राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ ६ बजेदेखि सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेललाई लिएर व्यवस्थापनको चरम लापरबाही देखिएको छ।

दिउँसो १ बजेदेखि नै हजारौं दर्शक रंगशाला पुगे पनि व्यवस्थापनको लापरबाहीका कारण धेरैले भित्र पस्न पाएका छैनन्। क्षमताभन्दा अत्यधिक पास बाँडिएकाले रंगशाला दिउँसैदेखि खचाखच भरिएको थियो, तर अझै बाहिरै हजारौं दर्शक बाहिरै अलपत्र परेका छन्।

‘टिकट भएर पनि भित्र छिर्न नपाउने ? यस्तो नि हुन्छ !’ रंगशाला बाहिर सुनिएको एक दर्शकको आक्रोश हो यो। यहाँ भिडमा उभिएका कतिपयले खिन्न हुँदै पास नै च्याते। खेल हेर्न उत्साहित भएर आएका दर्शकहरू टिकट वा पास दुवै लिएर पनि बाहिरै रोकिँदा त्रिपुरेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ।

सडकभरि मानिसको भिड देखिएपछि सुरक्षाकर्मीले भिड नियन्त्रण गर्न निकै मिहिनेत गरिरहेका छन्, तर व्यवस्थापनको फितलोपनका कारण अवस्था झन् झन् बिग्रँदै गएको छ।
केही दर्शक र सञ्चारकर्मी त भीड छिचोल्दै भित्र छिर्न सफल भए। तर धेरैजसो अझै बाहिरै छन्। आयोजकै फिलतो व्यवस्थापनका कारण रंगशाला बाहिरको माहोल अस्तव्यस्त बनेको छ।

अत्यधिक भिडका कारण सुरक्षाकर्मीहरू आक्रामक देखिएका छन्। प्रवेशद्वारमा धकेलाधकेल हुँदा केही व्यक्तिहरू लडेको समेत देखियो। ‘भित्र छिर्न ज्यानकै बाजी लगाउनु पर्ने स्थिति रैछ ?’ एक फुटबल प्रशंसकले गुनासो पोखे।
यसबारे आयोजक पक्षले अहिलेसम्म स्पष्ट धारणा नदिएकाले दर्शकहरूको आक्रोश झन् बढ्दै गएको छ।
प्रकाशित: १९ फाल्गुन २०८१ १८:१६ सोमबार