coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पूर्वलाहुरेको फुटबल समर्पण

जलकुमार गुरूङ । तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं – आजको मितिमा कुनै एउटा संगठित सामुदायिक क्लब छ भने त्यो झापा ११ हो। 
– आजको मितिमा कुनै क्लबको नियमित प्रशिक्षण हुन्छ भने त्यो झापा ११ हो। 
– आजको मितिमा कुनै टिमका खेलाडीले आवश्यक खुराक खाएर आफ्नै मैदानमा निरन्तर अभ्यास गर्न पाउँछन् भने त्यो झापा ११ हो। 
– आजको मितिमा मोफसलमा रहेर पनि कुनै क्लबका खेलाडी नियमित पारिश्रमिक पाउँछन् भने त्यो झापा ११ हो। 
– आजको मितिमा आसन्न सहिद स्मारक ‘ए’ डिभिजनमा भित्रैबाट खेल्न चाहने र उपाधि दाबेदार मान्न सकिने एक टिम झापा ११ हो। 
– समग्रमा आजको मितिमा अभिभावकत्वको कमी नभएको सुदृढ नेतृत्व कुनै क्लबसँग छ भने त्यो झापा ११ हो।

झापा ११ लाई कुनै रहस्य मान्ने हो भने त्यो हो, पूर्वलाहुरे जेके अर्थात् जलकुमार गुरुङ । बेलायती सेनाका पूर्वलाहुरे जेके ब्रिटिस गोर्खाको हकप्राप्तिको आन्दोलन हुँदै झापामा विभिन्न सामाजिक तथा राजनीतिक अभियन्ताको भूमिकामा व्यस्त छन् । तर त्यतिमै उनको व्यस्तता सीमित छैन। 

बेलायती सेनामा रहँदा बटालियनबाट खेलेको प्यारो खेल फुटबलको सेवा उनको अर्को लगाबको विषय हो । जुन लगाबले उनलाई समग्र पूर्वी नेपालको फुटबलका अग्रणी अभियन्ताका रूपमा स्थापित गरेको छ । कर्मथलो झापामा क्लब स्थापनासँगै झापा गोल्ड कप आयोजना गर्ने जिम्मेवारीमा नेतृत्व प्रदान गरिरहेका जेकेले जन्मथलो पाँचथरसम्म पनि फुटबलको बास्ना फैलाएका छन् । जहाँ उनले रानीटारको पुख्र्याैली थलोमा फुटबल रंगशाला बनाउनका लागि २५ रोपनी जग्गा दान गरेका छन्। 

इमानदारीपूर्वक प्रतिबद्ध भएर कुनै कामको थालनी गर्ने हो भने एउटै व्यक्तिको प्रयास पनि पर्याप्त हुन्छ भन्ने कुराको एउटा बलियो उदाहरण हुन् ५७ वर्षे जेके गुरुङ । २०७१ सालमा एन्फा कप जित्दा एसेम्बल्ड टिमले ‘ए’ डिभिजन लिगमा लामो इतिहास बोकेकालाई हराएको भन्दै प्रतियोगिता आयोजना गर्ने र झापाजस्ता नयाँ टिमलाई सोझै ठूला प्रतियोगिता खेल्न दिने एन्फाको नीति त्यो बेला आलोचित बनेको थियो । कारण थियो, ‘ए’ डिभिजनका क्लबहरूले वर्षैभरि पारिश्रमिक दिएर राखेका खेलाडी बटुलेर कुनै प्रतियोगिता विशेषमा सहभागिता जनाउने र त्यसपछि टिमको अस्तित्व नरहने परिपाटीका कारण त्यो बेला झापा ११ पनि आलोचनाको घेरामा परेको थियो । तर जेकेको अभियान एउटा प्रतियोगिता खेल्नुमा सीमित थिएन । उनी त कर्मथलो झापाको नाम फुटबलमा अझ उँचो बनाउन चाहन्थे । पाँच वर्षको अवधिमा झापा ११ को प्रगति र निरन्तरताले त्यही प्रमाणित गरेको छ। 

उनकै नेतृत्वमा क्लबले नियमित पारिश्रमिकको व्यवस्था गरेर १७ खेलाडी अनुबन्धित गरेको छ । यसबीचमा एन्फाको आयोजनामा २०७२ मा सम्पन्न राष्ट्रिय लिगमा चौथो स्थान हासिल गर्नुका साथै मोफसलका १२ प्रतियोगितामा उपाधि जित्यो । टोली ०७२ सालको विनाशकारी भूकम्प जानुअघिसम्म मनाङ मस्र्याङ्दी र थ्री स्टारजस्ता टिमलाई ९ अंकले पछि पार्दै शीर्ष स्थानमा रहेको थियो । तर भुइँचालोले प्रतियोगिता केही महिनाका लागि रोकिएपछि लय गुमाउँदा झापा राष्ट्रिय लिगमा ऐतिहासिक रूपमा उपाधि जित्ने अवसरबाट वञ्चित भयो । भारतको सिक्किममा हुने गभर्नर्स गोल्डकपमा क्लबले फाइनलसम्मको यात्रा तय गर्याे । फुटबल राजनीतिको सिकार हुनाका बावजुद झापा गोल्डकपजस्तो प्रतियोगिता सफलतापूर्वक तीन संस्करण नियमित आयोजना गरिसक्यो। 

२०७१ सालमा झापाले एन्फा कप जित्दा धेरै आलोचना भएको थियो । झापाले अरूका खेलाडी लिएर जित्यो भनेर आलोचना भएको थियो । अब झापालाई त्यही समस्या आएको छ । झापाका खेलाडी लिएर अरू क्लबले जितिरहेका छन् । तर एन्फाको फुटबल पिरामिडमा झापाका लागि ठाउँ छैन । लामो समयसम्म बडो दुःखका साथ जोगाएको क्लबले अहिले आएर खेल्न नपाउने भयो। 

‘झापामा फुटबलको माहोल निक्कै राम्रो थियो । फुटबलचाहिँ काठमाडौँमा मात्र सीमित थियो । त्यसैले हामीले नेपाली फुटबलमा झापाको सम्भावनालाई मर्न दिनुहुन्न भनेर क्लब स्थापना गरेका हौं,’ गुरुङले सम्झिए, ‘खासमा त्यो बेला एन्फाले राष्ट्रिय लिग सुरु गर्न लागेको थियो । हामीले पनि काठमाडौंको दबदबा रहेको फुटबलमा पूरा देशको स्वामित्व हुनुपर्छ भनेर प्रयास थालेका थियौं । वास्तवमा हामीले राष्ट्रिय लिग जित्ने लक्ष्यका साथ झापा ११ मार्फत अभियान सुरु गरेका थियौं । तर हामी र मोरङबीच खेल भइरहँदा भुइँचालो गयो । त्यो बेलासम्म हामी ९ अंकको अग्रताका साथ पहिलो स्थानमा थियौं । तर त्यसपछि पाँच महिना लिग रोकियो । जसले गर्दा लय बिग्रियो । नत्र पहिलो पटक नै थ्री स्टार र मनाङजस्ता टिमलाई पछि पारेर हामी च्याम्पियन बन्न सक्थ्यौं।’

राष्ट्रिय लिग नजिते पनि त्यसयता टिम निरन्तर छ । त्यसयता नेपालमा हुने जति सबै नकआउट प्रतियोगितामा सहभागी भइरहेको छ । यसबीचमा टोलीले १२ वटा उपाधि जित्न भ्याइसक्यो । आठ थप प्रतियोगितामा फाइनल पुगिसक्यो । ‘ए’ डिभिजनका धेरै क्लबले टिम बनाउन सुको खर्च नगर्दा झापाले चाहिँ टिम बनाइरह्यो। 

२०३७ सालमा भर्ती भएर २०५२ सम्म बेलायती सेनामा कार्यरत जेके पेन्सन भएपछि आफ्नै देश जान्छु भनेर फर्के । पाँचथर रानीटार पुख्र्याैली घर भए पनि उनी देश फर्किएपछि २०५२ सालबाट झापामा स्थायी बसोबास गर्न सुरु गरे । पूर्वको फुटबलमय माहोलमा जन्मे हुर्केका जेके १७ वर्षको उमेरमा बेलायती सेनामा भर्ना भएका थिए । बेलायत झन् फुटबल जन्मिएको देश । सेनामा भर्ती भएपछि पनि उनले फुटबल खेल्ने माहोल पाए । ‘ब्रिटिस आर्मीमा नेपाल कप भन्ने अन्तरबटालियन प्रतियोगिता हुन्थ्यो,’ जागिरको सिलसिलामा हडकङ, ब्रुनाई, सिंगापुर, अस्टेलिया, फिजी, साइप्रस, बेलिज र बेलायतलगायतका ठाउँमा खटिएका जेकेले  सम्झिए, ‘ब्रिटिस आर्मीमा जहाँ गए पनि फुटबलको माहोल हुन्थ्यो । फुटबल राम्रो खेल्नेलाई फौजमा पनि राम्रो व्यवहार हुन्थ्यो । त्यहाँबाट फुटबलको मोह झनै बढ्यो।’

सेनाबाट सेवानिवृत्त भएर फर्केलगत्तै झापामा सामाजिक काममा सक्रिय भएका जेके बिर्तामोड सानासहरी खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हुन् । उक्त संस्थामा उनी यसअघि एक कार्यकाल कोषाध्यक्ष तथा दुई कार्यकाल सचिव भएर काम गरेका थिए । मेची टाइम्स दैनिकका प्रकाशक जेके मेची आँखा अस्पतालको उपाध्यक्ष, तथा तमु छाेंजधीको केन्द्रीय सदस्य पनि हुन्।

‘हामीले यो प्रतियोगिताको निरन्तरताका लागि २ सय ५५ जना मेम्बर बनाएका छौं । प्रधानमन्त्री केपी ओलीदेखि कृष्ण सिटौला हुँदै, होम पाण्डेहरूसम्मलाई हामीले सदस्य बनाएका छौं । सदस्यता शुल्क सुरुमा २५ हजार रुपैयाँ राखेका छौं । हरेक वर्ष नवीकरण शुल्क ५ हजार रुपैयाँ पर्छ । यो हामीले जिल्लाका सबै मानिसहरूको अपनत्वका लागि गरेका हौं । सबैले क्लबमाथि स्वामित्व अनुभव गरून् । त्यसो भयो भने गोल्डकप दीर्घजीवी हुन्छ।’

सामाजिक कामको सक्रियताले चाँडै उनलाई राजनीतिमा पनि होम्यो । गत वर्ष सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट बिर्तामोड नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा उनी ८ सय २३ मतले पराजित भए । पछिल्लो समय झापा जिल्ला फुटबल संघको अध्यक्ष पदबाट बिदा लिएर राजनीति र सामाजिक काममा मात्र एकोहोरिने योजना बनाएका थिए । योजनाअनुसार झापा एन्फाको नेतृत्व हस्तान्तरण गरे, तर फुटबल सेवा भने त्याग्न सकेका छैनन् । झापा ११ मार्फत फुटबलको लगाब पूरा गरिरहने क्रममा देशको फुटबल विकासमा नमुना पेस गरिरहेका छन्।

२०७१ सालमा स्थापना भएको झापा ११ का लागि अहिलेसम्म डेढ करोडभन्दा बढी लगानी भइसक्यो । त्यसको ठूलो हिस्सा जेके आफंैले गरेका छन् । तर उनी त्यसको चर्चा चाहँदैनन् । भन्छन्, ‘हामीले प्रायोजक, सहयोगी लगायतबाट सहयोग जुटाएर क्लबलाई टिकाउने काम गरिरहेका छौं । झापालाई देशविदेशमा ब्रान्ड बनाउने काम ग¥यौं । झापा ११ लाई रोक्ने प्रयासमा धेरै अवरोध भयो । एन्फा राजनीतिको पनि क्लब सिकार भयो।’

फुटबलको राष्ट्रिय राजनीतिमा लबी चेतना नराखेकै कारण जेके र उनको अभियान बेलाबखत अप्ठेरोमा परिरहन्छन् । तर पनि जेकेको फुटबल लगाव धरमराएको छैन । हेमन्त थापा मगर, छिरिड गुरुङ, योगेश गुरुङ, कर्ण लिम्बु, पूजन उपरकोटी, विश्वास श्रेष्ठ, किशोर गिरीलगायतका खेलाडी अनुबन्धित गरेका छन् । त्यसैबाट सन्तुष्टि लिन्छन् । फुटबल विकासका लागि नयाँनयाँ योजनाहरू बनाइरहन्छन्। 

जेके बेलायती सेनाबाट सेवा निवृत्त हुनेवित्तिकै झापा आएर बिर्तामोड युनाइटेड क्लब गठन गरे । २०५२ मा स्थापनाको पहिलो वर्ष नै टोलीलाई जिल्ला च्याम्पियन बनाएर खुकुरी कप खेल्न काठमाडौं ल्याएका थिए । युगलकिशोर राई, प्रवेश कटुवालहरूजस्ता खेलाडी त्यही क्लबको उत्पादन हुन् भन्नुमै सन्तुष्टि लिन्छन् । 
आफ्नै प्रयासमा उदाहरणीय फुटबल सक्रियताका कारण उनी २०६० सालमा सर्वसम्मत रूपमा एन्फामा झापाको उपाध्यक्ष भए । त्यसपछि दुई कार्यकाल अध्यक्ष भएर झापाको फुटबललाई नेतृत्व प्रदान गरे। 

फुटबल राजनीतिको पोखरी फोहोर बन्दै गएपछि त्यसमा डुबुल्की मार्नु जेकेलाई स्वीकार्य भएन । त्यसैले गत वर्ष साधारणसभाबाट उनले अध्यक्षबाट बिदा लिए, आफ्नै नेतृत्वमा स्थापित झापा ११ र झापा गोल्डकपको सफल निरन्तरताको अठोटसहित । झापा गोल्डकपको तीन संस्करण सफल रूपमा आयोजना भइसकेका छन् । 
‘प्रतियोगिता अहिले नाफामा छ । नाफाको पैसा फिक्स डिपोजिटमा राखेका छौं । ब्याजको पैसाले झापा ११ को स्तरोन्नति गर्ने भनेको छ,’ जेकेले सुनाए, ‘हामीले यो प्रतियोगिताको निरन्तरताका लागि २ सय ५५ जना मेम्बर बनाएका छौं । प्रधानमन्त्री केपी ओलीदेखि कृष्ण सिटौला हुँदै, होम पाण्डेहरूसम्मलाई हामीले सदस्य बनाएका छौं । सदस्यता शुल्क सुरुमा २५ हजार रुपैयाँ राखेका छौं । हरेक वर्ष नवीकरण शुल्क ५ हजार रुपैयाँ पर्छ । यो हामीले जिल्लाका सबै मानिसहरूको अपनत्वका लागि गरेका हौं । सबैले क्लबमाथि स्वामित्व अनुभव गरून् । त्यसो भयो भने गोल्डकप दीर्घजीवी हुन्छ।’

वर्तमानमा झापा ११ का लागि आठ जना उद्योगी व्यापारीले एक–एक जना खेलाडी अनुबन्धन गरेका छन् । सहारा नेपालदेखि निगाले सिमेन्टसम्मका कम्पनीहरूलाई जेकेले खेलाडी अनुबन्धनमा जोडेका छन् । विभिन्न व्यावसायिक प्रतिष्ठानका साथै अन्य संघसंस्थाको सहयोगमा टिम बलियो बनाउने अभियानमा थप केही खेलाडी अनुबन्धन गरेपछि जेकेसँग खेलाडी उत्पादनको अर्को प्रभावकारी योजना छ।

‘झापा जिल्लाभित्र सबै १५ स्थानीय निकायको सहभागिता रहने गरी बृहत् प्रतियोगिता गर्ने । झापा ११ का खेलाडीलाई प्रत्येक स्थानीय निकायलाई दिने र उनीहरूको नेतृत्वमा स्थानीय टिमको सहभागिता हुने । त्यस्तो बृहत् प्रतियोगिताबाट प्रतिभा पहिचान गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाउने,’ जेकेले योजना सुनाए, ‘यो अहिले योजनाकै तहमा छ । त्यस्तो हुन सक्यो भने झापाले थप खेलाडी देशलाई दिन सक्छ।’

२०७१ सालमा झापाले एन्फा कप जित्दा धेरै आलोचना भएको थियो । झापाले अरूको खेलाडी लिएर जित्यो भनेर आलोचना भएको थियो । अब झापालाई त्यही समस्या आएको छ । झापाका खेलाडी लिएर अरू क्लबले जितिरहेका छन् । तर एन्फाको फुटबल पिरामिडमा झापाका लागि ठाउँ छैन । लामो समयसम्म बडो दुःखका साथ जोगाएको क्लबले अहिले आएर खेल्न नपाउने भयो। 

‘बल्ल तल्ल हुर्काएको विरुवाको मुन्टा निमोठ्ने काम भइरहेको छ,’ जेके गुनासो गर्छन, ‘तर पनि हामीले हार खाएका छैनौं । पदको राजनीतिमा लिप्त हुनेहरूको घैंटोमा घाम लागेको दिन हामीलाई काम गर्ने वातावरण सहज हुने आशा त्यागेका छैनौं । एन्फा नेतृत्वसँग गुहार मागिरहेकै छौं।’

प्रकाशित: ५ आश्विन २०७५ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App