६ वैशाख २०८१ बिहीबार
खेल

‘एक निर्वाचन क्षेत्र एक खेलमैदान’

पोखरा र‌ंगशाला ।

संघीय सरकारले एक निर्वाचन क्षेत्र एक खेलमैदान निर्माण गर्ने लक्ष्य लिएको छ। सरकारले लिएको लक्ष्यलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ। सरकारले लिएको लक्ष्यअनुसार वर्षेनि खेलमैदानका लागि बजेट समेत विनियोजन गर्दै आएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्मार्फत कास्कीमा तीनै निर्वाचनमा विभिन्न खेलकुद मैदानको बजेट छुट्ट्याउँदै आएको छ। छुट्ट्याइएको बजेटले खेलकुद मैदान निर्माणका काम अघि बढाइएको छ। तर पर्याप्त बजेट निकासा हुन नसक्दा निर्माणको गति भने सुस्त भएको छ। प्रदेश सरकारले पनि विभिन्न शीर्षकमा खेलकुदको योजनासहित १० करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले बहुउपयोगी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने योजना बनाएको छ। सरकारले प्रदेशस्तरीय खेलकुद एकेडेमी, नगरपालिकासँगको सहकार्यमा रगंशाला निर्माण, अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला तथा गल्फ कोर्स बनाउने योजना अघि सारेको छ। त्यसको लागि प्रतिवेदन बनाई डिपिआर बनाई काम अगाडि बढाउने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले बहुउपयोगी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने योजना बनाएको छ । सरकारले प्रदेशस्तरीय खेलकुद एकेडेमी, नगरपालिकासँगको सहकार्यमा रगंशाला निर्माण, अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला तथा गल्फ कोर्स बनाउने योजना अघि सारेको छ।

आर्थिक वर्ष २०७५÷०७६ को लागि ६० करोड रुपैयाँ छुट्ट्याएको छ। पोखरा फुटबल स्टेडियम बनाउने लक्ष्य छ। चालू आवमा कास्की जिल्लाका लागि दुई करोड ७९ लाख रुपैयाँ सुनिश्चितताको बजेट छुट्ट्याइसकेको छ। निर्माणको काम नसकिँदै कागजी प्रक्रिया मिलाएर बजेट सक्ने काम मात्रै हुने गरेको ठहरसमेत परिषद्ले गरेको छ। परिषद्ले पछिल्लो समयमा छुट्ट्याएको रकम भने सम्बन्धित खेलकुद मैदान निर्माण पूरा भएपछि मात्रै रकम निकासा हुने गरी पठाएको छ।
‘काम पूरा नभएसम्म छुट्टिएको रकम निकासा हुँदैैन,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए। गत आवमा मन्त्रालयले दुई करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले छुट्ट्याएको रकममा पोखरा रंगशालाभित्र निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हललाई भने बजेट यसमा समावेश गरिएको छैन।
कभर्ड हल निर्माण १४ करोड ३० लाखमा मुन्न डाँफे एन्ड आचार्य नामक कम्पनीले सुरु गरेको हो । १५ महिनामा सक्ने लक्ष्यसहित सुरु गरिएको हलको लागत अहिलेसम्म एक करोड ९५ लाख रुपैयाँ थप भइसकेको छ । तर, नयाँ आर्थिक वर्षका लागि परिषद्ले बहुउद्देश्यीय कभर्ड हल फिनिसिङ गर्न १ करोड रुपैयाँ उपलब्ध गराएको छ । योसँगै हलका लागि परिषद्ले १६ करोड २१ लाख रुपैयाँ खर्चनेछ ।

पोखरा रंगशालामा पूर्वाधार
पोखरा रंगशालामा पूर्वाधार निर्माणका कामहरू धमाधम भइरहेका छन् । साग खेलकुद तयारीका लागि भन्दै आर्चरी खेलमैदान पुनर्निर्माण सुरु गरिएको छ । यो आर्थिक वर्षमा आर्चरीका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । नयाँ आवमा फेरि १० लाख रुपैयाँ छुट्ट्याइएको छ ।

रकमबाट मैदान सम्याई दुबो रोप्ने, बर्खेपानीको निकासका लागि ड्रेन निर्माण गरिएको छ । ‘चार स्टेपको प्यारापिटको तयारीमा छौं,’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । उनले नयाँ थपिएको बजेटबाट मैदानमा माटो भरेर दुबो रोप्ने लक्ष्य रहेको सुनाए ।

गत वर्ष आर्चरीकै लागि मन्त्रालयले ३० लाख रुपैयाँ दिएको थियो । त्यो रकमले तारजाली तथा तार्गेटतर्फ झन्डै डेढ सय मिटर लामो पर्खाल निर्माण गरिएको छ । अब प्रशिक्षणका लागि बनाइएको ट्रसमुनि पार्केटिङ गर्ने लक्ष्य रहेको उनको भनाइ छ । उपभोक्ता समितिमार्फत धमाधम काम अगाडि बढाइएको छ ।

परिषद्ले पोखरा रंगशालाभित्रकै ब्याडमिन्टन कभर्ड हल र लनटेनिसका लागि समेत बजेट उपलब्ध गराएको छ । चारवटा कोर्टसहितको ब्याडमिन्टन कोर्टका लागि गत आवमा ३० लाख र चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को लागि केवल १० लाख बजेट विनियोजित भएको छ ।
पार्टनरसिपका आधारमा निर्माण गरिएको कोर्टको चेन्जिङ रुम, शौचालयलगायत बनाउने काम भइरहेको कास्की जिल्ला ब्याडमिन्टन संघका सचिव दुर्गा जोजिजूले बताए । उनले अब ट्रस छाउने काम भइरहेको बताए । त्यसपछि भुइँलाई ढलान गरी पार्केटिङ गरिनेछ । संघ र परिषद्ले ५०–५० प्रतिशत लगानी गर्ने सहमति भएको छ ।

सागअन्तर्गतको खेल लनटेनिस पनि पोखरामा गर्ने निर्णय गरिएको छ । निर्णयसँगै परिषद्ले एक हार्ड कोर्ट र क्ले कोर्ट निर्माण गर्न आवश्यक टेन्डरिङ प्रक्रिया गरिसकेको छ । कास्की जिल्ला लनटेनिस संघकै पहलमा पाँचवटा क्ले कोर्ट बनाइसकिएको छ । परिषद्बाट प्राप्त हुने तीन करोड ४५ लाखबाट हार्ड कोर्ट, क्ले कोर्ट र प्याराफिटसमेत बनाइने कास्की जिल्ला लनटेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाए । त्यसका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारसमक्ष डिजाइनको फाइनल ड्राफ्ट आइसकेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

पोखरा रंगशालाभित्र भलिबल प्रशिक्षण केन्द्रसमेत बनाइएको छ । चारवटा कोर्टसहितको प्रशिक्षण केन्द्रलाई परिषद्ले ८५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध रकमसँगै स्थानीयको सहयोगमा चार कोर्ट, अफिसियल भवन, शौचालय र आठ स्टेपको प्याराफिट निर्माण गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार प्रशिक्षण केन्द्र बनाउन सवा करोड खर्च भएको छ ।

पोखरा रंगशालाभित्रै परिषद्ले उपलब्ध गराएको सुनिश्चितताको ९० लाख बजेटमार्फत ह्यान्डबल कोर्ट निर्माण गरिएको छ । ४९ मिटर लम्बाइ र २७ मिटर चौडाइको कोर्टसहित शौचालय, चेन्जिङ रुम, फिडब्याक रुम समेत निर्माण गरिएको नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए । उनका अनुसार कोर्ट तयार भएपछि राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।

निर्वाचन क्षेत्र १
सरकारले लिएको नीतिअनुसार निर्वाचन क्षेत्र १ मा परिषद्ले बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने लक्ष्यसँगै काम सुरु भइसकेको छ । लेखनाथ भण्डारढिकस्थित खेलमैदान परिसरमा बहुउद्देश्यीय कभर्ड हल बनाउन परिषद्ले गत आवमा ५५ लाख रुपैयाँ छुट्ट्याएको थियो । छुट्टाइएको रकमले जग खन्नेदेखि पिलर राख्ने काम मात्रै पूरा भएको छ ।
यो आर्थिक वर्षमा बजेट नछुट्टिँदा झन्डै वर्षदिनदेखि अलपत्र परेको छ । हल ४९ मिटर लम्बाइ र २९ मिटर चौडाइको बनाइने इन्जिनियर प्रनिस ताम्राकारको भनाइ छ । झन्डै सात सय दर्शक क्षमताको प्यारापिट निर्माण गरिनेछ । बहुउद्देश्यीय हलमा चारवटा ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट र भलिबल कोर्ट रहनेछन् । मार्सल आर्टका खेलसमेत खेलाउन सकिने बहुउद्देश्यीय कभर्ड हल निर्माण समितिका सचिव खड्काले बताए ।

निर्वाचन क्षेत्र २
यो क्षेत्रमा सिंगो पोखरा रंगशाला नै पर्छ । पोखरा रंगशालाभित्र आवश्यक पूर्वाधारका काम अघि बढेका छन् । त्योसँगै लामाचौरमा गोस्ते लामाचौर खेलमैदान निर्माण गरिएको छ । स्थानीय नवआदर्श सामुदायिक विकास समाजको अगुवाइमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान निर्माण गरिएको छ । परिषद्ले मैदानका लागि चालू आवमा ३० लाख रुपैयाँ छुट्ट्याएको छ । गत आवमा १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा मैदानलाई ५० लाख रुपैयाँ थप बजेट विनियोजन भएको छ । यसले पोखरा रंगशाला वैकल्पिक फुटबल मैदानको रूपमा प्रयोग गर्न सकिनेछ ।

परिषद्को थोरै रकमबाट काम सुरु गरिए पनि स्थानीको सक्रियतामा फुटबल मैदान, मैदानवरिपरि ड्रेन वाटरको निकासका लागि नाली बनाइसकिएको छ । तीन स्टेपको प्यारापिटसमेत बनिसकेको छ । छुट्टिएको रकमबाट मैदान घेर्न तारजाली लगाउने र अन्य आवश्यक पूर्वाधार बनाउन खर्च गरिएको लामाचौर खेलमैदान निर्माण समिति सचिव बुद्धि खत्रीले जानकारी दिए । उनले थपिएको बजेटले प्याराफिट निर्माण र मैदानलाई फिनिसिङमा खर्च गरिने बताए ।
चालू आवमा मालेपाटन खेलमैदानका लागि १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएर परिषद्ले क्षेत्रीय खेलकुद विकास समितिमा परिपत्र गरेको छ । मैदान संरक्षण गर्न दुई वर्षअघि तारजाली लगाइएको थियो । चालू आवमै स्थानीय अभियान युवा क्लबको अगुवाइमा भलिबल कोर्ट निर्माण गरिएको छ । मोसफलकै चर्चित क्लब सहारालाई समेत राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ छुट्याएको छ । परिषद्ले पोखरा रंगशालाको प्याराफिट भत्काउन यसै आवमा ४४ लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकमबाट प्याराफिट भत्काइसकिएको छ । जहाँ एक अर्बभन्दा बढीको लगानीमा फुटबल स्टेडियम बनाउने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । स्टेडियम बनाउन दोस्रोपटक ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । फुटबल मैदान बनाउन ५३ करोड रुपैयाँ छुट्ट्याइसकिएको छ ।
महानगरपालिकाको पनि दुर्गम मानिएको वडा नम्बर २० मौजामा महानगरपालिका र वडा नम्बर २० ले छुट्ट्याएको आठ लाख रुपैयाँबाट फुटबल मैदान निर्माण कार्य गरिएको छ । वर्षायाम सुरु भएकाले निर्माण कार्य अहिले रोकिएको छ । मैदान बनाउन डाँडा कटान गरी सम्याउन थालिएको छ । यो १७ सय मिटर उचाइमा निर्माणाधिन छ ।

निर्वाचन क्षेत्र ३
यो निर्वाचन क्षेत्रमा परिषद्ले खेलकुद पूर्वाधारका लागि बढी लगानी गरेको छ । ढिकुरपोखरी खेलमैदान (फुटबल)का लागि गत आवमा आठ लाख विनियोजन गरिएको थियो । विनियोजित रकमबाट खेल मैदानलाई केही फराकिलो बनाइएको छ । ९ ए साइड फुटबल हुने अवस्थाको मैदानलाई ११ ए साइडमा खेल्न मिल्ने गरी विस्तार गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष सम्पन्नमान श्रेष्ठले बताए ।

ढिकुरपोखरीसँग हेमजाको खेलमैदानलाई पनि गत आवमा आठ लाख बजेट निकासा भएको थियो । चालू आवमा भने १० लाख रुपैयाँ छुट्टिएको छ । गौरीशंकर फुटबल मैदानको आवश्यक विस्तारको काम भइरहेको छ । त्यसैगरी, परिषदले लान्द्रुकको खेलमैदानलाई पाँच लाख गत आवमा विनियोजन गरी पठाएको थियो । सार्दीखोला खेलमैदानलाई तीन लाख रुपैयाँ निकासा गरिएको थियो ।

चालू आर्थिक वर्षमा पामे भलिबल कोर्ट निर्माणका लागि १५ लाख रुपैयाँ छुट्ट्याइदिएको छ । त्यति मात्रै नभई बर्सेनि आयोजना हँुदै आएको ट्रायथोलनका लागि स्थान अध्ययन अवलोकनका लागि भन्दै परिषद्ले २५ लाख रुपैयाँ सुनिश्चिताको बजेट उपलब्ध गराएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख एवं कास्की जिल्ला ट्रायथोलन संघका सचिव प्रकाश बरालका अनुसार पुम्दीमा ट्रायथोलनका लागि आवश्यक पूर्वाधारसहितको एकेडेमी निर्माण गर्न जग्गा हेरिसकिएको छ । हेरिएको जग्गामा अहिले ग्याबिन जाली र जमिन लेभलिङको काम गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा फेरि १० लाख रुपैयाँ विनियोजन भएर आएको छ । सरकारले लगानी गरेअनुरूप खेलकुदको पूर्वाधार निर्माण भएको अवस्थामा खेलुकदको विकास र विस्तार हुने आशा र विश्वास खेलप्रेमीले लिएका छन् ।

प्रकाशित: २६ असार २०७५ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App