५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई शृंखला

केन्डी – इङ्ल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा आइतबार ५७ रनको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।

पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पाँचौँ दिनको खेलमार्पmत घरेलु टोलीलाई स्तब्ध बनाउँदै इङ्ल्यान्डले १७ वर्षपछि उसैको मैदानमा जित निकाल्यो । यसअघि गाल्लेमा भएको पहिलो टेस्टमा पनि इङ्ल्यान्डले २ सय ११ रनको जित निकालेको थियो।

आइतबारको अन्तिम दिन इङ्ल्यान्डले जित निकाल्न ३२ मिनेट मात्र लगाएको थियो । अन्तिम दिन जितका लागि श्रीलंकालाई ७५ रन आवश्यक हुँदा ३ विकेट मात्र हातमा थियो । चौथो दिनको खेल सकिँदा ३ सय १ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २ सय २६ रन बनाएको थियो।

तर, अन्तिम दिन पनि इङ्ल्यान्डका स्पिनर हाबी भएपछि श्रीलंकाले थप १७ रन मात्र जोड्न सफल भयो । अन्तिम दिन मोइन अलीले थप दुई विकेट र ज्याक लिचले एक विकेट लिए । दोस्रो इनिङमा मोइनले ४ विकेट र ज्याकले ५ विकेट लिएपछि इङ्ल्यान्डको सहज जित सम्भव बनेको थियो।

आइतबारको अन्तिम दिन इङ्ल्यान्डले जित निकाल्न ३२ मिनेट मात्र लगाएको थियो।  

निरोसन डिकवेलाले व्यक्तिगत २७ रनबाट आइतबारको खेल सुरु गरेका थिए । थप  आठ रन जोडेपछि उनी आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका सुरङ्गा लकमल शून्यमै र मालिन्दा पुष्पकुमारा १ रनमा आउट हुँदा श्रीलंका अलआउट भयो । अकिला धनन्जय भने ८ रनमा नटआउट रहे।

श्रीलंकाको आशाका रूपमा रहेका निरोसनलाई ३६ रनमा इङ्ल्यान्डका बलर अलीले बेन स्टोक्सद्वारा क्याच गराएका थिए । दुई बलपछि नै कप्तान सुरङ्गालाई पनि अलीले नै बोल्ड गरे । दशौँ विकेटका रूपमा ज्याकले पुष्पकुमारालाई आउट गरेपछि श्रीलंकाले सन् २००१ पछि पहिलो पटक घरेलु मैदानमा इङ्ल्यान्डसँगको शृंखलामा गुमाएको हो।

इङ्ल्यान्डका कप्तान जोए रुट म्यान अफ दी म्याच घोषित भए । उनकै १ सय २४ रनको शतकीय इनिङको मद्दतबाट इङ्ल्यान्डले दोस्रो इनिङमा ३ सय ४६ रन बनाएको थियो । रुटको शतककै मद्दतबाट इङ्ल्यान्डले पहिलो इनिङको समाप्तिमा ४६ रनले पछाडि परेको अवस्थालाई पूर्ति गरेको थियो।

‘समग्र खेलको प्रदर्शन हेर्दा हामीले निकै राम्रो खेल्यौँ,’ कप्तान रुटले भने,‘सबैले दबाब मुक्त भएर खेले । श्रीलंकाले पनि राम्रो खेलेको थियो । तर, हाम्रो धैर्यताले सहज जित निकाल्न सक्यौँ ।’ यो जितले इङ्ल्यान्डलाई आइसिसी टेस्ट वरीयतामा दोस्रो स्थानमा पुग्न मद्दत पुर्याउनेछ । ‘आगामी खेलमा हामी थप सुधार गर्नेछौँ । वरीयतामा सुधारका लागि मिहिनेत गर्नेछौँ,’ कप्तान रुटले भने । इङ्ल्यान्डले श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट आगामी शुक्रबार कोलम्बोमा खेल्नेछ।

प्रकाशित: २ मंसिर २०७५ २३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App