७ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

१४औं दक्षिण एसियाली खेलकुद चैत २० देखि २८ सम्म

पाकिस्तानमा तय १४औं दक्षिण एसियाली खेलकुद आगामी चैत २० देखि २८ सम्म हुने भएको छ। पाकिस्तानको इस्लामाबादमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले उक्त निर्णय गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उल्लेख गरेको छ। बैठकले प्रतियोगिताको मिति सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।  

१४औं दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानका विभिन्न सहरमा सञ्चालन हुनेछ। आवश्यक परे सञ्चालन तथा व्यवस्थापनका कारण एक सातासम्म समय समायोजन गर्न सकिने लचकता पनि आयोजकलाई प्रदान गरिएको छ। पाकिस्तानले तेस्रो पटक दक्षिण एसियाली खेलकुद आयोजना गर्न लागेको हो। 

यसअघि उसले सन् १९८९ र २००४ मा इस्लामाबादमा सागको आयोजना गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स गरी सात राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा एथलेटिक्स, पौडी, तेक्वान्दो, क्रिकेट, फुटबल, बक्सिङ, ब्याडमिन्टन, कराते, कबड्डी, भलिबल, भारोत्तोलनलगायत २८ खेल समावेश गरिएको छ। सागको आयोजना पाकिस्तानका इस्लामाबाद, लाहोर र फैसलाबाद केन्द्रित हुने अपेक्षा गरिएको छ। दक्षिण एसियाली क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता मानिने साग सन् २०१९ मा नेपालमा सम्पन्न भएको थियो। 

उक्त बैठकमा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रतिनिधि र अन्तर्राष्ट्रिय समन्वयन गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) को प्रतिनिधिसहित नेपाली टोली पनि सहभागी छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्पmबाट कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा सहभागी थिइन्।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले सो बैकठमा सहभागिता जनाएका थिए। तीन सदस्यीय टोली शुक्रबार नै पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेका थिए। 

दक्षिण एसियाली खेलकुदमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३×३) र (५×५), बिलियर्ड्स तथा स्नूकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबलरबीच ह्यान्डबल, हक्की, जुडो, कबड्डी, कराते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, बीच भलिबल, भारोत्तोलन, कुस्ती र उसु गरी २८ खेल समावेश छन्।

प्रकाशित: ७ भाद्र २०८३ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App