१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

काभानी र राबियोट नबेच्ने टचेलको इच्छा

सिंगापुर – पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर एडिन्सन काभानी स्पेनिस क्लब रियाल मड्रिड जान इच्छुक भएको खबर सार्वजनिक भइरहदा प्रशिक्षक थोमस टचेलले उनी क्लबमै बसेको हेर्ने ठूलो इच्छा भएको बताए।

सोमबार सिजनपूर्वको अभ्यास खेलमा एट्लेटिको मड्रिडमाथि ३–२ को जित हात पारेपछि प्रतिक्रिया दिँदै टचेलले रियालले काभानीप्रति इच्छा देखाएको भन्ने खबरप्रति आश्चर्य व्यक्त गरे।

‘यो मेरो व्यक्तिगत र सबै भन्दा ठूलो इच्छा हो । मैले हालसम्म काभानी अन्यत्र जान इच्छुक रहेको भन्ने खबर सुनेको छैन,’ काभानीबारे राखिएको जिज्ञासामा टचेलले भने, ‘मैले केही दिनअघि काभानीसँग कुरा गरेको थिएँ । उनले अन्यत्र जाने बारे केही बताएनन् । उनले मसँग यही क्लबमा आफूलाई थप प्रमाणित गर्न चाहेको बताएका थिए । काभानी टोलीका प्रमूख खेलाडी हुन् । त्यसैले हामी उनी अन्यत्र गएको हेर्न चाहदैनौं,’ टचेलले थपे।

पहिलो अभ्यास खेलमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई ३–१ को नतिजा सुम्पिएको पिएसजी शनिबार सम्पन्न दोस्रो अभ्यास खेलमा आर्सनलसँग ५–१ ले पराजित भएको थियो । सोमबार भने पिएसजीले एट्लेटिकोलाई हराउँदै अभ्यास खेलमा पहिलो जितको स्वाद चाख्यो।

३२औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । ७१औं मिनेटमा मोसा डियाबेले गोल गर्दैै पिएसजीको अग्रता दोब्बर पारेका थिए । त्यसको ४ मिनेटपछि भिक्टर मोलेजोको गोलमा एट्लेटिकोले गोल अन्तर कम गरेको थियो । खेल सकिन ४ मिनेट बाँकी हुँदा पिएसजीका एन्टोनी बर्नेडेले गरेको आत्मघाती गोलमा खेल २–२ को बराबरीमा पुगेको थियो । तर ९०औं मिनेटमा भर्जिल्यु पोस्टालाचीले गरेको गोल पिएसजीको जितमा निर्णायक बन्यो।

पछिल्लो केही दिन यता स्पेनका सञ्चार माध्यमले रियाल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको स्थानमा काभानीलाई भित्र्याउन इच्छुक भएको खबर सार्वजनिक गरिरहेका छन् । रोनाल्डो यसै सिजन इटालियन सिरी ‘ए’को क्लब युभेन्ट्समा आबद्ध भएका थिए।

गत सिजन ब्राजिली स्ट्राइकर नेइमार विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी आबद्ध भएपछि काभानी र नेइमारको सम्बन्ध राम्रो नभएको खबर सार्वजनिक भएको थियो । नेइमारसँगकै चिसो सम्बन्धका कारण काभानी फ्रान्स छोड्ने मनस्थितीमा पुगेको सञ्चार माध्यमले उल्लेख गरेका थिए । तर टचेलले भने क्लबमा सबै खेलाडीको आपसी सम्बन्ध राम्रो रहेको भन्दै काभानी र नेइमारबीच कुनै समस्या नभएको बताए।

यसैबीच टचेलले बार्सिलोनाको आँखामा परेको भनिएका मिडफिल्डर एड्रियान राबियोटलाई पेरिसमै रहन सुझाएका छन्। रूसमा हालै सम्पन्न विश्वकपका लागि फ्रान्सेली टोलीमा वैकल्पिक स्थान अस्वीकार गरेपछि चर्चामा आएका राबियोटले गृहनगरको क्लबमै अझै धेरै सुधार गर्न बाँकी रहेको टचेलको भनाइ थियो।

डिडियर डेसच्याम्प्सले रूस भ्रमणका लागि घोषणा गरेको २३ सदस्यीय टोलीमा नपरे पनि कोही खेलाडी घाइते भए उसको स्थान पूर्तिका लागि वैकल्पिक खेलाडीको सूचीमा राख्दै राबियोटलाई तयार रहिरहन निर्देशन दिएका थिए । तर राबियोटले आफू वैकल्पिक खेलाडीका रूपमा नरहने भन्दै अस्वीकार गरेका थिए । वैकल्पिक खेलाडीका रूपमा राखेर प्रशिक्षकले आफ्नो अपमान गरेको राबियोटले आरोप लगाएका थिए । 

वैकल्पिक खेलाडीका रूपमा रहन अस्वीकार गरेपछि फ्रान्सभित्र उनको व्यापक आलोचना भएको थियो । डेसच्याम्प्सले उनलाई अनुशासनहीन खेलाडीको संज्ञा दिँदै आफू नेतृत्वको टोलीमा राबियोट कहिल्यै नपर्ने बताएका थिए। 

पिएसजीका प्रशिक्षक टचेल भने राबियोटसँग निक्कै प्रभावित छन् । त्यसैले उनले अझै केही समय राबियोटलाई आफूसँगै राख्न खोजेका छन् । ‘उनको प्रतिभा असाधारण छ । त्यसैले उनीभित्र सम्भावना पनि असीमित छ,’ नयाँ सिजनको तयारीका लागि सिंगापुर भ्रमणमा रहँदा टचेलले भने, ‘मेरो विचारमा राबियोटले अझै माथिल्लो स्तर हासिल गर्न बाँकी छ । उनले यही क्लबबाट माथिल्लो स्तरमा आफूलाई पुर्याउन सक्छन्।

यो उनको क्लब हो, जहाँ उनी युथ एकेडेमीबाट खेलाडीका रूपमा रूपान्तरित भएका थिए । तर उनको सम्झौताअनुसार आफ्नो भविष्य आफंै निर्धारण गर्ने अवस्थामा उनी छैनन् । मैले उनको अवस्था बुझेको छु ।’ फ्रान्सेली च्याम्पियन टोलीमा पहिलो सिजन बिताउने तयारीमा रहेका टचेलले सरुवा बजारबाट केही थप खेलाडी भित्र्याउने अपेक्षा गरेका छन्। 

प्रकाशित: १६ श्रावण २०७५ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App