२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

अस्ट्रेलियाली फुटबलमा नयाँ नेतृत्व

सिड्नी – लामो समयको संघर्षपछि अस्ट्रेलिया फुटबल संघको अध्यक्षमा क्रिस निकोउ सोमबार निर्वाचित भएका छन् । विवादमा रहेको फुटबल संघलाई विश्व फुटबल महासंघले प्रजातान्त्रिक प्रणालीबाट नयाँ नेतृत्व चयन गर्न दबाब दिइरहेको थियो । सोही अनुरूपमा बोर्डका बहुमत सदस्यले कानुन व्यवसायीसमेत रहेका क्रिसलाई अध्यक्षमा चयन गरेका छन्।

संघले नयाँ नेतृत्व पाएसँगै अस्ट्रेलियन फुटबलमा स्टेभेन लोयको नेतृत्वको दशकभन्दा बढीको शासन अन्त्य भएको छ । फिफाले नै हस्तक्षेप गर्ने चेतावनी दिएपछि लोयले उम्मेद्वारी दिएका थिएनन्।

विवादको अन्त्यसँगै अस्ट्रेलिया फुटबल संघ (एफएफए) ले अक्टोबरमा ‘ए’ डिभिजन क्लब, फुटबलर संघ र महिला काउन्सिल सम्मिलित निर्वाचन गर्ने भएको छ । यता, यो निर्णयले फुटबल संघलाई ठूलो क्षति पुग्न सक्ने एफएफएका पूर्वअध्यक्ष फ्रान्क लोयले दाबी गरेका छन् । १२ वर्षसम्म एफएफएको अध्यक्ष रहेका फ्रान्कको कार्यकाल सन् २०१५ मा सकिएको थियो।

क्लबका मालिक विदेशी नागरिक रहेको अवस्थामा निर्वाचनमा उनीहरूलाई सहभागी गराउनु नै गलत निर्णय भएको फ्रान्कले दाबी गरेका छन् । नवनिर्वाचित अध्यक्ष निकोउ भिक्टोरिया फुटबल संघका पूर्वअध्यक्षसमेत हुन्।

उनको टिममा महिला फुटबलका पायोनियर हिथर रिड उपाध्यक्षमा निर्वाचित भएकी छन् । अस्ट्रेलिया फुटबलमा दशकभन्दा बढी समयपछि पहिलो पटक ठूलो घरानाको सहयोगबिना नै नेतृत्व चयन भएको छ।

 

प्रकाशित: ४ मंसिर २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App