२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हामेसद्वारा आफ्नो महत्व प्रमाणित

बर्लिन (एएफपी) – कोलम्बियाली स्ट्राइकर हामेस रोड्रिग्वेजले आफ्नो महत्व प्रमाणित गर्ने क्रममा शनिबार एक गोल गर्नुका साथै पेनाल्टीको अवसर सिर्जना गरेपछि जर्मन च्याम्पियन बायर्न म्युनिखले शनिबार नयाँ सिजनमा शतप्रतिशत नतिजा यात्रालाई निरन्तरता दिएको छ।

रोड्रिग्वेजप्रेरित बायर्नले शनिबार साल्के ०४ माथि २–० को जित हासिल गरेको थियो । जारी सिजनका चार खेलमा चौथो जित हासिल गरेपछि बायर्न जर्मन बुन्डेसलिगा अंकतालिकाको शीर्ष स्थानमा कायम छ।

गेल्सेन्किर्चेनको भेल्टिन्स एरिनामा खेल सुरु भएको आठ मिनेटमै रोड्रिग्वेजले गोलको खाता खोलेका थिए। जोसुआ किमिचको क्रसमा आफूलाई मार्क गरिरहेका बायर्नकै पूर्व टिम सहयात्री सेवास्टिन रुडीलाई छक्याउँदै हेड गोल गरेर रोड्रिग्वेजले गोलको खाता खोलेका थिए । उनैले ६३औं मिनेटमा बायर्नलाई गोलको अर्को अवसर सिर्जना गरे । खतरनाक पारामा बल अगाडि बढाउने क्रममा रोड्रिग्वेजलाई विपक्षी रक्षक एलेसान्द्रो स्कोइफले लडाएपछि बायर्नले पेनाल्टीको मौका पायो । जसलाई पोल्यान्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले गोलमा परिणत गरे।

बायर्नले लगातार जितको यात्रालाई निरन्तरता दिँदा साल्केका लागि भने शनिबारको दिन थप निराशाजनक रह्यो । साल्केले जारी सिजनको लिगमा भोगेको यो चार खेलमा चौथो हार हो।

‘हामीले उत्कृष्ट पारामा खेलको सुरुआत गरेका थियौं । मिहिनेती प्रदर्शनका कारण अन्त्य सुखद रह्यो,’ हाल बायर्नमा रहेका साल्केका पूर्वमिडफिल्डर लियोन गोरेट्ज्काले भने।

शनिबारै चाँडो गरी सम्पन्न खेलमा दोस्रो स्थानको हार्था बर्लिनले बोरुसिया मोन्चेनग्लाडबाचमाथि ४–२ को जित दर्ता गरायो । शुक्रबार बायर्नलाई निम्त्याउने तयारीमा रहेको हार्थाका लागि कप्तान भेडाड इबिसेभिचले दुई गोल गरेका थिए।

ग्लाडबाचका बेल्जियन मिडफिल्डर थोर्गान हाजार्डले २९औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै भ्रमणकारी टोलीको खाता खोलेका थिए । जुन हार्थाविरुद्ध पछिल्ला १० खेलमा हाजार्डको सातौं गोल थियो । तर बर्लिनको टोलीले दुई मिनेट नबित्दै पुनरागमन जनायो । ३१औं मिनेटमा इबिसेभिचले हार्थाका लागि बराबरी गोल गरे । त्यसको तीन मिनेटपछि भ्यालेन्टिनो लाजारोले गोल गरेपछि हार्था २–१ ले अघि लाग्यो । इबिसेभिचले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै हार्थाको अग्रता थप फराकिलो पारे । जहाँ ६७औं मिनेटमआ एलासाने प्लियाले ग्लाडबाचका लागि अर्को गोल फर्काएर पुनरागमनको प्रयास जारी राखेका थिए । तर समय सकिन १७ मिनेट बाँकी रहँदा ओन्द्रेज डुडाले गोल गर्दै हार्थाको जित पक्का गरे।

अमेरिकी अन्तर्राष्ट्रिय खेलाडी क्रिस्टियन प्युलिसिकले फेरि एक पटक बोरुसिया डर्टमन्डको उद्धार गर्ने क्रममा १० जनामा  सीमित भएर खेलको अन्त्य गरेको टोलीका लागि एक अंक जोडे । होफेनहेइमको भ्रमणमा निस्केको बोरुसियाका लागि प्युलिसिकले समय सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेपछि टोली १–१ को बराबरी नतिजा निकाल्न सफल भएको थियो । जोइलिन्टनको गोलमा मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा होफेनहेइमले अग्रता लिएको थियो । फ्रान्सेली रक्षक एब्डोउ डियालोले समय सकिन १५ मिनेट बाँकी रहँदा रातो कार्ड सामना गरेपछि डर्टमन्ड १० खेलाडीमा सीमित भयो । तर त्यसपछि ८४औं मिनेटमा प्युलिसिकले बराबरी गोल गर्दै अंक बाँडेका थिए । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार क्लब ब्रुगेविरुद्धको खेलमा पनि प्युलिसिकले डर्टमन्डका लागि विजयी गोल गरेका थिए।

‘एक गोलले पछि परिसकेको अवस्थामा रातो कार्ड पनि सामना गरेपछि धेरैले खेल सकिएको ठानेका थिए । तर हामीले पुनरागमन जनायौं । पक्कै पनि यति कठिन परिस्थितिमा बराबरीको नतिजाबाट पनि हामी खुसी हुनुपर्छ,’ डर्टमन्डका प्रशिक्षक लुसियन फाभ्रेले भने।

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारै वाल्डेमार एन्टोनको आत्मघाती गोल तथा टर्लस केनोलको गोलमा नुरेमबर्गले १० जनामा सीमित भएर खेलको अन्त्य गरेको ह्यानोभर ९६ माथि २–० को विजयी नतिजा निकाल्यो।

फ्रेइबर्गले रोलान्ड सालाइ, निल्स पिटरसन र माइक फ्रान्जको गोलमा उल्फसबर्गलाई ३–१ को नतिजामा हरायो भने वेर्डेर ब्रेम्यानले औसबर्गमाथि ३–२ को जित हासिल ग-यो । यसै गरी भिएफबी स्टुटगार्ट र फोर्चुना डुसेलडर्फबीचको खेल गोलरहित बराबरीमा सकियो।

जारी सिजनका चार खेलमा चौथो जित हासिल गरेपछि बायर्न जर्मन बुन्डेसलिगा अंकतालिकाको शीर्ष स्थानमा कायम छ।

प्रकाशित: ८ आश्विन २०७५ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App