सन् २०१३ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना भएको साफ च्याम्पियनसिपको समूहचरणमा नेपालले २० वर्षपछि भारतलाई पराजित गरेको थियो। २–१ को उक्त नतिजासँगै ३८ वर्षीय अमेरिकन प्रशिक्षक ज्याक स्टेफानोस्कीको प्रशिक्षणमा उत्रिएको नेपाली टोलीलाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरियोे। तर दुर्भाग्य नै मान्नुपर्छ, समूहचरणमा एक हार पनि नबेहोरेको नेपालको यात्रा भने अफगानिस्तानले सेमिफाइनलमै ‘ब्रेक’ लगाइदियो।
नेपाललाई इतिहासमै पहिलोपल्ट १–० ले हराएको अफगानिस्तानले नै उपाधि उचाल्दियो। ११ वर्षपछि फेरि नेपाल एकपल्ट यही टोलीविरुद्ध उत्रिँदै छ। तर यसपल्ट नेपाल र अफगानिस्तानले खेल्ने प्रतियोगिता साफ होइन, मैत्रीपूर्ण फुटबल हो। दक्षिण एसिया (साफ) छाड्दै मध्य एसिया पुगेको यो टोलीसँग नेपालले डुसान्बेमा ‘फिफा म्याच क्यालेन्डर’ (११–१९ नोभेम्बर) मा खेल खेल्न लागेको हो। यो मैत्रीपूर्ण खेलमा विश्व वरीयतामा १०५औं स्थानमा रहेको ताजिकिस्तान पनि नेपालको प्रतिद्वन्द्वी रहनेछ।
यसैका लागि नेपालले दुई सातादेखि तयारी गरिरहेको अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपाने बताउँछन्। ‘दुवै टोली वरीयतामा हामीभन्दा बलिया छन्। पहिला खेल्दा अफगानिस्तानलाई सजिलै जित्थ्यौं। तर अहिले अवस्था फरक छ। दुवै टोलीका खेलाडी युरोपमा खेल्छन्। त्यसैले बलियो रणनीति बनाएका छौं,’ उनी भन्छन्।
नेपाल र अफगगानिस्तानको पहिलो भेट सन् २००३ मार्च १८ मा भएको थियो। एएफसी एसियन कप छनोटअन्तर्गत भएको उक्त भेटमा हरि खड्काले दुई, नीरञ्जन रायमाझी र दीपक लामाले समान एक गोल गरेपछि नेपालले ४–० को फराकिलो जित हात पारेको थियो। सन् २०१३ को साफलाई छाड्ने हो भने त्यसअघि भएका चार भेटमा नेपालले दुई जित र दुई बराबरीको नतिजा हात पारेको थियो।
सन् २०१३ को साफ फाइनलमा भारतसँग २–० को जितपछि अफगानिस्तानले आफूलाई यो क्षेत्रको सबैभन्दा बलियो टोली ठानेको हुनुपर्छ। त्यसैले होला दुई वर्षपछि नै अफगानिस्तानले यो क्षेत्रबाट मध्य एसियातिर पाइला लम्कायो। त्यसयता नेपाल र अफगानिस्तानको भेट दुर्लभ बनेको छ।
यस बीचमा दुवै टोलीमा व्यापक परिवर्तन भइसकेको छ। अहिले यी दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता छ। तर अनुभवी भने अफगानी टोली नै रहेको प्रशिक्षक न्यौपाने मान्छन्। यो टोलीका एक दर्जनभन्दा बढी खेलाडी स्विडेन, जर्मनी, इटाली, नर्वेलगायतका देशबाट खेल्दै आएका छन्।
बाँकीले अस्ट्रेलिया, काजकिस्तान, हङकङ र भारतमा व्यावसायिक लिग खेल्छन्। तर, नेपाली खेलाडी भने घरेलु लिगविहीन भएकै ५१७ दिन भइसकेको छ। अझ अघिल्ला दुई ‘फिफा विन्डो’ गुमाएको नेपालले पाँच महिनापछि मात्रै खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा उतार्न लागेको छ। त्यसमाथि चोटको पीडा त छँदै छ। तर त्यही पनि नेपालको लक्ष्य भने अफगानिस्तानलाई पराजित गर्नु मात्रै रहेको न्यौपाने सुनाउँछन्।
‘मैले एक लक्ष्य बनाएको छु, ताजकिस्तानसँग बराबरी खेल्ने र अफगानिस्तानसँग जित हात पार्ने। यी दुई बलियो टोली हुन् तर पाउने एक–दुई मौकालाई सदुपयोग गर्न सक्यौं भने नतिजा हाम्रो पक्षमा आउनेछ,’ उनी भन्छन्।
उता, नेपालले ताजिकिस्तानसँग भने दुई खेल मात्रै खेलेको छ। त्यो दुई भेट भने एएफसी एसियन कप छनोटले नै जुराइदिएको हो। सन् २०१७ मा ‘होम एन्ड अवे’ खेलमा भएका ती दुई भेटमा नेपाल पराजित भएको थियो। अफगानिस्तान रहेकै क्षेत्रबाट खेल्ने ताजकिस्तानसँग नेपालले चुनौती नै पेस गर्न सकेको थिएन। पाँच गोल खाँदा नेपाललाई ‘निल’ हुन भने विमल घर्तीमगरले जोगाए। तर अहिले उनी अस्ट्रेलिया पलायन भइसकेका छन्। उनी मात्रै होइन पछिल्लो समय सम्भावना बोकेका भनिएका फरवार्ड सञ्जीव विष्ट पनि अस्ट्रेलिया भास्सिएको दुई हप्ता पुगेको छैन। भरपर्दा र अनुभवी मानिएका सेन्ट्रल ब्याक अनन्त तामाङ र मिडफिल्डर लाकेन लिम्बू र उदीयमान फरवार्ड समीर तामाङलगायत केही महŒवपूर्ण खेलाडी घाइते छन्।
यस्तोमा नेपाली टोली उत्साहितभन्दा बढी खिन्न महसुस गरिरहेको छ। त्यसैले यी दुई खेल चुनौतीपूर्ण हुनेछ। तर फरवार्ड अञ्जन विष्ट भने डटेर खेल्ने अठोट लिन्छन्। ‘फुटबल खेल्छु भनेर आएकाले खेल्न पाएका छैनन्। त्यसैले सीधै मैदान उत्रिनुपर्ने बाध्यता छ। तर युवा टोली भएको कारण ९० मिनेट डटेर खेल्न सक्छौं भन्ने विश्वास छ,’ उनी भन्छन्।
यो मैत्रीपूर्ण खेल खेलाडीलाई ‘म्याच एक्सपोजर’ दिने दरिलो ‘प्लाटफर्म’ पनि हो। लाइन लागेर अनुभवी खेलाडी अस्ट्रेलिया पलायन भइरहेको अवस्थामा टिममा डिफेन्डर रनदीप पौडेल, एन्जल महर्जन, अभिषेक वाइबा र फरवार्ड नीराजन धामीले पहिलोपल्ट स्थान बनाएका छन्। थपिएका नयाँ र बेन्चमा रहेका पुरानालाई पनि यी दुई खेलबाट ‘एक्सपोजर’ मिल्ने अञ्जनको विश्वास छ। पाएको मौकालाई सदुपयोग गरे टिमले राखेको लक्ष्य पनि सहजै पूरा हुनेमा कुनै शंका नरहने उनी बताउँछन्।
प्रकाशित: २४ कार्तिक २०८१ ०७:५३ शनिबार