१६ चैत्र २०८० शुक्रबार
खेल

ब्याड्मिन्टनमा प्रारम्भिक सफलता

एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्समा प्रतिस्पर्धा गर्दै रत्नजित तामाङ र नङ्सल तामाङ । तस्बिर सौजन्यः राखेप

जकार्ता – ब्याड्मिन्टनमा नेपाली टोलीले सफलताका कथा रच्ने क्रममा एसियाली खेलकुदअन्तर्गत पुरुष युगलमा मंगोलिया तथा महिला एकलमा माल्दिभ्समाथि जित हासिल गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ। 

पुरुष टिममा पाकिस्तानमाथि जित हासिल गरेर इतिहास रचेको नेपाली ब्याड्मिन्टनका लागि बिहीबार जकार्ता स्पोर्ट्स सेन्टरस्थित ब्याड्मिन्टन हलमा विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले अर्को सफलता दिलाएको हो। 

विकास र नवीनको जोडीले बिहीबार मंगोलियाका सुमियासुरेन इन्खबात र तेमुलिन गोम्बोदोर्जको जोडीलाई २१–१२, २१–७ को सोझो सेटमा पराजित गरेको थियो । अब क्वार्टरफाइनल प्रवेशका लागि विकास र नवीनले मलेसियाका सेम गोह भी र वी कियोङ तानको जोडीसँग शनिबार खेल्नेछन्।

महिला एकलमा नङ्सलले माल्दिभ्सकी फतिमा नाबाहा अब्दुल रजाकलाई २१–१९, २१–१५ को सोझो सेटमा हराएर अन्तिम १६ मा स्थान पक्का गरिन् । अन्तिम आठ प्रवेशका लागि नङ्सलले शनिबार जापानकी अकाने यामागुचीसँग प्रतिस्पर्धा गर्नेछिन्। 

महिला एकलको अन्तिम ३२ अन्तर्गतको अर्को खेलमा नेपालकी जेसिका गुरुङले पराजय भोगेकी छिन् । थाइल्यान्डकी राट्चानोक इन्टानोनसँग २१–७, २१–४ को नतिजामा पराजित भएपछि उनको यात्रा पहिलो चरणमै टुंगियो । मिक्स युगलमा भने नेपालका लागि बिहीबारको दिन सुखद रहेन । नेपालका तर्फबाट मिक्स युगलमा सहभागिता जनाएको दुवै जोडी पहिलो खेलमै पराजित भएर अन्तिम ३२ बाटै बाहिरिएको छ। 

तामाङ दिदी–भाइ नङ्सल र रत्नजितको जोडीले पहिलो चरणको खेलमा इन्डोनेसियाका रिकी कारान्डासुवार्डी र डेबी सुसान्तोको जोडीलाई २१–१३, २१–७ को नतिजा सुम्पियो । यसै गरी पहिलो चरणको अर्को खेलमा दीपेश धामी र जेसिका गुरुङको जोडी हङकङका चुन हेई रेजिनाल्ड ली र वाह चाउ होईको जोडीसँग २१–११, २१–११ को सोझो सेटमा पराजित भयो।

पुरुष युगलको अन्तिम ३२ अन्तर्गत अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपालका रत्नजित र दीपेशको जोडीले पाकिस्तानका रिजवान आजम र सुलेहरी कशिफ अलीलाई १९–२१, २०–२२ को सोझो सेटमा नतिजा सुम्पियो । त्यस्तै महिला युगलमा नङ्सल र जेसिकाको जोडी थाइल्यान्डका जोङकोलफान किटिथाराकुल र राविन्डा प्राजोङजाईको जोडीसँग २१–७, २१–५ को सोझो सेटमा पराजित भयो । बिहीबारको नतिजासँगै नङ्सल र जेसिका अन्तिम ३२ बाटै बाहिरिएका छन्।

तेक्वान्दो 
एसियाली खेलकुदको तेक्वान्दोमा पदक नजिते पनि नेपालीले मुख्य आशा गरेको खेलले बिहीबार  पनि चित्त बुझाउन एक खेल जितेको छ । ज्ञानेन्द्र हमालले पुरुष ६८ केजीको अन्तिम ३२ मा भुटानका वाङचुक जिग्मेलाई हराएको खेल नै इन्डोनेसिया एसियाडमा नेपाली तेक्वान्दोको अन्तिम जित बन्यो। 

पहिलो चरणमा पाएको जितमै चित्त बुझाउने बानी लागिसकेको नेपाली टोलीको उत्साह अन्तिम १६ मा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसँग ३०–२ को एकतर्फी नतिजामा पराजित भएर क्वार्टरफाइनल पुग्न वञ्चित भएसँगै टुंगिएको थियो। 

तेक्वान्दोको अन्तिम दिन नेपालका तर्फबाट महिला ४९ केजी तौलसमूहमा सहभागिता जनाएकी अस्मिता खड्काले पनि सुखद नतिजा ल्याउन सकिनन् । जकार्ता कन्भेन्सन सेन्टरको तेक्वान्दो हलमा भएको खेलमा अस्मिताको प्रदर्शन अझै दयनीय थियो । उनी इरानकी नाहिद कियानिचान्डेसँग ४३–४ को लज्जाजनक अन्तरमा पराजित भएकी थिइन्। 

स्क्वास 
अरहान्तकेशर सिंह र अमृत थापामगरको हारसँगै स्क्वासको पुरुष एकलमा नेपालको यात्रा पहिलो चरणमै सीमित भएको छ । जिबिके स्क्वास रंगशालामा बिहीबार पहिलो दिन अन्तिम ३२ को खेलमा अरहान्तकेशर पाकिस्तानका तायब अस्लामसँग ३–० को सोझो सेटमा पराजित भए।

अरहान्तकेशरले एसियाली खेलकुदअन्तर्गतको आफ्नो पहिलो खेलमै अस्लामलाई ११–६, ११–५, ११–५ को नतिजा सुम्पिएका थिए । अस्लामविरुद्धको खेलमा १८ मिनेट मात्र कोर्टमा टिकेका उनी पहिलो चरणबाटै प्रतियोगिताबाट बाहिरिए । स्क्वासकै अर्को एकल विधामा हङकङका यिन ली होसँग १६ मिनेट मात्र चलेको प्रतिस्पर्धामा ११–१, ११–४, ११–२ को नतिजा सुम्पिएपछि अमृत पनि अन्तिम ३२ बाटै बाहिरिए।  

स्पोर्ट्स क्लाइम्बिङ 
एसियाली खेलकुदमा पहिलो पटक समावेश गरिएको स्पोटर््स क्लाइम्बिङमा नेपालले कमजोर प्रदर्शनका साथ सुरुआत गरेको छ। 

पालेम्बाङमा भएको प्रतिस्पर्धामा स्पिडअन्तर्गत एकलतर्फको छनोट चरणमा नेपालका दुई खेलाडी पेम्बा शेर्पा र प्रणिलमान श्रेष्ठ पुछारमा सीमित भए । २७ खेलाडी सहभागी प्रतिस्पर्धामा १२ः०० सेकेन्डको टाइमिङका साथ पेम्बा २६औं हुँदा १२ः२६ सेकेन्डमा क्लाइम्ब गरेका प्रणिलमान पुछारमा सीमित भए।

यो विधाबाट १६ खेलाडी अन्तिम चरणलाई छानिएका थिए । अन्तिम चरणलाई छानिएकामध्ये सबभन्दा कमजोर प्रदर्शन ७ः५३ सेकेन्डको थियो । यसै गरी स्पिडअन्तर्गत पुरुष कम्बाइनमा २३ खेलाडी सहभागी रहेकोमा नेपाली सहभागीद्वय प्रणिलमान ११ः३५ सेकेन्डको टाइमिङका साथ २१औं हुँदा पेम्बा शेर्पा १२ः८४ सेकेन्डका साथ २२औं भए।

भारोत्तोलन 
अघिल्ला दुई दिन लगातार राष्ट्रिय कीर्तिमानमा सुधार गरेको भारोत्तोलनका लागि बिहीबारको दिन एसियाली खेलकुदमा सुखद रहन सकेन । पहिलो दिन मंगलबार सञ्जु चौधरी तथा बुधबार कमलबहादुर अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाइसकेको अवस्थामा बिहीबार विकास थापा भने आफ्नै उत्कृष्ट प्रदर्शनमा सुधार गर्नबाट पनि चुकेका छन्। पुरुष ७७ केजी तौलसमूहमा स्न्याचतर्फ १ सय १३, क्लिन एन्ड जर्कमा १ सय ३५ गरी कुलमा २ सय ४८ केजी उचाल्दै उनी ९ जना सहभागी प्रतिस्पर्धाको पाँचौं स्थानमा सीमित भए । जेआई एक्सपोस्थित भारोत्तोलन हलमा स्न्याचतर्फ पहिलो प्रयासमा १ सय १३ किलो उठाएका उनको दोस्रो तथा तेस्रो प्रयास असफल भएको थियो।

स्न्याचमा १ सय १३ किलो उनको यसअघिको उच्च प्रदर्शन थियो । दोस्रो प्रयासमा उनले गरेको १ सय १८ केजी तौल उठाउने प्रयास सफल भएन । तेस्रो पटक पनि त्यही प्रयास गर्दा उनी फेरि असफल नै भए । यसै गरी क्लिन एन्ड जर्कमा  १ सय ३५ उचाल्ने प्रयास असफल भए पनि उनले दोस्रो प्रयासमा त्यो तौल उचाले।

तेस्रो प्रयासमा १ सय ३७ केजी उचाल्न खोज्दा उनले फेरि असफलताको मुख देख्नुपर्याे । पुरुष ७७ केजीमा कमलबहादुर अधिकारीको नाममा स्न्याचतर्फ १ सय २२, क्लिन एन्ड जर्कमा १ सय ६२ तथा कुलमा २ सय ८४ किलोको राष्ट्रिय कीर्तिमान छ।

प्रकाशित: ८ भाद्र २०७५ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App