२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

‘सिटीमा खेल्ने निर्णय सही’

लन्डन – स्पेनका मिडफिल्डर डेविड सिल्भाले  इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीमा जाने निर्णय जीवनकै सबैभन्दा सही कदम भएको बताएका छन्।

सिल्भा ८ वर्षअघि भ्यालेन्सियाबाट सिटीमा अनुबन्धित भएका थिए । स्पेनिस क्लब बार्सिलोना र रियाल मड्रिडले अनुबन्धनका लागि चासो देखाए पनि उनले इङ्लिस क्लब सिटीमा जाने निर्णय गरेका थिए। 

स्पेनका अधिकांश खेलाडीहरूले बार्सिलोना र रियाल मड्रिडमा खेल्ने अभिलासा राख्ने गरे पनि आफ्नो मन इङ्लिस क्लबमा केन्द्रित भएकाले सिटी जाने निर्णय गरेको सिल्भाले बताए।

‘सिटीले मलाई चाहन्थ्यो,’ प्रिमियर लिग शोमा दिएको अन्तर्वार्तामा सिल्भाले भने, ‘उनीहरूले मलाई क्लबमा अनुबन्धित हुँदै खेल्न डिसेम्बरदेखि चाहेका थिए । सिटीले मलाई चाहेको थियो र सोहीअनुसार निर्णय लिएको थिएँ।’

सिल्भाको सिटी अनुबन्धनपछि सिटीले तीन पटक प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ भने २०११ मा एफए कपको उपाधि  भित्र्याउन सफल भएको थियो । फाइनलमा स्टोक सिटीलाई १–० ले पराजित गर्दैै उपाधि चुम्दा सिल्भाको पासमा याया टोरीले सिटीका लागि निर्णायक गोल गरेका थिए। 

‘उक्त खेल सफलताका लागि कोसेढुङ्गा साबित भएको थियो,’ सिल्भाले भने, ‘एक पटक जितेपछि जितको लहर नै आउँदो रहेछ, जुन निकै महत्वपूर्ण पक्ष हो । यस्तै स्पेनको राष्ट्रिय टोलीमा परेको थियो।’ 

‘पहिलो पटक विश्वकपको उपाधि जितेसँगै खेलमा परिवर्तन आएको थियो र केही खेलमा जित पनि हात पार्न सफल भएका थियौं,’ सिल्भाले थपे, ‘त्यसैले मैेले एफए कप जीवनकै सफल खेलको रूपमा व्याख्या गर्दै आएको छु।’

 

प्रकाशित: २९ भाद्र २०७५ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App