चितवन – प्रथम राप्ती गोल्ड कप २०७५ असोज तेस्रो साता आयोजना हुने भएको छ । हर्दी युवा समाजले भण्डारामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा एक विभागीय टोलीसहित देशभरका १४ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक विकास मोक्तानले जानकारी दिए।
‘ए’ डिभिजन लिग खेलिसकेका एपिएफ, रूपन्देही ११ सँगै कास्की ११, लालबन्दी ११, निजगढ ११, चौधरी ११ बारा, युथ युवा स्पोर्ट्स वीरगन्ज, विजय युथ मकवानपुर, अभिषेक चर्च, वीरगन्ज युथ एकेडेमी, एभरेस्ट फुटबल क्लब, भरतपुर फुटबल क्लब, रामपुर फुटबल क्लब र हर्दी युवा समाजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले सिल्डसहित नगद २ लाख २ हजार २२२ रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले ट्रफीसहित नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षापंक्ति, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मध्यपंक्ति र उत्कृष्ट टिम कोचलाई पाँच हजार रुपैयाँले पुरस्कृत गरिने हर्दी युवा समाजका अध्यक्ष शम्भु विकले जानकारी दिए । प्रतियोगिता हेर्न आउने दर्शकका लागि ५० रुपैयाँ प्रवेश शुल्क लिइने उनले बताए । प्रतियोगिताका असोज १७ बाट ३० गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: ९ आश्विन २०७५ ०४:०३ मंगलबार