ईण्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई खेल हुँदैछन्। अपराह्न ३ः४५ बजे सुरु हुने खेलमा पञ्जाव किङ्स र राजस्थान रोएल्सबीच खेल हुनेछ।
जयपुरमा हुने खेलमा जित निकाल्दै पञ्जाव अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ। तेस्रो स्थानमा रहेको पञ्जावको १५ अंक छ। १७ अंकमा रोएल च्यालेन्जर्स बेंगलुरु शीर्ष र १६ अंकमा गुजरात टाइटन्स दोस्रो स्थानमा छ। प्लेअफको दौडबाट बाहिरिसकेको राहुल द्रविडको राजस्थान भने मात्र ६ अंकमा तालिकाको पुछारबाट दोस्रो स्थामा छ।
अर्को खेलमा राति ७ः४५ बजे गुजरातले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै दिल्ली प्लेअफको सम्भावना बलियो बनाउने योजनामा हुनेछ।
पछिल्ला ७ खेलमा २ मा जित, ४ मा हार र एउटामा अंक बाँड्न बाध्य दिल्ली लयमा फर्कने प्रयासमा छ । गुजरात भने दिल्लीविरुद्ध जित निकाल्दै शीर्ष स्थानको बेंगलुरुलाई एक अंकले पछि पार्ने योजनामा मैदान उत्रनेछ ।
भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण एक साताका लागि स्थगित आईपीएल शनिबार सुरु भएको हो। यद्यपि वर्षाका कारण बेंगलुरु र कोलकात्ता नाइट राइडर्सबीचको खेल भने हुन सकेन। शीर्ष स्थानको बेंगलुरुसँग अंक बाँड्न बाध्य भएपछि डिफेन्डिङ च्याम्पियन कोलकात्ता लिग चरणमै रोकिएको छ। उसको १३ खेलबाट १२ अंकमात्र छ।
प्रकाशित: ४ जेष्ठ २०८२ १३:१२ आइतबार