उत्कृष्ट पुनरागमनसँगै श्री भगवती क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा जित निकाल्दा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको पहिलो खेलमा मध्यपुर र टुसाल १–१ गोलको बराबरीमा रोकिएका हुन्। दोस्रो खेलमा भने १० खेलाडीमा सीमित आरसिटीको अग्रता उल्ट्याउँदै श्री भगवतीले ३–१ को जित निकाल्यो। यससँगै लिगमा पाँचौं खेल पूरा भएको छ। यसअघि च्यासल, ब्रिगेड ब्वाइज र प्लानिङ ब्वाइज क्लबले जित निकाल्दा च्यासल र वीरगन्ज युनाइटेडबीचको खेल बराबरीमा नै टुङ्गिएको थियो। एन्फा कम्प्लेक्समा मंगलबार मध्यपुरले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो। खेलको ४१औं मिनेटमा सन्तोष गोङ्बाको गोलबाट मध्यपुरले अग्रता लिएको थियो।
कर्नरबाट आएको पास सदुपयोग गर्दै कप्तान सञ्जय राजवाहकले राइट साइडबाट दिएको बललाई सन्तोषको हेडर गोलमा परिणत भएको हो। यो गोलसँगै पहिलो हाफमा मध्यपुरले अग्रता लियो। तर, फितलो डिफेन्सका कारण मध्यपुरले अग्रता जोगाउन भने सकेन। ६६औं मिनेटमा टुसाल विनोद नेम्वाङको गोलबाट खेलमा फर्कियो। विनोदले गोल गर्दै टुसाललाई १–१ को बराबरीमा ल्याए। ईश्वरकुमार रायमाझीले राइट साइडबाट दिएको बललाई विनोदले वान टचमार्फत जाली चुमाएका हुन्। त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा नै टुङ्गियो। दोस्रो खेलमा पनि आरसिटीले अग्रता गुमाउँदै हार बेहोरेको हो।
खेलको ३३औं मिनेटमा कप्तान समीर राईले रातो कार्ड सामना गरेपछि आरसिटी १० खेलाडीमा सीमित भयो। उनले श्री भगवती क्लबका कप्तान उर्केन जङ्बु शेर्पालाई हातले हानेपछि सीधै रातो कार्ड सामना गरेका हुन्। यद्यपि, एक खेलाडी कम भए पनि त्यसको तीन मिनेटपछि नै आरसिटीले निखिल तामाङको गोलबाट अग्रता लियो। प्रज्वल गुरुङको थ्रु बललाई उनले दुई डिफेन्डरको बीचबाट निक्लिएर गोल गरेका हुन्। त्यो गोलसँगै आरसिटीले पहिलो हाफमा अग्रता कायमै राख्यो। तर, दोस्रो हाफमा भने आरसिटी समालिन सकेन र तीन गोल बेहोर्दै नतिजा सुम्पिन बाध्य भयो।
५४औं मिनेटमा विक्रान्तनरसिंह राणाले गोल गर्दै श्री भगवतीलाई बराबरीको स्थितिमा ल्याए। आरसिटीका डिफेन्डरबाट बल खोस्दै श्री भगवतीले गोल गरेको हो। शिशिर लेखीको पासमा विक्रान्तले गोल गरेका हुन्। ७७औं मिनेटमा अमर श्रेष्ठको आत्मघाती गोलबाट श्री भगवतीले अग्रता बनायो। लेखीको क्रस रोक्ने क्रममा अमरको खुट्टामा ठोकिएर बल आरसिटीको जाली चुम्न पुग्यो। ९०औं मिनेटमा श्री भगवतीले तेस्रो गोल गर्दै खेल पूर्ण आफ्नो नियन्त्रणमा लियो। विशालविक्रम सिलवालले गोल गर्दै श्री भगवतीलाई ३–१ को जित दिलाए।
प्रकाशित: २८ फाल्गुन २०८१ ०८:३६ बुधबार