२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विजेता नबन्ने इङ्ल्यान्ड र बेल्जियमको दाउ

अभ्यास गर्दै इङ्ल्याण्डको टोली

सेन्ट पिट्सबर्ग – बेल्जियमका मिडफिल्डर मारोउने फेलानीले विश्वकपको समूह ‘जी’ अन्तर्गत बिहीबार इङ्ल्यान्डविरुद्ध हुने अन्तिम खेललाई अनौठो प्रतिस्पर्धाको संज्ञा दिएका छन्।

दुवै टोली पहिलो दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । त्यसैले समूहको अन्तिम खेलको नतिजा विजेता बन्नका लागि मात्र उपयोग हुनेछ । तर प्रतियोगितामा लामो यात्रा गर्न खोज्दा क्वार्टरफाइनलमा ब्राजिलविरुद्धको सम्भावित भिडन्त टार्न समूहविजेता बन्नु पनि घातक हुन सक्ने भएकाले फेलानीले यसलाई अनौठो खेलको रूपमा बयान गरेका हुन्।

अर्को समूहको नतिजाले इङ्ल्यान्ड वा बेल्जियमका लागि विजेता बन्नु फाइदाजनक नहुन सक्छ । तर दुवै टोलीले शीर्षता टार्न नखोजेको बताएका छन् । पहिलो खेलमा ट्युनिसियालाई २–१ ले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा पानामामाथि ६–१ को सहज जित हात पारेको थियो । त्यस्तै पहिलो खेलमा पानामालाई ३–० ले पराजित गरेको बेल्यिजमले दोस्रो खेलमा ट्युनिसियामाथि ५–२ को सानदार जित हात पारेको थियो।

यद्यपि बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज र इङ्ल्यान्डका गारेथ साउथगेटले बिहीबार केही प्रमुख खेलाडीलाई आराम दिने बताइएको छ । दुवै टोलीले ट्युनिसिया र पानामालाई पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेका थिए । समान ६ अंक जोडेका बेल्जियम र इङ्ल्यान्ड पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन ट्युनिसिया र पानामा तेस्रो र चौथो स्थानमा छन् । समूहका दुई बलिया टोलीबीचको भिडन्तले समूह विजेताको टुङ्गो लगाउनेछ।

‘यो रोचक खेल हुनेछ । दुवै टोली ५०–५० को स्थितिमा हुनेछन् र दुवै टोली यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । त्यसैले यो ‘अनौठो खेल’ हुनेछ,’ फेलानीले भने । मार्टिनेजले रक्षक यान भेर्टोन्घेन, विंगर थोमस मेउनिर र मिडफिल्डर केभिन डी ब्रुयनालाई आराम दिने बताइएको छ । तीनै जनाले प्रतियोगितामा एउटा पहेँलो कार्डको दर्शन गरेका थिए । दोस्रो पहेंलो कार्ड सामना गरे उनीहरूले अन्तिम १६ खेल गुमाउन सक्नेछन्।

साउथगेटले टोलीले समातेको विजयी लयलाई निरन्तरता दिने भने पनि केही प्रमुख खेलाडीलाई आराम दिने संकेत गरे।‘म टोलीले जितको लयलाई उपाधि यात्रासम्म कायम राखोस् भन्ने चाहन्छु । यसका लागि खेलाडी फिट हुन आवश्यक छ,’ साउथगेटले भने । कप्तान ह्यारी केन इङ्ल्यान्ड टोलीका प्रमुख खेलाडी हुन् । तर साउथगेटले केनलाई बिहीबारको खेलमा आराम दिने बताएका छन्।

केन ५ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ताको प्रतिस्पर्धामा सबभन्दा अगाडि छन् । त्यस्तै ४ गोल गरेका लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । समूह ‘जी’को विजेताले अन्तिम १६ मा समूह ‘एच’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘एच’ मा समान ४ अंकका साथ जापान र सेनेगल क्रमश पहिलो र दोस्रो तथा ३ अंकका साथ कोलम्बिया तेस्रो स्थानमा छन् । उक्त खेलको विजेताले क्वार्टरफाइनलमा जर्मनी र ब्राजिलमध्ये एकसँग खेल्ने सम्भावना छ।

यी दुई टोली प्रमुख प्रतियोगितामा आमने–सामने हुन लागेको यो चौथो पटक हो । यसअघिका तीन भिडन्तमध्ये दुई खेल बराबरीमा सकिएको थियो भने एक खेल इङ्ल्यान्डले जितेको थियो।

 

प्रकाशित: १४ असार २०७५ १५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App