२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको फराकिलो जित

विपक्षी टाेलीका प्रतिनिधिसँग नेपाली राष्ट्रिय टाेलीका कप्तान पारस खड्का। तस्बिर साैजन्य : रमन शिवाकाेटी

काठमाडौं - कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार अन्तिम अभ्यास खेलमा इस्ट लन्डन शार्कलाई १ सय ३४ रनले पराजित गरेको छ। 

टस हारेर ब्याटिङका लागि निम्त्याएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो। २ सय ५२ रनको लक्ष्य पछ्याएको इस्ट लन्डनले २० ओभर खेलेर १ सय १७ रन मात्र बनाउन सक्यो। 

बुधबार इस्ट लन्डन–११ विरुद्ध शतक हानेका अनिलकुमार शाह ८ रन बनाएर आउट भएपछि नेपालको इनिङ कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र भएर सम्हालेका थिए। पारस र ज्ञानेन्द्र भएर दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गरेका थिए। ३० बलमा ७ चौका र ५ छक्कासहित ६७ रन हानेका पारस पवेलियन फर्किंदा नेपाल १३२–२ को स्थितिमा थियो।

त्यसपछि ज्ञानेन्द्र र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे। १६.३ ओभरमा ज्ञानेन्द्र ७५ रन बनाएर आउट भए। ज्ञानेन्द्रले ४७ बलमा ६ छक्का र ५ चौका प्रहार गरेका थिए। त्यसपछि ब्याटिङमा आएका आरिफ शेखले लामो इनिङ खेल्न सकेनन् । आरिफ २ रन बनाएर आउट भए। २६ बलमा ६ छक्का र ४ चौकासहित अविजित ६७ रन बनाएका दीपेन्द्रसिंहले रोहितकुमार(१२) पौडेलसँग ६१ रनको अविजित साझेदारी गरे।

इस्ट लन्डनका सलिम अकबरले २ विकेट लिँदा अर्सद हारुन र विलाल बटले १/१ विकेट लिए। घरेलु टोलीका सलिम अकबरले २ ओभरमा ४२ रन दिएका थिए भने शाहजद हफिजले २ ओभरमा ३८ रन दिए।

२ सय ५२ रनको लक्ष्य पछ्याएको इस्ट लन्डनले राम्रो सुरुआत गर्न सकेन। सुरुबाटै विकेट गुमायो। घरेलु टोलीका ताकी अब्बासले सबैभन्दा धेरै ३२ रन बनाए भने हाफिज यावरले २६ रन जोडे। अर्सन हारून १६ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले दोेहोरो अंकमा रन बनाउन सकेनन्। चार ब्याट्सम्यान समान ५ रन बनाएर आउट हुँदा एक जना ८ र एक जना ४ रन बनाएर पवेलियन फर्किए। दुईले रनको खाता खोल्न सकेनन्। 

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिँदा ललितनारायण राजवंशीले २ विकेट लिए। दीपेन्द्रसिह, शरद भेषावकर र करण केसीको नाममा १/१ विकेट रह्यो। 

घरेलु टोलीका सलिम अकबरले २ ओभरमा ४२ रन दिएका थिए भने शाहजद हफिजले २ ओभरमा ३८ रन दिएका थिए।

प्रकाशित: ११ श्रावण २०७५ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App