coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सालाह वर्षका उत्कृष्ट फुटबलर

लन्डन – लिभरपुलका स्टार मोहम्मद सालाह मंगलबार फुटबल लेखक संघ (एफडब्लुए) को तर्फबाट वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

लिभरपुलका लागि गोल मसिन जस्तै विपक्षी पोष्टमा हावी हुँदै आएका उनले यसैपाली व्यावसायिक खेलाडीहरुको तर्फबाट पनि उत्कृष्ट खेलाडीको पुरस्कार जितिसकेका छन्।

४ सय सदस्य रहेको एफडब्लुएका सदस्यहरुले गरेको मतका आधारमा पाउने पुरस्कारमा इजिप्टका अन्तर्राष्ट्रिय खेलाडी सालाहले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयनालाई झिनो अन्तरमा पछि पारेका थिए । समाचारमा जनाइएअनुसार सालाह र डी ब्रुयनाबीचको मतअन्तर २० भन्दा पनि कम थियो । टोटेनह्यामका स्ट्राइकर ह्यारी केन तेस्रो स्थानमा आए।

पत्रकारहरुको मतमध्ये ९० प्रतिसतभन्दा बढिमा गत वर्ष एएस रोमाबाट लिभरपुल आएका सालाह र पाँच खेल बाँकी रहँदै सिटीलाई प्रिमियर लिग जिताउन योगदान गरेका डी ब्रुयनालेमात्र कब्जा गरेका थिए।

चेल्सीबाट खेल्दै इङल्यान्डमा पहिलो कार्यकाल विताउने क्रममा औसतभन्दा तलको प्रदर्शन गरेका सालाहले यसपाली लिभरपुलको जर्सीमा पहिलो सिजन खेल्दा ४८ खेलमा ४३ गोल गरिसकेका छन् । उनकै प्रेरणामा योर्गान क्लोपको टोलीले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा एएस रोमामाथि ५–२ को जित निकाल्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

गत महिना समकक्षी खेलाडीहरुबाट पुरस्कृत भएका सालाह १९४८ देखि स्थापित एफडब्लुए पुरस्कार जित्ने पहिलो अफ्रिकी खेलाडी पनि बनेका छन्।

‘१९६८–६९ मा म्यानचेस्टर सिटीका टोनी बुक र डर्बीका डेभ म्याकेपछि यो पुरस्कारमा यसपाली यति धेरै प्रतिस्पर्धा भयो,’ एफडब्लुएका अध्यक्ष प्याट्रिक बार्कलेले भने, ‘गत साता हामीले यसपाली कडा प्रतिस्पर्धा हुने अनुमान गरेका थियौं।

केभिन डी ब्रुयनामाथिको समर्थन अत्यन्तै सशक्त थियो । तर मोहम्मद सालाह यसपाली निक्कै उच्च फर्ममा छन् । उनकै फर्मले लिभरपुललाई धेरै खेलमा जित दिलाएको छ । रोमाविरुद्ध उनले दुई उत्कृष्ट गोल गरे । रोमाविरुद्धका दुई गोलका कारण उनी साँघुरो अन्तरमा जित हासिल गरे।’

प्रकाशित: १९ वैशाख २०७५ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App