबार नै हुने अर्को सेमिफाइनलमा पविन लिनथेप र दिवश विश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडीसंग प्रतिस्पर्धा गर्ने भएका छन्। लिनथेपको जोडीले शिव थापा र सरोज अन्सारीको जोडीलाई २१–१२ र २१–१७ तथा थुको जोडीले रोहित बराल र उज्जल श्रेष्ठको जोडीलाई २१–५ र २१–१५ ले पाखा लगाएका हुन्।

प्रकाशित: २६ पुस २०७५ ००:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App