८ वैशाख २०८१ शनिबार
खेल

बुद्ध, एभरेस्ट र रोहित चन्द

जकार्ता – भगवान गौतम बुद्ध र एभरेस्ट (सगरमाथा) इन्डोनेसियामा नेपाल चिनाउने दुई मुख्य सम्पत्ति थिए । नेपाली भनेपछि हरेक इन्डोनेसियाली टुटुफुटेको अंग्रेजीमा ‘बुद्धा’ र ‘एभरेस्ट’ भन्ने गर्थे । पछिल्लो केही वर्षयता यहाँ नेपालको पहिचानमा बुद्ध र सगरमाथासँगै अर्को एउटा नाम थपिएको छ, रोहित चन्द। 

जकार्ताको सडकमा भगवान गौतम बुद्ध र सगरमाथाजस्तै नेपाली राष्ट्रिय टोलीका ‘भर्सटाइल’ मिडफिल्डर÷रक्षक रोहित पनि देश चिनाउने सुपरस्टार नाम बनिसकेका छन्, अन्तर्राष्ट्रिय फुटबलका सुपरस्टारहरूकै नामबाट उनीहरुको देश चिनिएजस्तै। 

इन्डोनेसियन लिग वानको टोली पेरसिजा जकार्ताबाट व्यावसायिक फुटबल खेलिरहेका उनलाई जकार्ताको सडकमा हिँडडुल सहज छैन । जतासुकै समर्थक भेछिन्टन् । फुटबल नै नम्बर वान स्पोर्ट्स रहेको देशमा समर्थकको सेल्फी खिच्ने आग्रह मान्दा पनि जकार्ताको सडकमा उनको व्यक्तिगत जीवन सामाजिक बनिदिन्छ। 

‘यहाँ हाम्रो क्लबका समर्थक धेरै छन् । यहाँको फ्यान कल्चर धेरै संवृद्ध छ । जता गए पनि हाम्रो क्लबका फ्यान भेटिन्छन् । फ्यानलाई रेस्पोन्स गर्नैपर्छ । खेल हुँदा उनीहरूले सधैं हामीलाई साथ दिइरहेका हुन्छन् । फुटबल एकदमै लोकप्रिय भएकाले होला समर्थकले हामीलाई पनि धेरै माया गर्छन,’ फुटबल बाहिरिइसके पनि १८औं एसियाली खेलकुद दौरान नेपालको बास्केटबल हेर्न रंगशाला पुग्दा समर्थकबाट घेरिएको अवस्थामा भेटिएका रोहितले नागरिकसँग भने।

‘धेरै राम्रो खेलाडी । रोहित चन्द नेपाली हो भन्ने हामीलाई थाहा छ । बुद्धा र एभरेस्ट अनि रोहित चन्द।’

रोहित मात्र भन्ने हो भने उनलाई जकार्तामा कसैले चिन्दैन । तर नामको पछाडी चन्द थपेपछि ट्याक्सी चालकदेखि, सुरक्षाकर्मी वा बाटोमा भेटिने जोकोही सर्वसाधारण पनि ‘ओ पेरसिजा’ अर्थात् उनको क्लबको नाम लिन्छन् । अनि भन्छन्, ‘धेरै राम्रो खेलाडी । रोहित चन्द नेपाली हो भन्ने हामीलाई थाहा छ । बुद्धा र एभरेस्ट अनि रोहित चन्द।’

इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपालले फुटबलमा पनि सहभागिता जनाउने खबरले रोहित चन्दलाई सबभन्दा बढी खुसी बनाएको थियो । यहाँको पेरसिजा जकार्ताबाट व्यावसायिक फुटबल खेलिरहेका रोहित आफूले राम्ररी चिनेका मैदानमा देशका लागि खेल्न पाउने अवसरले उनलाई उत्साहित बनाएको थियो । राष्ट्रिय टोलीका सहयात्रीमा बाल्यकालदेखिका साथी पनि थिए । उनीहरूसँग पुनर्मिलन हुने विषयले रोहितलाई ऊर्जा दिएको थियो। ‘इन्डोनेसियामा एसियाली खेलकुद भइरहँदा नेपालबाट ३० वटा खेल आउने, अनि फुटबलचाहिँ नआउने भएको भए पक्कै पनि नरमाइलो हुन्थ्यो होला । हामीले आफ्नो स्तरअनुसार खेल्न सकेनौं । कम्तीमा पाकिस्तानसँगको अन्तिम खेलमा हामीले नतिजा निकाल्न सक्नुपर्ने थियो । पहिलो हाफमा हामीले त्यहीअनुसार खेलेका पनि थियौं । बल पोसेसन ६५ प्रतिशतभन्दा बढि राखेका थियौं । तर दुईवटै दुर्भाग्यजनक गोल खायौं,’ रोहितले एसियाली खेलकुदको फुटबलमा समूहचरणबाटै बाहिरिनुपरेकोमा दुख पोखे। 

समूह चरणका पहिलो दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० को हार भोगिसकेपछि नेपालको यात्रा अगाढि नबढ्ने पक्का भइसकेको थियो । दक्षिण एसियाकै प्रतिद्वन्द्वी पाकिस्तानसँगको समूहचरणको अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ थियो । यस्तो लडाइँ,जसमा सफलता हासिल गर्न सके नेपाली फुटबलले धेरै कोणबाट एसियाली खेलकुदको सहभागितालाई सफल भएको भनेर सन्तुष्टि लिन सक्थ्यो । त्यो खेल जितेको भए एसियाली खेलकुदमा नेपाली फुटबलको पहिलो जित हुने थियो । दक्षिण एसियाकै टोली भएकाले त्यो जित क्षेत्रीय प्रतिद्वन्द्वीमाथि रबाफ राखिरहन पनि महत्वपूर्ण हुन्थ्यो । साथमा सेप्टेम्बर ४ बाट बंगलादेशको ढाकामा हुने दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको एउटै समूहमा परेको पाकिस्तानलाई यहाँ हराउन सकेको भए ढाकामा पनि मनोवैज्ञानिक रूपमा टिमलाई फाइदा पुग्थ्यो। 

पेरसिजाबाट रक्षापंक्ति र मिडफिल्डका विभिन्न पोजिसनमा प्रशिक्षकले आवश्यकताअनुसार प्रयोग गर्ने गरेका रोहितले पाकिस्तानविरुद्धको खेलमा स्ट्राइकर जसरी खेल्नुपरेको थियो । जकार्तामा फुटबल टोलीले भोगेको निराशाको पीडामा साफ च्याम्पियनसिप जितेर ढाकामा मलम लगाउने योजनामा रहेको रोहित बताउँछन् । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीसँगै अभ्यास गर्न उनी शुक्रबार नेपाल जाँदै छन् । नेपाली टोली भने केही दिनअघि नै घर फर्किइसकेको छ । रोहित क्लबबाट क्लियरेन्स लिने काम नसकिएका कारण केही दिन यतै बसेका हुन्। 

‘एसियाली खेलकुदमा हाम्रो नतिजा राम्रो हुन सकेन । तर त्यसले हामीलाई जापान र भियतनामजस्तो टिमसँग खेल्ने अनुभव मिल्यो । त्यसले साफ च्याम्पियनसिपमा फाइदा पुग्नेछ । मलाई त व्यक्तिगत रूपमा एसियाली खेलकुद नेपाली खेलकुद परिवारसँग चिनिनका लागि पनि लाभदायक रह्यो,’ व्यावसायिक करियरको अधिकांश समय विदेशमा बिताएका २६ वर्षे रोहितले भने, ‘मलाई अरू खेलका धेरै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूले चिन्नु हुँदैनथ्यो । तर यहाँ आएपछि धेरैले मलाई इन्डोनेसियाबाट व्यावसायिक फुटबल खेल्ने नेपाली खेलाडी भनेर चिन्नुभयो । मैले पनि धेरैसँग परिचय गर्ने मौका पाएँ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन रोहितले २००९ मा मछिन्द्र क्लबबाट सहिद स्मारक लिग खेल्दै शीर्ष स्तरको फुटबल करियर सुरु गरेका थिए । १९ वर्षको उमेरमा पहिलो सिजनमै सनसनीपूर्ण प्रदर्शनका साथ उत्कृष्ट रक्षकको पुरस्कार पाएका रोहित लगत्तै २०१० मा भारतीय आई लिगको टोली हल एससीमा अनुबन्धित भए । त्यहाँ दुई सिजन बिताएपछि उनको प्रतिभाको चर्चाले दक्षिण एसियाको सिमाना काटिसकेको थियो। 

२०१२ मा इन्डोनेसियाका पिएसपिएस पेकान्बारुमा अनुबन्धित भएर उनले एक सिजन खेले । त्यसपछि लगत्तैको सिजनबाट दुई वर्षका लागि उनी पेरसिजामा अनुबन्धित भए । पेरसिजाबाट त्यति बेला उनले ४६ खेलमा ६ गोल गरे । २०१६ मा मलेसियाको टी टिमबाट एक सिजन खेलेपछि गत वर्ष नेपालको मनाङ मस्र्याङ्दी क्लब पुगेका रोहित  फेरि पेरसिजा फर्केका छन् । पेरसिजासँगको दोस्रो कार्यकालमा ४७ खेल खेल्दै उनले पाँच गोल गरिसकेका छन्। 

नेपालको अन्तर्राष्ट्रिय क्यालेन्डर व्यस्त भइरहँदा अहिले आराममा रहेको लिग वान सेप्टेम्बर ११ बाट फेरि सुरु हुँदै छ । जहाँ उपाधि यात्रामा पुनरागमन जनाउने लक्ष्यमा रहेको टोलीमा रोहितको आवश्यकता अपरिहार्य छ । लिगका २० खेल सकिँदा रोहितको टोली ३० अंकका साथ सातौं स्थानमा छ । शीर्ष स्थानमा रहेको पेरसिबको खातामा ३५ अंक छ । बाँकी रहेका १४ खेलमा पेरसिजाले शीर्ष टोलीसँगको पाँच अंकको अन्तर हटाउनुपर्नेछ । इन्डोनेसियन लिग वानको विजेताले एएफसी च्याम्पियन्स लिगको छनोट वा सोझै एएफसी कपको समूह चरणमा सहभागिता जनाउन पाउँछ । दोस्रो हुने टोलीले एएफसी कपको प्लेअफ खेल्नेछ भने तेस्रो हुनेले पनि एएफसी कपको प्लेअफ खेल्न पाउने सम्भावना रहन्छ। 

‘साफ च्याम्पियनसिपका कारण लिग फेरि सुरु हुँदा मैले लिगको एउटा खेल खेल्न नपाउने पक्का हुन्छ । लिगमा हाम्रा लागि अबका सबै खेल अत्यन्तै महत्वपूर्ण छन् । प्रशिक्षकले मलाई राम्रो विश्वास गरेका छन् । उनी सकेसम्म हरेक खेलमा मेरो उपस्थिति चाहन्छन् । त्यसैले मैले अभ्यास छुटाउनु हुन्न,’ क्लबको अभ्यासमा जान हतारिएका रोहितले जेएससी बास्केट हलबाट बिदा हुने क्रममा हात हल्लाउँदै भने।

प्रकाशित: ८ भाद्र २०७५ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App