२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रंगशाला बनाउने कम्पनीको स्थलगत निरीक्षण

पोखरा रंगशाला । यो रंगशाला बनाउने जिम्मा भारतीय र नेपाली कम्पनीले संयुक्त रूपमा पाएका छन् । रंगशाला बनाउन ठेक्का सम्झौता भएको छ । तस्बिरः उमेश पुन/नागरिक

पोखरा – फुटबल रंगशाला निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रेट स्पोटर्स एन्ड एमए कन्स्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)का पदाधिकारीले सोमबार बिहान रंगशालाको स्थलगत निरीक्षण  गरेका छन्। फुटबल मैदानको चारैतिर निरीक्षण गरेपछि एमए कन्स्ट्रक्सनका सञ्चालक हरिकुमार न्यौपानेले तोकिएकै समयभित्र बिनाअड्चन काम पूरा गर्ने स्पष्ट पारे।

‘सर्भे गरेपछि काम सुरु गर्छौं। सर्भे मंगलबार या बुधबार हुन्छ,’ निरीक्षणपछि पोखरा रंगशालामा उनले भने, ‘फुटबल मैदान वरिपरिको झाडी फाँड्छौं। सर्भे गरेर सकेपछि कामको रफ्तार बढुनेछ।’ ‘केही अप्ठ्यारा परिस्थिति नआओस् भनेर काम सुरु गर्नुअघि नै सहमति हुनुपर्छ। त्यसैअनुसार काम गर्ने हो। भोलि काम गर्दै गएपछि यसो गर्ने र उसो गर्ने भन्दा काममा बाधाअड्चन आउन सक्छ,’ न्यौपानेले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति एवं राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीसँगको छलफलमा भने। पूर्वाधारको काम सुरु गरेपछि समस्या नआउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौतालगत्तै कम्पनीको टोली पोखरा आइपुगेको हो। पोखरामा आउँदो माघ १५ गतेदेखि हुने मनकामना केबलकार कप फुटबल प्रतियोगितालाई भने असर नपर्ने गरी काम गर्ने बताइएको छ। ‘कुनै प्रतियोगिताको नाममा पूर्वाधार निर्माणको काम भने रोकिनु र ढिला हुनु हुँदैन, हाम्रो पहिलो प्राथमिकता र महत्वको विषयवस्तु जे हो त्यसैलाई अगाडि बढाउनुपर्छ,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने।

भारतीय कम्पनी ग्रेट स्पोटर्सका प्राविधिक सिद्धान्त परदेशीसमेत पोखरा रंगशाला आएर वस्तुगत अध्ययन गरेका छन्। ‘भविष्यलाई हेरेर काम गर्नुपर्छ, त्यसैले अहिले नै केही कुरा टुंग्याउन जरुरी छ,’ उनले भने। कम्पनीले टर्फ खेलमैदान, सिन्थेटिक ट्र्याक र स्टिल स्ट्रक्चर हुने जनाएको छ।

टर्फ मैदानको आयु १५ देखि २० वर्षको हुनेछ। खास गरी प्राकृतिक मैदानमा मर्मत सम्भार खर्च बर्सेनि लाग्ने हँुदा पोखरामा टर्फ मैदान नै उपयुक्त हुने कम्पनीको ठहर छ।

भारतीय प्राविधिक सिद्धान्तका अनुसार टर्फ मैदान अमेरिकाबाट आउनेछ। सिन्थेटिक ट्र्याक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउनेछ। प्यारापिटसहितको फुटबल मैदान बनाउन कम्पनीलाई १० महिनाको समयावधि छ। ‘कामभन्दा पहिला निर्णय हुनु महत्वपूर्ण हुन्छ। निर्णय नहुँदा काममा समस्या आउन सक्छ,’ भारतीय प्राविधिक सिद्धान्तको भनाइ थियो।

कम्पनीको प्राविधिक टोलीले सर्भे सकेपछि भइरहेको मैदानलाई थप उचाइमा लैजाने वा पुरानै अवस्थामा पानीको निकासलाई व्यवस्थित गर्ने भन्ने महत्वपूर्ण पाटो रहनेछ। पोखरामा अत्यधिक पानी पर्ने भएकाले पनि पानीको निकास सहज हुनुपर्नेमा विशेष ध्यान दिनुपर्ने कम्पनीका सञ्चालक न्यौपानेले बताए। उनले प्रशिक्षण मैदान र प्रतियोगिता गरिने मैदानलाई लक्षित गरी एउटै अफिसियल ब्लकले जोड्ने अभिव्यक्ति दिए। कालोपत्रे सडकलाई माथिल्लो क्षेत्रबाट ल्याउने स्पष्ट पारे। 

फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्डअनुसार मैदान १०५ मिटर लम्बाइ र ६८ मिटरको चौडाइ हुनुपर्ने उल्लेख छ। मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ। एथ्लेटिक्सका लागि सिन्थेटिक ट्र्याक हुनुपर्ने उल्लेख छ। ४ सय मिटरको आठ लेनको सिन्थेटिक ट्र्याक हुनुपर्ने टेन्डरमा खुलाइएको थियो। टर्फ मैदानको आयु १५ देखि २० वर्षको हुनेछ। खास गरी प्राकृतिक मैदानमा मर्मत सम्भार खर्च बर्सेनि लाग्ने हुँदा पोखरामा टर्फ मैदान नै उपयुक्त हुने कम्पनीको ठहर छ।

प्यारापिट केवल २० हजार दर्शक क्षमताको हुनेछ। ‘दर्शक क्षमता २० हजारमा १० प्रतिशत माइनस÷प्लस छ। तर भविष्यलाई हेरेर विस्तार गर्न सकिने गरी निर्माण गर्नुपर्छ,’ कम्पनीका सञ्चालक न्यौपानले भने, ‘फाउन्डेसन नै त्यहीअनुसार तयार गर्नुपर्छ।’ न्यौपानेले रात्रिकालीन प्रतियोगिताका लागि समेत आवश्यक पर्ने लाइटको व्यवस्था गर्ने विषयमा पहिले नै छलफल हुनुपर्नेमा जोड दिए। उनका अनुसार लाइटका लागि पोल हाल्ने वा रुफटपमा राख्ने भन्ने निर्णय हुनुपर्छ।

नयाँ भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित १३ महिनाअघि ती मैदानको पूर्व–पश्चिम रहेका दुई प्यारापिट भत्काइएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले भने फुटबल स्टेडियमका लागि आवश्यक बजेटमध्ये ५३ करोड समेत विनियोजन गरिसकेको छ। मैदानका लागि एक अर्ब ७३ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ। अर्थ मन्त्रालयले एक अर्ब २० करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने सुनिश्चितता गरेको थियो।

प्रकाशित: २४ पुस २०७५ ००:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App