फोर नेशन्स महिला अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा नेपाल र लेबननबीचको खेल जारी छ। पहिलो हाफको खेल सकिँदा नेपालले १-० को अग्रता लिएको छ।
नेपालका लागि स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले ४२औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाइन्।
विमला चौधरीको कर्नरमा लेबननकी लायला इस्कन्दरले क्लीयर गर्ने प्रयास गरेकी थिइन्। तर बल सावित्राको कब्जामा पुगेपछि उनले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलकिपर फराह इल टयारलाई रिफ्लेक्ट हुँदै जाली चुम्यो।
नेपालले खेलको सुरुदेखि नै आक्रामक शैली अपनाएको थियो। नेपालकी गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ प्रदर्शन गरिन्।
नेपालले आजको खेलमा प्लेइङ-११ मा दुई परिवर्तन गरेको छ। रस्मी कुमारी घिसिङको स्थानमा सावित्रा भण्डारी र घाइते निशा थोकरको स्थानमा समीक्षा घिमिरे टिममा समावेश गरिएका छन्।
यदि नेपालले आजको खेल जितेमा म्यानमारसँगै फाइनल यात्रा पक्का गर्नेछ। यसअघि नेपालले किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो भने म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो।
यसैगरी, आज भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
प्रकाशित: ८ फाल्गुन २०८१ १८:५२ बिहीबार





