५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकाको सामान्य अग्रता

क्यान्डी – रोशेन सिल्भाको अर्धशतक मद्दतमा श्रीलंकाले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ४६ रनको झीनो अग्रता लिएको छ।

दोस्रो दिनको खेलको अन्तिम ओभरमा आफ्नो दोस्रो इनिङ सुरु गरे पनि इङ्ल्यान्डले रन खाता खोल्न सकेन । दिलरुवान परेराको अन्तिम ओभरको सबै बल खेले पनि ज्याक लिचले कुनै रन जोड्न सकेनन्।

यसअघि श्रीलंका पहिलो इनिङमा ३ सय ३६ रनमा सीमित भएको थियो । यसअघि इङ्ल्यान्डले पहिलो इनिङमा २ सय ९० रन जोडेको थियो।

२६–१ बाट दोस्रो दिनको खेल सुरु गरेको श्रीलंकाले थप ५ रन जोड्दा मालिन्दा पुष्पकुमारालाई गुमाएको थियो । तेस्रो विकेटका लागि दिमुथ करुणारत्नेले  धनञ्जय डी सिल्भासँग ९६ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकास्ने प्रयास गरेका थिए । १ सय २५ बल खेलेका करुणारत्नेले ४ चौकाको मद्दतमा ६३ रनको योगदान गर्दा ९८ बलको सामना गरेका डी सिल्भाले ६ चौकाको मद्दतमा ५९ रनको योगदान गरे । तर करुणारत्ने र डी सिल्भालाई २० रनको अन्तरमा गुमाएपछि श्रीलंकाको इनिङ धरमराएको थियो।

रोशेनले ८५ रन जोड्दै श्रीलंकाको इनिङ अघि बढाएका थिए । रोशेनले आठांै विकेटका लागि अकिला धनञ्जयसँगै ५६ रनको साझेदारी गरेका थिए । १ सय ७४ बलको सामना गरेका रोशेनले ४ चौका र १ छक्का प्रहार गर्दा ३९ बलको सामना गरेका धनञ्जयले ३ चौकाको मद्दतमा ३१ रनको योगदान गरे । त्यस्तै विकेटकिपर निरोसान डिकवेलाले २६ रनको योगदान गरे।

इङ्ल्यान्डका लिच र एडिल रासिदले समान ३ तथा मोहम्मद अलीले २ विकेट लिए । तीन टेस्टको शृंखलामा इङ्ल्यान्ड १–० ले अघि छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App