काठमाडौं – साउथह्याम्टनलाई ३–१ ले पराजित गर्दै टोटेनह्याम इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनह्यामले ९ औं मिनेटमा ह्यारी केनको गोलमा अग्रता लिएको थियो।
पहिलो हाफमा १–० ले अघि रहेको टोटेनह्यामका लागि ५१ औं मिनेटमा लुकास मौराले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे। ५५ औं मिनेटमा सन ह्युङ मिनले गोल गरेपछि मौरीसियो पोचोटिन्होको टोली ३–० ले अघि रह्यो। त्यसपछि साउथह्याम्टनले गोल गर्ने दुई राम्रा अवसर पाएपनि गोल गर्न भने सकेन्। इन्जुरी समयमा साउथह्याम्टन चार्ली अस्टिनले एक गोल फर्काएका थिए।
लिगको अघिल्लो खेलमा आर्सनलसँग ४–२ ले हारेको टोटेनह्यामले उत्कृष्ट पुनरागमन गर्दै स्पष्ट ३ अंक जोडेको छ। टोटेनह्यामको १५ खेलबाट ३३ अंक छ। पराजित साउथह्याम्टन भने ९ अंकका साथ रेलिगेशन जोनमा छ।
प्रकाशित: २० मंसिर २०७५ ०५:५६ बिहीबार