पालिका क्षेत्रमा भएका खेल प्रतिभाको पहिचान तथा खेल क्षेत्रलाई एकीकृत तथा व्यवस्थित गर्न ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले वडा स्तरसम्म खेलकुद समिति गठन गर्ने प्रावधान ल्याएको छ। पालिकाले खेलकुद सञ्चालन कार्यविधिमार्फत खेल क्षेत्रको संस्थागत र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हो।
पालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार खेलकुदका माध्यमबाट पालिकाको कला, संस्कृतिको संरक्षण र जर्गेना समेतमा सघाउ पुग्ने अपेक्षाका साथ संस्थागत अभियान थालिएको हो। उनका अनुसार खेलकुदको संस्थागत विकास, खेल प्रतिभाको पहिचान, पहिचान भएका प्रतिभाको खेल कौशलमा वृद्धि, खेलाडीलाई उचित तालिम तथा प्रशिक्षणको अवसर तथा प्रशिक्षण प्राप्त खेलाडीलाई व्यावसायिक खेल क्षेत्रसँग जोड्ने अभियानका साथ कार्यविधि ल्याइएको हो।
यस्तै खेलकुदका माध्यमबाट पालिकावासीहरूमा नागरिक भावना अभिप्रेरित गर्न समेत सहयोग पुग्ने पालिकाको विश्वास रहेको छ। कार्यविधि अनुसार पालिकादेखि वडा तहसम्म खेलकुदका संस्थागत संरचना हुने छन्। पालिका तथा वडा स्तरमा गठित खेलकुद समितिले खेलकुद सम्बन्धी नीति तथा कार्यक्रमको विषयमा सुझाव दिने, समितिको कार्ययोजना र बजेट बनाउने जिम्मेवारी पनि पाउने छन्।
यस्तै खेलकुदको स्तरवृद्धि तथा खेलाडी पहिचानका लागि समय–समयमा अन्तरपालिका, पालिका र वडा स्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्ने, खेलाडीको क्षमता विकासका लागि प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षकहरूबाट प्रशिक्षणको व्यवस्था मिलाउने, पालिका तथा वडा स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने, अन्य पालिकाले आमन्त्रण गरेका प्रतियोगितामा सहभागिताका लागि खेलाडी तयार गर्ने र खेलाडीको जीवनस्तर उठाउन र मनोबल बढाउन सक्रियतापूर्वक कार्य सम्पादन गर्ने जिम्मेवारी पाउनेछन्।
पालिकाको सामाजिक विकास समितिका संयोजक अध्यक्ष रहने पालिका स्तरीय खेलकुद विकास समितिमा अध्यक्षको सिफारिस तथा गाउँपालिकाको निर्णय अनुसार मनोनीत हुने पालिकावासी उपाध्यक्ष रहनेछन्। खेल जगतमा महत्वपूर्ण योगदान पुर्याएका मध्येबाट पालिका अध्यक्षले मनोनित गर्ने पालिका भित्रका २ जना सदस्य, वडा स्तरीय खेलकुद विकास समितिका ५ जना संयोजक सदस्य र फरक–फरक विधाका खेल जगतमा अनुभव प्राप्त गरेका कम्तीमा एक महिलासहित ४ जना सदस्य रहनेगरी पालिका स्तरीय खेलकुद विकास समिति गठन हुने छ।
पालिकाका कर्मचारी मध्येबाट कार्यपालिकाको निर्णयबाट जिम्मेवारी प्रदान हुने गरी सदस्य सचिव तोकिने कार्यविधिमा उल्लेख गरिएको छ। वडास्थित खेलप्रेमीबाट वडा समितिले मनोनित गर्ने सम्वन्धित वडा क्षेत्रको खेलप्रेमी नागरिक अध्यक्ष रहेको वडा स्तरीय खेलकुद विकास समिति पनि गठन गरिने भएको छ। वडा स्तरीय समितिमा वडा स्तरीय क्लब,संस्था तथा विषयगत क्षेत्रको प्रतिनिधित्व हुने गरी एक महिलासहित वडा समितिले मनोनीत गरेका तीनजना सदस्य हुनेछन्।
वडा स्तरीय खेलकुद विकास समितिको सदस्य सचिवमा समितिका अध्यक्षको सिफारिसमा सम्बन्धित वडाध्यक्षबाट मनोनीत व्यक्तिलाई सदस्य सचिवको जिम्मेवारी दिइने कार्यविधिमा उल्लेख गरिएको छ। पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँ कार्यपालिकाका सदस्य मध्येबाट कम्तीमा एक महिलासहित पालिका अध्यक्षबाट मनोनीत दुईजना सदस्य पालिका स्तरीय समितिको अनुगमन तथा संरक्षक समिति बन्ने छ।
सम्बन्धित वडाको वडाध्यक्ष संयोजक रहने गरी वडा स्तरमा समेत वडा स्तरीय खेलकुद विकास समितिको अनुगमन तथा संरक्षक समिति बन्ने कार्यविधिमा उल्लेख गरिएको छ।
प्रकाशित: १३ फाल्गुन २०८१ १२:२८ मंगलबार





