२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सर्वसम्मतिले उसुमा नयाँ कार्यसमिति

काठमाडौं – लामो समयदेखि विवादमा रहँदै आएको नेपाल उसु संघमा आइतबार साधारणसभाले वीरबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वसम्मतिले निर्वाचित नयाँ कार्यसमितिको सह अध्यक्षमा मकवानपुरका जनक बर्तौला छन् भने तीन उपाध्यक्षमा काठमाडौंका प्रणिलध्वज कार्की, नुवाकोटका दीपक लामा र सुर्खेतका हरि थापा छन्। यसै गरी सोलुखुम्बुका लाक्पाछिरिङ  लामा महासचिव तथा काठमाडौंका राजेन्द्रकुमार श्रेष्ठ सचिवमा चुनिए । रामेछापका लानम लामा कोषाध्यक्ष तथा रसुवाका रितु म्याम्दान सहकोषाध्यक्ष चयन हुँदा सदस्यमा लमजुङका कृष्ण लामा, काभ्रेपलाञ्चोकका नारायण गिरी, धनकुटाका भक्त थापा, काठमाडौंकी रति लामा, सिन्धुपाल्चोकका सुन्दर लामा, मुख्य प्रशिक्षक अमरकुमार थिङ र बाराका निर्मल लामा रहेको सह अध्यक्ष बर्तौलाले जानकारी गराए।

साधारणसभाले १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो भने बाँकी चार उपाध्यक्ष तथा ११  सदस्य निर्वाचित कार्यसमितिले मनोनित गर्ने बताइएको छ। सह अध्यक्ष बर्तौलाले सबै क्षेत्र र जिल्लाको प्रतिनिधित्व हुने गरी मनोनयन गरिने बताए।

तदर्थ समितिका अध्यक्ष एवं राखेपका सदस्यसचिव केशवकुमार विष्ट आफैंले साधारणसभाको उद्घाटन गरे पनि नेतृत्व चयन प्रक्रियामा भने सहभागी भएनन् । ‘साधारणसभामा अनावश्यक होहल्ला भयो । सबै काठमाडौंको मात्र प्रतिनिधि राख्न खोजियो । कसैले मलाई नै अध्यक्ष निरन्तर हो भने कसैले चाहिँ सबै प्रदेशको प्रतिनिधित्व हुनुपर्छ भने,’ विष्टले आइतबार साँझ भने, ‘मलाई एसियाली खेलकुदका लागि भोलि इन्डोनेसिया जानुपर्ने थियो । त्यो भएर म निस्केँ। काठमाडौंको मात्र दादागिरी भएपछि अरू जिल्लाका साथीहरू पनि निस्केछन् । आधिकारिक रूपमा भोलि मात्र केही भन्न सक्छु।’

तर बर्तौलाले भने साधारणसभामा ४९ जिल्ला र राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा पुसमा पुनर्गठित अघिल्लो कार्यसमितिका २९ गरी कुल ७८ मतदातामध्ये ७२ को उपस्थिति रहेको दाबी गरे । ‘उहाँ आफैंले उद्घाटन गर्नुभएको हो। अनि उहाँ बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ। पछि निस्कनुभएको मात्र हो। निर्वाचन समिति हिजै बनेको हो। उहाँकै नेतृत्वमा सबै विधि पु-याएर भएको निर्वाचन हो। राखेपले पनि २० दिनअघि नै स्वीकृति दिइसकेको छ,’ उनले भने।

सदस्यसचिव विष्टले गत पुसमा तीन महिनाभित्र चुनाव गर्ने म्यान्डेटसहित आफंै अध्यक्ष रहने गरी नेपाल उसु संघको पुनर्गठन गरेका थिए।

प्रकाशित: २१ श्रावण २०७५ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App