१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

डेमार्कको कामचलाउ टोली पराजित


तारनाभा (एपी) – डेनमार्कले बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्लोभाकियालाई ३–० को नतिजा सुम्पिएको छ।

डेनिस फुटबल संघ (डिबियु) ले राष्ट्रिय खेलाडीहरूसँगको सम्झौता नवीकरणका  लागि जारी वार्ता भंग भएपछि अधिकांश तेस्रो श्रेणीको क्लब र फुटसल खेलाडी समावेश गर्दै टोली मैदान उतारेको थियो।

युइएफएले यी दुई टोलीविरुद्धको खेलका लागि डेनमार्कले राष्ट्रिय टोली तयार पार्न नसकेमा २०२० को युरोपियन च्याम्पियनसिपको छनोटमा समेत सहभागी हुन नपाउने चेतावनी दिएको थियो । फिफा वरीयताको नवांै स्थानमा रहेको डेनमार्कले जुलाईमा रूसमा सम्पन्न विश्वकपमा अन्तिम १६ सम्मको यात्रा पक्का गरेको थियो । डिबियुले राष्ट्रिय टोलीका खेलाडीले आफूखुसी प्रायोजक खोज्न नपाउने र कतै यात्रा गर्दा पनि आफूहरूको अनुमति लिनुपर्ने सर्त राखेपछि वार्ता भाँडिएको थियो।

खेलाडीका प्रतिनिधिले अर्कोे महिना हुने दुई खेलसम्मका लागि खेलाडीको सम्झौता नवीकरण गर्दै तत्कालका लागि वार्ता स्थगन गर्न आग्रह गरे पनि डिबियुले अस्वीकार गरेको थियो।

डिबियुले गत वर्ष खेलाडीहरूको सम्झौता विवादका कारण महिला विश्वकप छनोटअन्तर्गत स्विडेनविरुद्धको खेल रद्द गरेको  थियो।

डेनमार्कले कमजोर टोली पठाएपछि आयोजकले खेलको टिकट मूल्य १ युरोमा झारेको थियो।

‘औपचारिकतामा सीमित यस्तो अर्थहीन खेलले कुनै मनोबल बढ्दैन,’ स्लोभाकियाका मिडफिल्ड महारेक हामसेकले भने।

११औं मिनेटमा स्ट्राइकर एडम निमेसले गरेको गोलमा स्लोभाकियाले अग्रता लिएको थियो । मध्यान्तर हुन ८ मिनेट बाँकी हुँदा अल्बर्ट रुसानिकले गोल गर्दै स्लोभाकियाको अग्रता २–० मा पु-याएका थिए । खेल सकिन ११ मिनेट बाँकी हुँदा एडम फोग्टले गोल गर्दै स्लोभाकियाको सहज जित पक्का गरेका थिए ।
डेनमार्कले आइतबार नेसन लिगको समूह चरणमा वेल्सको सामना गर्नेछ।

प्रकाशित: २२ भाद्र २०७५ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App