१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

इरान सहआयोजक बन्ने अपेक्षा

पेरिस – कतार विश्वकप २०२२ को आयोजक कमिटीले प्रतियोगितामा फिफाबाट सहभागी टोलीको संख्या बढ्ने संकेत पाएसँगै इरानबाट सहआयोजक बन्ने प्रस्तावको अपेक्षा गरिएको तर हालसम्म कुनै निर्णय भने नदिएको बताएको छ।
इरानले केही साताअघि ४ वर्षपछि सुरु हुने विश्वकपका लागि सहआयोजक बन्न इच्छुक रहेको बताएको थियो ।

‘यो योजनामा इरान सहमत हुनुपर्छ भन्ने छैन। यो वैकल्पिक योजना हो तर यो सबैमा फिफाको स्वीकृति आवश्यक छ,’ कतार विश्वकप २०२२ आयोजक कमिटीका प्रमुख हसन अल थावाडीले भने, ‘हामीलाई धेरै प्रस्ताव आइरहेका छन्, तर यसबारै कुनै पनि निर्णय भइसकेको छैन र यो छलफलकै क्रममा छ।’

अमेरिकाले नाकाबन्दी लगाउँदै एक्ल्याउने प्रयास गरिरहँदा इरानले विश्वकपको सहआयोजक बन्न सहमत भए त्यो कतारका लागि ठूलो राहत हुन सक्छ, तर यही निर्णयले खाडी मुलुकमा समेत नयाँ  विवाद निम्त्याउन सक्छ।

खाडी राष्ट्रमा जारी कूटनीतिक नाकाबान्दी, आतंकवादीलाई सहयोग पुर्याएको आरोप, भ्रष्टाचार र मानवअधिकारको दुरुपयोगजस्ता समस्याले पिरोलिरहेको कतार जसरी भए पनि प्रतियोगिता सफल पार्न आतुर छ। फिफाले पहिलो पटक विश्वकपको आयोजना मिति जुन–जुलाईबाट सार्दै २०२२ को विश्वकप नोभेम्बर–डिसेम्बरमा गर्ने निर्णय गरिसकेको छ। प्रतियोगितामा कतिवटा टोली सहभागी हुने भन्ने विषय पनि अन्योलमा छ।

प्रतियोगितामा सहभागी टोलीको संख्या ३२ बाट ४८ पुर्याइएको खण्डमा कतारका लागि अन्य १६ टोलीको बसोबास लगायतका सुविधा उपलब्ध गराउन कठिन हुने अनुमान गरिएको छ।

कतारले मध्यपूर्व एसियामा हुन लागेको विश्वकप आफूहरूका लागि मात्र नभई समग्र क्षेत्रका लागि नै फाइदाजनक दाबी गरिरहँदा त्यहाँको राजनीतिक गतिरोधले भने यो दाबीलाई छायामा पारेको छ। आतंकबादलाई प्रोत्साहन गरेको र इरानसँग सम्बन्ध बढाएको भन्दै २०१७ जुन महिनादेखि छिमेकी राष्ट्र साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स (युएई)सहितका राष्ट्रले कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका थिए। कतारले भने आफूमाथि लागेको आरोप खण्डन गर्दै आएको छ।

कतारले जुनमा युएईविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेसँगै विगत १३ महिनादेखि जारी समस्या समाधानको बाटोमा भन्दा थप गतिरोधको बाटोमा अघि बढेको थियो। कतार र छिमेकी राष्ट्रबीचको चिसोपना चुलिएसँगै २०२२ मा आयोजना हुने प्रतियोगिताबारे थप अन्योल बढेको छ।

साउदी अरेबिया र युएईले कतारलाई आधिकारिक रूपमा विश्वकप आयोजनाको अधिकार खोस्न माग गरेका थिए। साउदी अरेबिया र युएईको सरकारले आफ्ना नागारिकलाई कतार भ्रमणका लागि समेत रोक लगाएका छन्। कतारले प्रतियोगितामा १५ लाख दर्शक अपेक्षा गरिरहेको छ। तीमध्ये अधिकांश साउदी नागरिक हुने कतारको अपेक्षा छ। फिफा लामो समयदेखि कतार र छिमेकी राष्ट्रबीच जारी विवाद समाधानका लागि अग्रसर छ, तर पनि समस्या समाधान भने हुन सकेको छैन।

अल थावाडीले कतार विश्वकपको समयमा छिमेकी राष्ट्रले आफ्ना नागरिकलाई खेल हेर्नका लागि प्रतिबन्ध हटाउने विश्वास व्यक्त गरे। २०२२ को विश्वकपमा सहभागी टोलीको संख्या ४८  पुग्छ भन्ने प्रश्नमा अल थवाडीले आफूहरूले हालका लागि ३२ वटा टोली नेै सहभागी हुने अपेक्षा गरेको बताए।

‘हामीले अहिले ३२ टोलीकै लागि तयारी गरिरहेका छाैं र अहिलेकै संरचनामा प्रतियोगिता सञ्चालन हुनेछ,’ उनले भने, ‘साथसाथै प्रतियोगितामा सहभागी टोलीको संख्या बढाउनेबारे पनि अध्ययन  भइरहेका छन्। त्यसैले फिफा र आयोजक राष्ट्र भएकाले निर्णयको अधिकार दुवै पक्षसँगै छ।’

प्रतियोगितामा सहभागी टोलीको संख्या ३२ बाट ४८ पुर्याइएको खण्डमा कतारका लागि अन्य १६ टोलीको बसोबास लगायतका सुविधा उपलब्ध गराउन कठिन हुने अनुमान गरिएको छ। कतारले २०१० मा विश्वकपको आयोजना अधिकार प्राप्त गरेको थियो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गत साता कतार विश्वकपमा सहभागी टोलीको संख्पा ४८  पुर्याउने सम्भावना रहे पनि त्यो ‘कठिन चेतावनी’ भएको बताएका थिए। फिफाले २०२६ को विश्वकपमा भने ४८ टोली सहभागी गराउने निर्णय गरिसकेको छ।

प्रकाशित: १८ मंसिर २०७५ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App