अग्रता जोगाउन नसक्दा नेपालले बाङ्लादेशसँग महिला कबड्डी शृंखलाको पाँचौं खेलमा हार बेहोरेको छ।
सातदोबाटोस्थित तेक्वान्दो प्रशिक्षण हलमा शुक्रबार पाँचौं खेलमा नेपाल पाहुना टोली बाङ्लादेशसँग २८–२३ अंकले पराजित भएको हो। यससँगै नेपालले शृंखला ३–२ को नतिजामा नै चित्त बुझाएको छ।
बिहीबार चौथो खेलमा जित निकाल्दै नेपालले पाँचौं खेलअगाडि नै शृंखला आफ्नो पक्षमा पारेको थियो। त्यसैले शुक्रबार पाँचौं खेलमा जित निकाल्दै दुवै टोली शृंखलाको सुखद अन्त्य गर्न चाहन्थ्यो। तर, पाँचौं खेलमा नेपालले अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपर्यो। पहिलो हाफमा १४–७ को अग्रता जोगाउन नसक्दा नेपालले हार सामना गर्नुपरेको हो। बाङ्लादेश पहिलो हाफमा एकपल्ट अलआउट भयो।
तर, दोस्रो हाफमा भने नेपालले लय जारी राख्न सकेन। बाङ्लादेशले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो। यो हाफमा बाङ्लादेशले २१ अंक जोड्दै उत्कृष्ट पुनरागमन गर्यो। यस क्रममा नेपाली टोली दुईपल्ट अलआउट पनि हुन पुग्यो र हार सामना गर्यो।
बाङ्लादेशको जितमा मेहबी चम्का प्लेअर अफ द म्याच भइन्। उनले पाँच हजार नगद पुरस्कार पाइन्। प्लेअर अफ द सिरिज भने नेपाली कप्तान मानमती विष्ट भइन्। उनले ट्रफी र १५ हजार रूपैयाँ नगद पुरस्कार पाइन्। शृंखलामा च्याम्पियन नेपाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी र कबड्डी संघका महासचिव अरबिन्दकुमार झालगायतले पुरस्कृत गरे। नेपालले यसअघि तेस्रो खेलमा पनि हार बेहोरेको थियो।

यसअघि नेपालले पहिलो दुई खेलमा जित निकाल्दै सहजै शृंखला जित्ने लक्ष्य लिएको थियो। नेपालले पहिलो खेलमा ४१–१८ र दोस्रो खेलमा २९–२२ को जित निकालेको थियो। तर, तेस्रो खेलमा भने नेपालले त्यो लय जारी राख्न सकेन। उक्त खेलमा नेपाल पाहुना टोली बाङ्लादेशसँग २६–२३ अंकको साँघुरो अन्तरले पराजित भएपछि शृंखला रोमाञ्चक बनेको थियो। तर, चौथो खेलमा नेपालले बाङ्लादेशलाई २१–१७ अंकले हराउँदै एक खेलअगावै शृंखला आफ्नो बनाएको हो।
अखिल नेपाल कबड्डी संघले पहिलोपल्ट महिला कबड्डीको शृंखला आयोजना गरेको हो। यो कुनै पनि देशले पहिलोपल्ट महिला कबड्डी शृंखला आयोजना गरेको संघले जनाएको छ। पछिल्लोपल्ट महिला कबड्डीले सुखद नतिजा दिएको समयमा नेपालले बाङ्लादेशसँग शृंखला आयोजना गरेको हो।
नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ। नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको थियो। बाङ्लादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको हो।
बाङ्लादेश कबड्डी संघसँग हरेक वर्ष तीनवटा शृंखला खेल्ने अखिल नेपाल कबड्डी संघले सम्झौता गरेको थियो। सोहीअनुरूप पुरुष र महिला टोलीको शृंखला आयोजना भएको छ। यसअघि नै नेपाली पुरुष टोलीले पनि बाङ्लादेश भ्रमण गरेको थियो। पाँच खेलको त्यो शृंखला बाङ्लादेशले ४–१ को जित निकालेको थियो।
महिला शृंखला भने नेपाली टोलीले ३–२ ले जित्यो। यस शृंखला एसिया कबड्डी महासंघको मान्यतामा भएको हो। नेपाली महिला टोली अहिले भारतको बिहारमा जुन १ देखि १३ सम्म हुने विश्वकपको तयारी पनि छ। यो शृंखलामा जितले नेपाली टोलीमा आत्मबल बढ्नेछ।
प्रकाशित: १३ वैशाख २०८२ ०८:११ शनिबार





