coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तेक्वान्दोमा आशातीत सफलता मिलेन

फिलिपिन्सकी दार्लिने माए अर्पोनसँग प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी संगीता बस्याल (निलो) ।    तस्बिर सौजन्यः पिजे क्लब

जकार्ता – नेपालले पदक जित्ने आशा गरेको मुख्य खेल तेक्वान्दोले उद्देश्य पूरा गर्न नसके पनि सागर गुभाजुले जितको खाता खोलेका छन् । अन्तिम ३२ अन्तर्गतको खेलमा सोमबार भुटानी खेलाडीलाई प्रतिद्वन्द्वी पाउँदा सागरले जकार्तामा नेपाली तेक्वान्दोलाई पहिलो जित दिलाएका थिए। 

पुरुष ५८ केजीमुनिको तौल समूहमा भुटानका तेन्जिङ दोर्जीलाई ५४–४० को अन्तरमा हराएर अगाडि बढेका सागरको यात्रा धेरै अगाडि बढ्न भने सकेन । अन्तिम १६ को खेलमा भियतनामका भो क्युक हुङसँग सागर २५–५ को फराकिलो अन्तरमा पराजित भए । भोले पहिलो चरणमा श्रीलंकाका खेलाडीलाई पराजित गरेका थिए। 

सोमबार मध्याह्न १२ बजेका लागि तय भएको खेलका लागि सागर र भो दुवै एरिनामा लाइनअप भइसकेपछि प्राविधिक कारणले खेल तीन घन्टा पछि सरेको थियो । आयोजकको प्राविधिक त्रुटिका कारण चेस्ट प्याड तथा हेल्मेटको सेन्सरमा समस्या आएपछि खेल सार्नुपरेको थियो । जहाँ तीन घन्टापछि पुनः एरिना पुगेका सागरले निराशा सामना गर्नुपर्याे।

सोमाबारै तेक्वान्दोमा दुई महिला खेलाडी निमा गुरुङ र संगीता बस्यालले पनि पहिलो चरणमै हार सामना गरे । सोझै अन्तिम १६ को खेल खेल्ने क्रममा निमा लेबनानकी लाइतेतिया आउनसँग २३–१० को नतिजामा पराजित भइन् भने संगीताले फिलिपिन्सकी दार्लिने माए अर्पोनलाई कडा चुनौती दिए पनि जित हासिल गर्न सकिनन्। 

‘आज संगीताले अन्तिममा नतिजा ल्याउन नसके पनि उच्चस्तरको प्रदर्शन गरिन् । त्यति गरिसकेपछि जित निकाल्न नसक्नु उनको दुर्भाग्य हो।’

आफूभन्दा ७ इन्च अग्ली विपक्षीलाई पनि संगीताले अन्तिमसम्म कडा टक्कर दिइरहेकी थिइन् । तर उचाइका कारण उनले प्रत्येक मुभ वा किकमा संघर्ष गर्नुपरेको थियो । तथापि अन्तिम समयसम्म जितको आधार कायम राखेकी संगीता २०–१७ को नतिजामा पराजित भइन् । ५ फिट ९ इन्चकी प्रतिद्वन्द्वीसँग खेल्ने संगीताको उचाइ भने ५ फिट २ इन्च मात्र थियो। 

‘पक्कै पनि एरिनामा पुगेपछि जित वा हारको महत्व हुन्छ । प्रदर्शन जाँच्ने कसी नतिजा हो । तर कहिलेकाहीँ प्रदर्शन नतिजाभन्दा महत्वपूर्ण हुने गर्छ । आज संगीताले अन्तिममा नतिजा ल्याउन नसके पनि उच्चस्तरको प्रदर्शन गरिन् । त्यति गरिसकेपछि जित निकाल्न नसक्नु उनको दुर्भाग्य हो,’ प्रशिक्षक दीपक विष्टले भने, ‘यस्तो खेलमा प्राविधिक परिपक्वता निर्णायक हुने गर्छ । आज पनि त्यही भयो।’

संगीताको प्रदर्शनबाट प्रभावित नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले प्रोत्साहनस्वरूप उनलाई १ सय डलर प्रदान गरे । श्रेष्ठले तेक्वान्दोमा क्वार्टरफाइनल पुग्ने प्रत्येक खेलाडीलाई व्यक्तिगत रूपमा जनही १ सय डलर, कांस्य पदक जित्नेलाई ५ सय डलर तथा रजत वा स्वर्ण जित्नेलाई १ हजार डलरबाट पुरस्कृत गर्ने बताए। 

पुम्सेका तीन इभेन्ट्समा आइतबार पराजित भएको नेपाली तेक्वान्दो टोलीले क्योरुगीमा पनि सोमबार तीन खेलाडीबाट निराशा सामना गर्याे । क्योरुगीमा १० खेलाडीका साथ इन्डोनेसिया आइपुगेको नेपाली टोलीको उपाधि आशा जीवित राख्न मंगलबार दुई महिला र एक पुरुष खेलाडी एरिना उत्रिँदै छन्। 

अन्तिम १६ अन्तर्गतका खेलमा महिला ६७ केजी मुनिमा निशा रावलले चीनकी पान गाओसँग प्रतिस्पर्धा गर्नेछिन् भने ५७ केजी मुनिको तौल समूहमा ज्ञानी चुनाराले भुटानकी छोदेन किङजाङसँग खेल्नेछिन् । सहज प्रतिद्वन्द्वी परेकाले ज्ञानी क्वार्टरफाइनल पुग्ने आशा गरिएको छ । यसै गरी पुरुष ८० केजीमाथि तौलमा अनुजले कजाकस्तानका रुस्लान जापारोभसँग खेल्नेछन्।

यसैगरी क्योरुगीकी अर्की प्रशिक्षक संगीना वैद्यले सुरुका दुई दिनमा असफल भएजस्तो देखिए पनि पदकको आशा कायम रहेको प्रतिक्रिया दिइन् । ‘अहिले तेक्वान्दो निक्कै प्राविधिक भइसकेको छ । हामी छोटो समयको तयारीका भरमा ठूला प्रतियोगिता खेल्न आएका छौं । अरू देशले लामो र विशेष तयारी गरेका हुन्छन् । तैपनि हामीले नसक्ने भन्ने होइन । हामीले पदक जित्न सक्ने इभेन्ट्स बाँकी नै छन्,’ छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी वैद्यले भनिन्। 

प्रकाशित: ५ भाद्र २०७५ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App