coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सदस्यसचिवको दाबी हावादारी

जकार्ता – नेपालले पदक जित्ने भनेर निक्कै प्रचार गरिएको उसुमा बुधबार सुस्मिता तामाङ महिला छान छ्वानमा असफल भएसँगै एसियाली खेलकुदमा चुनौती समाप्त भएको छ। 

चीनकी सिन्यी कीले ९.७४ स्कोरका साथ स्वर्ण पदक जित्दा नेपालकी प्रतिस्पर्धी सुस्मिता ९ सहभागीमध्ये सातौं स्थानमा सीमित भएकी छिन् । ९.२५ स्कोर गरेकी सुस्मिताले चााइनिज ताइपेईकी छिसुआन यु (९.२३) र म्यान्मारकी सान्डी ओओ (८.७०) लाई मात्र पछि पार्न सकिन् । उनको इभेन्ट्समा मकाउकी यी ली ९.७२ स्कोरका साथ रजत पदक जित्न सफल हुँदा भियतनामकी थी फुओङ गियाङ होआङले ९.७१ स्कोर गर्दै कांस्य पदक जितिन्। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गत वर्ष पुसमा संघमा बेथिति भएको तथा चुनाव गराउन नसकेको भन्दै तीन महिनाभित्र चुनाव गराउने म्यान्डेटका साथ आफ्नै अध्यक्षतामा उसु संघ पुनर्गठन गरेका थिए । उनकै नेतृत्वमा गत महिना भएको संघको चुनावले वीरबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो। 

एसियाली खेलकुदका लागि इन्डोनेसिया आउनुअघि पनि पत्रकार सम्मेलन नै गरेर सदस्यसचिव विष्टले सञ्चारमाध्यमसामु सर्वाधिक पदक जित्ने दाबी गरेका थिए। 

उसु नेपालले सधैं अन्तर्राष्ट्रिय खेलमेलाहरूमा पदक आशा गर्ने खेल हो । त्यसमाथि नेपाली खेलकुदको समग्र डाडु पन्यु हातमा भएका सदस्यसचिवले एसियाली खेलकुदको पूर्वसन्ध्यामा लामो समय यही खेलको नेतृत्व लिएपछि आशा झनै चुलिएको थियो । स्वयम् सदस्यसचिव विष्टले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत यसपालि एसियाली खेलकुद इतिहासमै सर्वोत्कृष्ट तयारी गरिएको र पदक पनि अहिलेसम्मकै बढी ल्याउने भन्दै आश्वासन दिएका थिए । एसियाली खेलकुदका लागि इन्डोनेसिया आउनुअघि पनि पत्रकार सम्मेलन नै गरेर सदस्यसचिव विष्टले राष्ट्रपतिलाई आश्वासन दिएजसरी नै सञ्चारमाध्यमसामु सर्वाधिक पदक जित्ने दाबी गरेका थिए। 

नेपाली खेलकुदको कार्यकारी प्रमुखका सबै आश्वासन जकार्ता र पालेम्बाङका मैदानमा अपेक्षाकृत रूपमै झूटो साबित भइरहँदा उनैले नेतृत्व गरेको उसु पनि पदक जित्न असफल रह्यो । १० पदकमा चुनौती प्रस्तुत गर्न नेपालबाट उसुमा १० खेलाडी इन्डोनेसिया आएका थिए । त्यसमध्ये चोटका कारण वीरमान लामा प्लेटफर्म उत्रिन सकेनन् भने बाँकी सबै खेलाडी आआफ्नो स्पर्धामा पराजित भइसकेका छन् । अन्य खेलको हकमा साइक्लिङ, कुस्ती, फुटबल, सुटिङ र टेनिसको एसियाली खेलकुद यात्रा बुधबारसम्ममा औपचारिक रूपमै समाप्त भइसकेको छ भने बाँकी खेलबाट पनि पदक जित्ने जोसपूर्ण उत्साह नेपाली टोलीमा देखिँदैन।

‘उहाँले यसको जबाफ दिनुपर्छ । देशको ढुकुटी र शक्ति आफ्नो हातमा छ भन्दैमा असनको साँढेजस्तो भएर खेलकुदमा उत्पात मच्चाउनका लागि सरकारले उहाँलाई नियुक्त गरेको होइन होला । उसुमा अरूलाई काम गर्न सकेन भनेर भटाभट बर्खास्त गर्नेले यस्तो कमजोर नतिजाको जिम्मेवारी पनि लिनुपर्छ र उहाँलाई पनि सजायँ हुनुपर्छ,’ उसु टोलीका एक सदस्यले नागरिकसँग भने, ‘राष्ट्रपति र तपार्इं पत्रकारहरूले पनि उहाँलाई हिजोका आश्वासन र हावादारी भाषणको बारेमा सोध्नुपर्छ । खेलकुदमा उहाँले गर्नुभएका सबै राम्रा र नराम्रा कामको हिसाब माग्नुपर्छ।’

एसियाली खेलकुदको नेपाली टोलीका सेभ दी मिसनको हैसियतमा इन्डोनेसिया आइपुगेका सदस्यसचिव विष्ट पछिल्लो केही दिनदेखि पालेम्बाङमा छन् । एसियाली खेलकुदमा समावेश कुल ४७ खेलमध्ये १० खेल पालेम्बाङमा भइरहेको छ।

प्रकाशित: ७ भाद्र २०७५ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App