नेपालगन्ज - ‘मेयर कप साइकल दौड प्रतियोगिता’ को सुरक्षामा ‘गम्भीर लापरबाही’ भएको छ। नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा नेपालगन्ज साइक्लिङ क्लबले शनिबार साइकल दौड प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको थियो। उक्त प्रतियोगितामा आयोजक पक्ष र प्रहरी, प्रशासनले गरेको गम्भीर लापरबाहीले प्रतियोगी नै असुरक्षित हुन पुगेका छन्। प्रतियोगिताको ५५ किलोमिटर ‘प्रोफेसनल’ विधाका प्रतियोगी रामचन्द्र बस्नेत ‘भाष्कर’ बीच बाटोमै कुटिएका हुन्।
खजुरा गाउँपालिकाअन्तर्गत पर्ने मनकामना चोकमा स्थानीय युवाले प्रतियोगी बस्नेतलाई दौडकै क्रममा कुटपिट गरेका थिए। ‘हामीहरू ८÷९ जनाको टोली दौडकै क्रममा थियौं, खजुराको मनकामना चोकमा पुग्दा केही युवा बाटोमा साइकल सिकिरहेका रहेछन्, हामीले सिटी फुकेर बाटो छाडिदिन अनुरोध गर्दा उल्टै निहुँ खोजे र कुटपिट गरे,’ रामचन्द्रले नागरिकसँग भने। कुटपिटबाट मुख र ढाडलगायत शरीरमा चोट लागेको उनले बताए।
आफूहरू प्रतियोगितामा सहभागी भएका कारण संयमता अपनाएको उनले बताए। डोल्पा घर भएका रामचन्द्र हाल काठमाडौंमा बस्दै आएका छन्। ओभरसियर विषय पढेका उनी साइक्लिङमा रुचि राख्छन्। प्रतियोगितामा सहभागी हुन नेपालगन्ज आउँदा कुटाइ खानुपर्दा नरमाइलो लागेको दुखेसो पोखे। दौडका क्रममा युवाको आक्रमणमा परेपछि रामचन्द्र १० औं स्थानमा आए। कुटपिटमा संलग्न युवाको हुलिया दिए पनि प्रहरीले पक्राउ गरी कारबाही गर्न चासो नदिएको उनको गुनासो छ। आयोजकले ५५ किमी दूरीका लागि नेपालगन्जको बिपी चोकबाट कोहलपुर, च्यामा चोक, बनकटवाको सम्झना चोक, खजुरा, धम्बोझी चोक हुँदै पुनः बिपी चोकसम्मको रुट तय गरेको थियो।
आयोजकले प्रतियोगीको सुरक्षाका लागि अगाडिबाट प्रहरी र पछाडिबाट क्लबका स्वयं सेवकमार्फत स्कटिङको व्यवस्था मिलाएको थियो भने नेपालगन्ज, कोहलपुर र खजुराका विभिन्न स्थानमा पनि प्रहरी परिचालन गरिएको आयोजकको भनाइ छ। ‘प्रहरी नभएको ठाउँमा युवाले कुटपिट गरेछन्,’ क्लबका सचिव गगन थापाले भने, ‘घटनाबाट हामी दुखी भएका छौं, दोषीलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छौं।’
घटनामा संलग्न युवाको पहिचान गर्ने प्रयास भइरहेको क्लबका सदस्य सतीश निरौलाले बताए। निरौलाले भने, ‘जिल्लाबाहिरबाट आएका प्रतियोगीले कुटाई खाएको घटनाले पक्कै पनि राम्रो सन्देश जाँदैन।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलले कुटपिटमा संलग्न व्यक्तिको खोजी भइरहेको बताए। ‘प्रतियोगीको सुरक्षाकै लागि हामी पनि अगाडितिर स्कटिङमै थियौं, पछाडि त्यस्तो घटना हुन पुगेछ,’ पौडेलले भने ‘घटनालाई गम्भीर रूपले लिएका छौं, टोली परिचालन भएर पत्ता लगाउने प्रयास गरिरहेको छ।’
प्रकाशित: १५ पुस २०७५ ०२:५६ आइतबार