२५ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

खेलाडीको पुरस्कारमा कर छुट

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुरूप अन्तर्राष्ट्रिय सफलता पाएका तीन खेलका कुल २८ खेलाडीले नगद पुरस्कार पाएका छन्।

अन्तर्राष्ट्रिय सफलता पाएसँगै नेपाली खेलाडीले पुरस्कार पाउने व्यवस्था राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को अनुसूची–४ बुँदा– १४ मा उल्लेख गरिएको छ। सोहीअनुरूप सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै महिला फुटबल, कराते र बिच भलिबलमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसहितको टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो।

खेल संघले पुरस्कारका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा खेलाडीले पुरस्कार पाउने गरेका छन्।

सरकारले साफ महिला फुटबल च्याम्पियनसिपमा रजत विजेता, १९औं एसियाली खेलकुदमा पदक विजेता र काभा बिच पुरुष तथा महिला भलिबल प्रतियोगिताका विजेता कुल २८ खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई कुल एक करोड एक लाख ४० हजार नगद पुरस्कार प्रदान गरेको हो।

सबै खेलाडीलाई कर कट्टा नगरी पुरस्कार प्रदान गरेको राखेपले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई पुरस्कृत गरे। सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र राष्ट्रिय खेल संघका पदाधिकारी उपस्थित थिए।

गत कात्तिक १४ गतेसम्म काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा बाङ्लादेशसँग पराजित भएपछि नेपाली महिला फुटबल टोली रजत पदकमा सीमित भएको थियो। सोही साफमा रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीले कुल ७४ लाख ६० हजार रूपैयाँ नगद पुरस्कार पायो। खेलाडीले जनही ३ लाख र मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई लाख पुरस्कार पाएका हुन्।

उक्त टोलीमा कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अमृता जैसी, हीराकुमारी भुजेल, रेनुका नगरकोटी, सरु लिम्बू, रश्मिकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता रानामगर र अमीशा कार्की थिए।

त्यस्तै टोलीके गोलकिपरद्वय उषा नाथ र अञ्जना रानामगर, अन्य सदस्य विमला विक, समीक्षा घिमिरे, अनिता बस्नेत, रेखा पौडल, अनिता केसी, विमला चौधरी, निशा थोकर, सजनी ठोकर, दीपा शाही, सावित्रा भण्डारी र मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन्।

सहायक प्रशिक्षक भगवती थापा र गोलकिपर प्रशिक्षक विनोद महर्जनले समान ६० हजार तथा व्यवस्थापक विन्द्रा देवान र फिजियोथेरापिस्ट नवीना श्रेष्ठले समान एक लाख २० हजार नगद पुरस्कार प्राप्त गरे।

सोही कार्यक्रममा गत असोजमा चीनको हाङझाउमा सम्पन्न २०औं एसियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता एरिका गुरुङले भने ६ लाख रूपैयाँ पाइन्। प्रशिक्षक कुशल श्रेष्ठ एक लाख ८० हजार नगदबाट पुरस्कृत भए। एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि ऐतिहासिक रजत जितेकी थिइन्।

नेपालको महिला र पुरुष बिच भलिबल टोलीले गत साउनमा भुटानको थिम्पुमा सम्पन्न काभा बिच प्रतियोगितामा समान एक स्वर्ण र रजत पदक जितेका थिए। ती टोलीका चार खेलाडी र एक प्रशिक्षक गरी पाँच जनालाई कुल १९ लाख नगद पुरस्कार प्रदान गरिएको हो।

स्वर्ण विजेता महिला टोलीका कमला पुन र मनीषाकुमारी चौधरीले जनही पाँच लाख नगद पुरस्कार प्राप्त गरे। रजत विजेता पुरुष टोलीका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले समान तीन लाख नगद पुरस्कार पाए। मान र दिलको पनि कार्यक्रममा उपस्थिति थिएन। दुवै टोलीका मुख्य प्रशिक्षक रूपेशकुमार विष्टले तीन लाख नगद पुरस्कार पाए।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई थप प्रोत्साहन गर्न पुरस्कार महत्त्वपूर्ण रहेको र हाल खेलाडीले पाउने पुरस्कार कानुनी रूपले नै सुनिश्चित हुनु सुखद पक्ष भएको बताए। उनले खेलाडीले पाएका पुरस्कारमा कर छुट हुँदा थप खुसी प्राप्त भएको उल्लेख गर्दै खेलाडीले पाएको पुरस्कारलाई आकास्मिक लाभका रूपमा राख्न नहुने बताए।

सदस्यसचिव घिसिङले खेलाडीले पाउने सफलता आकस्मिक लाभ नभएको र वर्षौदेखि उनीहरूको मिहिनेतबाट प्राप्त हुने गरेकाले त्यसका लागि पाउने पुरस्कारलाई आकास्मिक लाभका रूपमा हेर्न नहुने उल्लेख गरे। घिसिङले हाल नेपाली खेलाडीले मिसन २०२६ को तयारी गरिरहेकाले यो पुरस्कारले थप हौसला प्राप्त हुने विश्वास व्यक्त गरे। 

प्रकाशित: २४ पुस २०८१ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App