२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एपिएफ र पुलिस सेमिफाइनलमा

काठमाडौं – विभागीय टोलीद्वय एपिएफ र नेपाल पुलिस क्लबले बुधबार चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न खेलमा एपिएफले चितवनको पद्मोदय युवा क्लबलाई ३–१ को सेटमा हराउँदै दुई खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो । बुधबार दोहोरो जित निकालेको पुलिसले चार खेलबाट ३ जित निकाल्दै ९ अंकका साथ सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

सेमिफाइलनमा स्थान सुरक्षित गर्न एपिएफले पद्मोदयमाथि २५–११, २५–१६, २०–२५, २५–५ को जित निकाल्दै ३ खेलबाट ९ अंक जोड्न सफल भएको हो । दोहोरो जित निकाल्ने क्रममा बुधबार पुलिसले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गरेको हो भने दोस्रो खेलमा पद्मोदय युवा क्लब, चितवनलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले जावलाखेलमाथि २५–७, २५–९, २५–११ को जित निकालेको थियो भने अर्को खेलमा पद्मोदयलाई २५–१२, २५–१६, २५–१६ को सेटमा पराजित गरेको थियो।

त्यस्तै बुधबारै सम्पन्न अर्को खेलमा शिवम् न्यु डायमन्डले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ३–० को सेटमा पराजित गरी प्रतियोगितामा दोस्रो जित हात पार्न सफल भयो । यसअघि पहिलो खेलमा न्यु डायमन्ड पुलिससँग पराजित भएको थियो भने जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेको थियो।

आर्मीमाथि न्यु डायमन्डले २५–२१, २५–१४, २५–१८ को जित निकालेको हो । विजयी न्यु डायमन्डले ३ खेलबाट ६ अंक जोड्दै सेमिफाइनलको बाटो सहज बनाएको छ।

प्रतियोगितामा बिहीबार एपिएफ र शिवम् न्यु डायमन्ड एकेडेमीले दुई–दुई खेल खेल्नेछन् । पहिलो खेल एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रसँग खेल्दा दोस्रो खेल न्यु डायमन्डसँग खेल्नेछ । यस्तै न्यु डायमन्डले चितवनको पद्मोदय युवा क्लबसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २४ जेष्ठ २०७५ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App