इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले माफी मागेकी छन्।
बुधबार साँझ भएको खेलमा म्यानमारसँग २-० ले पराजित भएपछि उनले सामाजिक सञ्जाल फेसबूकमार्फत माफी मागेकी हुन्। उनले लेखेकी छन्, 'फेरि पनि हामी फाइनलमा पुग्यौँ तर, चुक्यौँ। कप्तानको रूपमा म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु।'
उनले पहिलो हाफ राम्रो खेलेको भए पनि दोस्रो हाफको आफ्नो गल्तीका कारण दोस्रो गोल पनि खाएको उल्लेख गरेकी छन्। 'म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौँ। तर, दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौँ,' उनले लेखेकी छन्।
दर्शकहरूकै कारणले महिला टोलीले यो पहिचान र अवसर पाएको उनले बताएकी छन्। 'यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ। त्यसैले आलोचनाभन्दा बढी हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ,' उनले भनेकी छन्, 'खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहनत गरेका छौँ।'
प्रकाशित: १५ फाल्गुन २०८१ १४:१२ बिहीबार





