२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एन्फाले अपमान गरेको आरोप

काठमाडाैं – पूर्व फिफा सहायक रेफ्री किरण गिरीले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वाग्रही हुँदा आफू थाइल्यान्डबाट अपमानजन ढंगले नेपाल फर्कनुपरेको आरोप लगाएका छन्।

‘फिफाको आयोजनामा थाइल्यान्डमा अक्टोबर ९ देखि १४ सम्म कोर्स फर रेफ्री इन्स्ट्रक्टर सञ्चालन भइरहेको छ। नेपालबाट उक्त कोर्समा मसहित सुरेन्द्र सिख्राकार र कल्पना शर्माको  मनोनयन गरिएको थियो,’ राजधानीमा अयोजित पत्रकार सम्मेलनमा गिरीले भने, ‘तर मैले थाइल्यान्ड पुगेपछि मात्र एन्फाले नेपालका तर्फबाट अन्य ३ जनाको नाम सिफारिस गरेको जानकारी पाएँ। त्योभन्दा ठूलो अपमान के हुन सक्छ?’

‘मैले एन्फा प्रवक्ता किरण राईलाई सम्पर्क गर्दा उहाँले एक घण्टाभित्र पत्र पठाउने बताए पनि पछि पत्र पठाउन सकिँदैन भन्नुभयो ।’

कोर्षमा सिख्राकार सहभागी भएनन् भने कल्पनालाई नेपालकै विमानस्थलबाट फर्काइएको थियो।

‘फिफाले मलाई कोेर्समा सहभागी हुँदा बुझाउनुपर्ने निवेदनको मिति सकिसक्दा पनि एन्फाले पत्राचार नगरेको भन्दै पत्र पठाएपछि  मैले यस विषयमा एन्फा प्रवक्ता किरण राईसँग कुराकानी गरेको थिएँ,’ गिरीले भने, ‘उहाँहरूले यो व्यक्तिगत रूपमा सहभागी हुन सक्ने कोर्स भएकाले सहभागी हुँदा कुनै आपत्ति नहुने बताएका थिए।’

‘मैले यो कोर्समा सहभागिता जनाएको ६ वर्ष भइसक्यो,’ गिरीले थपे, ‘म यसअघिबाटै यस कोर्समा व्यक्तिगत रूपमा सहभागी हुँदै आएको थिएँ । त्यसैले यसमा सम्बन्धित फुटबल संघको स्वीकृति चाहिन्छ जस्तो मलाई लागेन।’

गिरीले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई विमानस्थलमा रहँदा फोन गरेर सुखद यात्राको कामना गर्दै नेपाल फर्किएपछि रेफ्री कमिटीको अध्यक्ष वा लिग रेफ्री कमिटीको अध्यक्ष बन्ने विषयमा छलफल गर्न आग्रह गरेको बताए।

‘मैले पछि मात्र  लव खत्री र शैलेश जोशी पनि कोर्समा सहभागी हुन जान लागेको थाहा पाएँ,’ गिरीले भने, ‘थाइल्यान्डको विमानस्थलमा उत्रिएपछि हाम्रो टोलीलाई विमानस्थलबाट होटलसम्म लैजाने पदाधिकारीले मलाई एक पत्र देखाए। त्यसमा मेरो नाम काटिएको पाएँ। जबकि फिफाले पठाएको पत्रमा मेरो नाम २५ औं नम्बरमा छ।’

गिरीले विमानस्थलबाटै फिफा रेफ्री इन्स्ट्रक्टर मोहम्मद रोडजालीलाई सम्पर्क गरेको र उनीबाट एन्फाका इन्टरनेसनल रिलेसन हेर्ने नवीन पाण्डेले आफूहरूलाई पत्र लेख्नुका साथै फोन गर्दै गिरीको नाम काट्न आग्रह गरेको बताएका थिए।

‘मैले विमानस्थलबाट एन्फा अध्यक्ष शेर्पालाई सम्पर्क गरें। पहिलो पटक कुराकानीमा उहाँले आफू अहिले बाहिर भएको बताउनुभयो भने दोस्रो पटक मेरो फोन नै रिसिभ गर्नुभएन। तेस्रो पटक उहाँले पछि कुरा गरौंला भन्नुभयो। उहाँले आजसम्म मलाई सम्पर्क गर्नुभएको छैन,’ गिरीले थपे, ‘मैले एन्फा प्रवक्ता राईलाई सम्पर्क गर्दा उहाँले एक घण्टाभित्र पत्र पठाउने बताए पनि पछि पत्र पठाउन सकिँदैन भन्नुभयो।’

गिरीले यस्तो घटनाले नेपाली फुटबललाई फाइदा नपुग्ने भन्दै आउने दिनमा एन्फा नेतृत्वले कुनेै पनि खेलाडी, रेफ्री, प्रशिक्षक वा अन्य पदाधिकारीलाई आग्रहका आधारमा नभई क्षमताका आधारमा व्यवहार गर्न आवश्यक रहेको बताए।

प्रकाशित: २८ आश्विन २०७५ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App