१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

पोखरामा क्लासिक सुईट्स टी–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप हुँदै

पोखरामा क्लासिक सुईट्स टी–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता वैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए ।  

प्रतियोगितामा ३ टिम सहभागी हुने आयोजकले जनाएको छ । डवल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा फिस्टेल अप्मस्ट, ईस्लामिया कंकरस र पोखरा फिनिक्सले सहभागिता जनाउने अध्यक्ष पुनले बताए । उनका अनुसार गत हप्तामात्र सम्पन्न अन्तर विद्यालय पोखरा महानगरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनौट गरिएको थियो । सो प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई विभाजन गरेर ३ टीम बनाई सुपर कप आयोजना गर्न लागिएको उनको भनाई छ ।  

सुपर कप च्याम्पियनसीपबाट उत्कृष्ट १४ जना खेलाडी छनौट गरेर पोखरा महानगरपालिकाको टिम निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिए । सोहि टिमले केहि समयपछि हुने देशका ६ वटा महानगरपालिकाबीच हुने प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । ।यो छनौट प्रतियोगिता हो, प्रतियोगितामा खेलाडीले देखाएको पर्फमेन्सका आधारमा महानगरपालिकाको टिमका लागि खेलाडी छनौट गर्छौं’–उनले भने ।

यसैबीच, प्रतियोगिताका लागि तीन वटै टिमलाई आयोजकले जर्सी हस्तान्तरण गरेको छ । तीन वटै टिमका टिम क्याप्टेनलाई पोखरा महानगरपालिका क्रिकेट संघको तर्फबाट क्रिकेट एशोसियसन नेपाल क्यान तथा आईसिसीका क्रिकेट अम्पायर मोहम्मद सफिक (समीर खान)ले जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी हस्तान्तरण लगत्तै उनले सुपर कप वुमन्स च्याम्पीयनसीपको ट्रफीपनि सार्वजनिक गरेका थिए ।  

सो अवसरमा अन्र्तराष्ट्रिय क्रिकेट अम्पायर खानलाई पोखरा महानगरपालिका क्रिकेट संघले कदर पत्रद्वारा सम्मान गरेको थियो ।

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका सचिव कपिलदेव गौतमले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ दी सिरिज र हरेक दिनको प्लेयर अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिने उनले बताए ।

प्रकाशित: ६ वैशाख २०८२ १७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App