coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कमलबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

पुरुष ६९ केजीतर्फ नेपाली खेलाडी कमल अधिकारी भारात्तोलन गर्दै । तस्बिरः एएफपी

जकार्ता – १०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी भारोत्तोलक कमलबहादुर अधिकारीले १८औं एसियाली खेलकुदअन्तर्गत बुधबार जकार्ताको जेआई एक्सपोस्थित भारोत्तोलन हलमा आफ्नै नाममा रहेका सबै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्। 

समूह ‘बी’को प्रतिस्पर्धामा सहभागी आठ खेलाडीमध्ये छैटौं स्थानमा सीमित भए पनि कमलबहादुर नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा सफल भएका थिए । पुरुष ६९ केजी तौलसमूहमा कमलबहादुरले बुधबार क्लिन एन्ड जर्कमा दुई पटक कीर्तिमानमा सुधार गरेका थिए भने त्यहीअनुसार कुलमा पनि उनको कीर्तिमान दुई पटक सुधारिएको थियो। 

स्न्याचको भार उठाउने क्रममा १ सय १३ किलो उचाल्ने पहिलो प्रयासमा चुकेका कमलबहादुरले दोस्रो प्रयासमा उक्त तौल उठाएका थिए । तेस्रो प्रयासमा १ सय १९ केजी तौल उचालेर स्न्याचमा आफ्नै नाममा रहेको १ सय १८ किलोको कीर्तिमानमा उनले सुधार गरेका थिए।

स्न्याचमा यसअघि काठमाडौंमा २०७१ सालमा भएको ललितपुर ग्राँ पीमा उनले १ सय १८ केजीको राष्ट्रिय कीर्तिमान बनाएका थिए । स्न्याचसँगै कुलमा पनि उनको २ सय ७४ केजीको नयाँ कीर्तिमान बनेको थियो । कुलमा उनको नाममा यसअघि २ सय ७३ केजीको कीर्तिमान थियो। 


‘अब दक्षिण एसियाली खेलकुद समयमै भयो भने एक पटक खेलेर खेलाडी जीवनमा पूर्णविराम लगाउने योजना छ । अझै पनि खेल्न सक्छु भन्ने जोस र उत्साह छ।’

यसै गरी क्लिन एन्ड जर्कमा पहिलो प्रयासमा १ सय ५० केजी उचालेका कमलबहादुरले दोस्रो प्रयासमा नयाँ कीर्तिमान बनाएका थिए । दोस्रो प्रयासमा १ सय ५६ केजी तौल उचालेर उनले पुरानो कीर्तिमानमा १ केजी सुधार गरेका थिए । यसअघि २००८ मा चीनमा सम्पन्न बेइजिङ ओलम्पिकमा १ सय ५५ केजी तौल उठाएर उनैले बनाएको कीर्तिमान कायम थियो।

क्लिन एन्ड जर्कमा नयाँ कीर्तिमान बनाएपछि कुलमा केही बेरअघि आफैंले तोडेको कीर्तिमान फेरि १ केजीले सुधारिएको थियो । क्लिन एन्ड जर्कको तेस्रो प्रयासमा १  सय ६० केजी तौल सफलतापूर्वक उचालेर उनले तीनै विधामा नयाँ कीर्तिमान बनाएका थिए । बुधबारको प्रदर्शनपछि कमलबहादुर स्न्याचमा १  सय १९, क्लिन एन्ड जर्कमा १ सय ६० तथा कुलमा २ सय ७९ केजीको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए। 

‘जे लक्ष्य लिएर यहाँ आएको थिएँ, त्यो पूरा भएको छ । सोचेअनुसारकै राम्रो खेलेर नयाँ कीर्तिमान बनाउन सफल भएँ । कीर्तिमानमा राम्रो सुधार भएको छ, त्यसैले एकदमै खुसी छु,’ खेल सकिनेबित्तिकै कमलबहादुरले भने, ‘अब दक्षिण एसियाली खेलकुद समयमै भयो भने एकपटक खेलेर खेलाडी जीवनमा पूर्णविराम लगाउने योजना छ । अझै पनि खेल्न सक्छु भन्ने जोस र उत्साह छ।’

भारोत्तोलनमा अघिल्लो दिन पनि राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्य पूरा भएको थियो । सञ्जु चौधरीले अघिल्लो दिन तीन राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन् । महिला ५३ केजी तौलसमूहको प्रतिस्पर्धामा सन्जुले स्न्याचमा ७२ केजी तौल उचालेकी थिइन् भने क्लिन एन्ड जर्कमा ८६ तथा समग्रमा १ सय ५८ केजी भार उठाइन्। 

बास्केटबल 
थ्री बाई थ्री बास्केटबलमा नेपाली महिला टोली बुधबार चाइनिज ताइपेईसँग पराजित भएको छ । एसियाली खेलकुदअन्तर्गत महिला थ्री बाई थ्री बास्केटबलको समूह ‘बी’ को पहिलो खेलमा नेपाली टोली १९–८ को नतिजामा पराजित भएको थियो। 

नेपाली टोलीका प्रशिक्षक विकास शाहीले सोचेअनुसारकै प्रदर्शन भएको बताए । ‘हामीले १० सम्म स्कोर गर्ने अनुमान गरेका थियौं । त्यसमा २ स्कोर कम भयो,’ प्रशिक्षक शाहीले भने, ‘खेलाडीले हाम्रो स्तरअनुसार राम्रो प्रदर्शन गरेका हुन्। म सन्तुष्ट छु।’

नेपालविरुद्ध खेलेको चाइनिज ताइपेईको टोली १८ वर्षमुनिको एसियाली च्याम्पियन हो । ‘बलियो टिमसँग खेल्दा यत्तिको प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन,’ उनले थपे । नेपाली टोलीले बुधबार पूरा १० मिनेटको समय खेलेको थियो।

कबड्डी 
एसियाली खेलकुदको कबड्डीमा नेपालले बुधबार पहिलो जित हासिल गरेको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि २९–१७ को विजयी  नतिजा निकाल्यो । त्यसअघि दिनको पहिलो खेलमा नेपाल इरानसँग ७५–२१  ले पराजित भएको थियो। 

पहिलो खेलमा आइतबार आयोजक इन्डोनेसियासँग ३३–२९ ले पराजित भएको नेपाल मंगलबार जापानसँग दोस्रो खेलमा ३१–२८ को नतिजामा पराजित भएको थियो । नेपालको समूहमा इरान, मलेसिया, आयोजक इन्डोनेसिया र जापानसँगै पाकिस्तान पनि छ । समूहचरणको अर्को खेलमा नेपालले पाकिस्तानसँग बिहीबार खेल्नेछ।

पदकतालिका (पाँचौं दिन)
देश                            स्वर्ण         रजत         कांस्य         जम्मा

चीन                            ३७            २९             १५               ८१
जापान                         २०            २३             २४               ६७
द.कोरिया                     १०             १५             २१               ४६
इरान                            ७               ३               ६                १६
इन्डोनेसिया                   ६              ३                ७                १६
उ. कोरिया                     ५               २               ३                 १०
भारत                            ४              ३               ८                 १५
थाइल्यान्ड                     ४              २               १०               १६
चाइनिज ताइपेइ             ३               ३                ८                १४
मंगोलिया                      ३               २                ४                  ९

प्रकाशित: ७ भाद्र २०७५ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App