६ वैशाख २०८१ बिहीबार
खेल

रत्नजितको तारिफयोग्य प्रदर्शन

जकार्ता – आशा गरिएका खेलहरूमा एकपछि अर्को असफलता बेहोर्नु परिरहेका बेला इन्डोनेसियाको जकार्तामा ब्याड्मिन्टन खेलाडीले हार भोगे पनि अनपेक्षित रूपमा सुधारिएको प्रदर्शन गरेका छन्। 

अघिल्लो दिन पुरुष टिममा पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेर अन्तिम आठको यात्रा तय गरेको नेपाली टिम सोमबार चाइनिज ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भयो । एकलतर्फका सबै तीन खेलमा सोझो सेटमा पराजित भएपछि नेपाली टिमको सेमिफाइनल पुग्ने सपना सकिएको थियो । तर एकलतर्फ रत्नजित तामाङले चाइनिज ताइपेईका चाउ तिन्चेनसँग २१–१३, २१–१६ को नतिजामा पराजित हुँदाको प्रदर्शन भने तारिफयोग्य थियो।

विश्व एकल ब्याड्मिन्टन वरीयताको छैटौं स्थानमा रहेका तिन्चेनविरुद्ध १३ र १६ स्कोर गर्दाको प्रदर्शनबाट नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ निक्कै उत्साहित थिए । ‘समग्रमा आजको नतिजा हामीले सोचेजस्तै भयो । हामीले पनि चाइनिज ताइपेईसँग जित हासिल गर्ने सोचेका थिएनौं । सोझो सेटमै हारिन्छ भन्ने अनुमान पनि थियो । तर रत्नजितले विश्व नम्बर ६ खेलाडीसँग गरेको प्रदर्शनले हामीलाई उत्साह थपेको छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘उसको खेल हेरेपछि ब्याड्मिन्टन एसियाका मेरा साथीहरूले अलि मिहिनेत र देशको लगानी थपे नेपालले विश्वस्तरमा खेल्न सक्छ भने । पाकिस्तानसँगको जित पनि हाम्रा लागि ऐतिहासिक थियो । हिजो पाकिस्तानमाथि हासिल गरेको डबल्सको जित निक्कै महत्वपूर्ण छ।’

‘दक्षिण कोरियाका अध्यक्षले रत्नजितको खेल मन परेपछि रत्नजित र अर्को एक खेलाडीलाई कोरिया मास्टर्स खेल्न निमन्त्रणा गर्नुभएको छ । यसै गरी उहाँले त्यही खेलबाट प्रभावित भएपछि नेपाललाई एक वर्षका लागि एक जना विश्वस्तरीय प्रशिक्षक पठाउने वचन दिनुभएको छ।’

रत्नजितको प्रदर्शनबाट प्रभावित भएर दक्षिण कोरिया ब्याड्मिन्टन संघका अध्यक्ष पार्क की ह्युनले आउँदो नोभेम्बरमा हुने कोरिया मास्टर्सका लागि दुई नेपाली खेलाडी पठाउन नेपाल ब्याड्मिन्टन संघलाई अनुरोध गरेको श्रेष्ठले जानकारी गराए । ‘दक्षिण कोरियाका अध्यक्षले रत्नजितको खेल मन परेपछि रत्नजित र अर्को एक खेलाडीलाई कोरिया मास्टर्स खेल्न निमन्त्रणा गर्नुभएको छ । यसै गरी उहाँले त्यही खेलबाट प्रभावित भएपछि नेपाललाई एक वर्षका लागि एक जना विश्वस्तरीय प्रशिक्षक पठाउने वचन दिनुभएको छ,’ श्रेष्ठले थपे। 

श्रेष्ठका अनुसार दक्षिण कोरिया ब्याड्मिन्टन संघले पठाउने प्रशिक्षकलाई नेपालमा खाने र बस्ने व्यवस्था भने नेपालले गर्नुपर्नेछ । बाँकी प्रशिक्षकको पारिश्रमिक तथा अन्य खर्च कोरिया ब्याड्मिन्टन संघले बेहोर्नेछ । ‘त्यो भनेको महिनाको ६ देखि १० हजार डलरबराबरको सहयोग हो । एउटा खेलाडीले वा एउटा टिमले एउटा खेलमा राम्रो प्रदर्शन गर्दा सम्भावनाका धेरै ढोका खुल्छन् । सबैले अलि मिहिनेत र लगानी बढाए हामीलाई विश्वस्तरमा खेल्न नेपाल सक्षम हुनेछ भनेका छन् । तर उनीहरूलाई हाम्रो वास्तविकता थाहा छैन,’ ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठले थपे, ‘विश्व स्तरमा खेल्नका लागि हामीले धेरै गर्नुपर्छ । सबभन्दा पहिला ढंगका खेल्ने ठाउँ बनाउनुपर्छ । त्यसपछि सानै उमेरदेखि प्रतिभा पहिचान गरेर नियमित रूपमा सुविधासम्पन्न प्रशिक्षण गराउनुपर्छ । त्यसका लागि देशले नै ठूलो लगानी गर्नुपर्छ । देश लगानी गर्न तयार भए हामी भविष्यमा विश्वस्तरमा चुनौती दिन सक्षम हुनेछौं।’

सोमबार पहिलो एकल खेलमा रत्नजित पराजित भएपछि दीपेश धामी र नवीन श्रेष्ठले पनि नेपालको पुनरागमन सम्भव बनाउन सकेनन् । विपक्षीको तुलनामा निक्कै कमजोर देखिएका दीपेशले वाङ तिजुवेईलाई २१–५, २१–१४ को सोझो सेटमा नतिजा सुम्पिए । तेस्रो खेलमा नवीन पनि जेन्हाओ एमएसयुसँग २१–१०, २१–११ को सोझो सेटमा पराजित भए। 

एकलका तीनै खेलमा पराजित भएपछि युगलतर्फका दुई खेलमा मैदान उत्रिनै परेन । युगलमा अघिल्लो दिन पाकिस्तानका आजम रिजवान र सुलेरी काहिफ अलीको जोडीलाई २१–१७, १७–२१, २१–५ को सेटमा पराजित गरेका रत्नजित र दीपेश तथा विकास श्रेष्ठ र नवीनको जोडीले नेपाललाई प्रतिनिधित्व गर्नुपर्ने थियो । रत्नजित र दीपेशले चाइनिज ताइपेईका चेन हुङलिन र चिलिन वाङ तथा विकास र नवीनको जोडीले झेहुई ली र याङ लीसँग खेल्ने तय थियो। 

प्रकाशित: ५ भाद्र २०७५ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App