५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलिया ३० वर्षपछि फलोअनमा

सिड्नी – ३० वर्षपछि घरेलु मैदानमा फलोअनको सामना गरेको अस्ट्रेलियाले सोमबार मेलबर्नमा भारतविरुद्धको अन्तिम तथा चौथो टेस्ट बचाउन संघर्ष गर्ने भएको छ।

चौथो दिन आइतबार वर्षा र खराब प्रकाशले प्रभावित खेलमा अस्ट्रेलिया पहिलो इनिङमा ३ सय रनमा समेटिएपछि भारतले फलोअन दिएको थियो। वर्षाका कारण चार घण्टा ढिला २ सय ३६ रनमा ६ विकेट गुमाउँदै अस्ट्रेलियाले चौथो दिनको खेल सुरु गरेको थियो। भारतले ६ सय २२ रनमा ७ विकेट गुमाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गर्‍यो।

सोही योगफललाई पछ्याएको अस्ट्रेलिया पहिलो इनिङको समाप्तिमा ३ सय २२ रनले पछाडि परेसँगै भारतले फलोअन दिने निर्णय लिएको थियो। त्यससँगै अस्ट्रेलिया घरेलु मैदानमा ३० वर्षपछि फलोअन सामना गर्न  बाध्य भयो। यसअघि सन् १९८८ मा इङ्ल्यान्डका कप्तान माइक गेटिङले अस्ट्रेलियालाई सिड्नीमै भएको टेस्टमा फलोअन दिएका थिए।

त्यसपछि अस्ट्रेलियालाई ३० वर्षपछि फलोअल दिने विराट कोहली भारतका पहिलो कप्तान बने।  अस्ट्रेलियालाई फलोअन दिन भारतीय बलर कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट निकालेका थिए। ३१.५ ओभर बलिङ गरेका कुलदीपले ९९ रन खर्चिएका थिए। मोहम्मद सामी र रवीन्द्र जडेजाले समान दुई विकेट लिँदा जसप्रीत बुमराहले एक विकेट हात पारेका थिए।

दोस्रो इनिङमा ब्याटिङ गरेको अस्ट्रेलियाले बिनाविकेट ६ रन मात्र जोडेको छ। उसका ओपनरद्वय मार्कुस ह्यारिस २ र उस्मान ख्वाजा ४ रनमा नटआउट छन्। चिया ब्रेक हुनुअघि मैदानबाट बाहिरिएका मार्कुस र उस्मान खराब प्रकाशका कारण चौथो दिनको बाँकी खेल खेल्न फर्किएनन्। अस्ट्रेलियाका मिडलअर्डर ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बले अन्तिम दिन समालिएर ब्याटिङ गर्दै बराबरी गर्न सके पनि ठूलो उपलब्धि हुने बताए।

‘सोमबारबाट राम्रो सुरुआत पनि हुन सक्दछ। हामीसँग राम्रा ब्याट्सम्यान पनि छन्।  जसले अझै पनि खराब स्थितिबाट आफ्नो देशलाई बचाउन सक्दछन्,’ अस्ट्रेलियाका क्रिकेटर पिटरले भने, ‘यदि अन्तिम दिन हामीले उत्कृष्ट गर्न सक्यौं भने अझै पनि विश्वको उत्कृष्ट टिम हो भन्ने सन्देश दिन सक्नेछौं।’ यद्यपि,पछिल्लो समय भारतका स्पिनर उत्कृष्ट लयमा रहेकाले अस्ट्रेलियाको जित भने निकै कठिन हुनेछ।

स्पिनरले नयाँ बलमा सहजै विकेट लिने गरेका छन्। शनिबार ६ विकेट लिएका  भारतीय बलरले आइतबार नयाँ बलमा टी ब्रेकअगावै बाँकी विकेट हात पारेका थिए। यसअघि तेस्रो टेस्टमा ६३ रन बनाएका प्याट कमिन्सलाई आइतबार भारतीय बलर सामीले २५ रनमै आउट गरेका थिए। त्यसपछि निकै आत्मविश्वासका साथ ब्याटिङ गरिरहेका ह्यान्ड्सकम्बलाई पनि ३७ रनमै बुमराहले पवेलियनको बाटो देखाएका थिए।

त्यसलगत्तै अर्को ओभरमा नाथम लियोन कुलदीपको फुल टसमा एलबिडब्लुको सिकार भए। तर, अन्तिम विकेटका लागि भने अस्ट्रलियाका जस हाज्लेउड र मिचेल स्टार्कले ४२ रनको साझेदारी गर्दै घरेलु टोलीको इनिङ उकासेका थिए। यद्यपि, कुलदीपले नै जोसलाई २१ रनमा एलबिडब्लुको सिकार बनाउँदै अस्ट्रेलियाको इनिङलाई ३ सय पार गर्न दिएनन्।  

शृंखलामा २–१ ले अगाडि रहेको भारतीय टिम सन् १९४७ मा अस्ट्रेलियाको भ्रमण गरेदेखि पहिलो पटक शृंखला जित्ने दाउमा छ। त्यसका लागि कोहलीको कप्तानीमा रहेको भारतलाई अन्तिम टेस्टमा कम्तीमा बराबरी आवश्यकता पर्नेछ।

प्रकाशित: २३ पुस २०७५ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App