६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एभरेष्ट प्रिमियर लिगः ललितपुरद्वारा विराटनगरसामु १०५ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्सले साविक विजेता विराटनगर वारियर्सलाई जितका लागि १०५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा शनिबार (आज) बाट शुरु भएको प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुर प्याट्रियोट्सले २० ओभरमा ९ विकेट गुुमाउँदै १०४ रन बनाएपछि विराटनगर वारियर्सले जितका लागि १०५ रनको लक्ष्य पाएको हो।

ललितपुरका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनको योगदान दिए। अर्धशतक बनाउन १ रनले चुकेका मल्लले ५२ बलमा ३ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै सन्नी पटेलले २० र पवन सर्राफले १४ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर कटाउन सकेनन्।

ललितपुरलाई सस्तैमा समेटन विराटनगरका रोएलोफ भान डेर मेर्वीले र करण केसीले २–२ तथा बसन्त रेग्मी, पारस खड्का र स्मित पटेलले एक–एक विकेट लिए।

विराटनगरको नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्का र ललितपुरको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले गरिरहेका छन्। प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किंग्स–११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ। विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का कप्तानीमा रहेको विराटनगरले अपराजित रहँदै गत संस्करणको उपाधि उचालेको थियो। बिहीबार आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सहभागी ६ वटै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका थिए।

विराटनगरबाट नेदरल्याण्ड्सका पाउल भान मिकेरन र रोएलोफ भान डेर मेर्वी, हङकङका बाबर हायात तथा भारतका स्मित पटेलले खेलिरहेका छन्। विराटनगरको प्रशिक्षकमा भारतका उमेश पटवाल रहेका छन्। त्यस्तै ललितपुरबाट भारतका जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारले खेल्दै छन्।

प्रकाशित: २२ मंसिर २०७५ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App