९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

यु–१९ राष्ट्रिय क्रिकेट : मधेस र कर्णालीको जित

मधेस र कर्णाली प्रदेश विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएका छन् ।मंगलबार भएको ५० ओभरका खेलमा कर्णालीले बागमती प्रदेश र मधेसले लुम्बिनी प्रदेशलाई हराउँदै सफलता प्राप्त गरेका हुन्। 

विराटनगरको मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले बागमतीलाई २० रनले पराजित गर्‍यो। ७६ रनको लक्ष्य पाएको बागमती १८.३  ओभरमा ५५ रनमा नै अलआउट हुन पुग्यो। बागमतीका रोशन विश्वकर्माले १३ रन र उत्तम मगरले १० रनको योगदान दिए। कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले चार विकेट निकाले। युनिस ठकुरी र अनुज चनराले समान तीन विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली २०.५ ओभरमा ७५ रनमा अलआउट भयो।

कर्णालीका विजय बोहोराले १६ रन र कमल विष्टले १५ रनको योगदान गरे। बागमतीका दिनेश विष्टले पाँच विकेट लिए। उनले ३.५ ओभरमा दुई मेडन राख्दै ६ रन मात्र दिए। दयानन्द मण्डलले तीन र दीपक सेरलाले २ विकेट लिए।

बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेलमैदानमा भएको रोमाञ्चक खेलमा मधेसले लुम्बिनीलाई एक विकेटले पराजित गर्‍यो। मधेसले लुम्बिनीको अपराजित यात्रामा पनि पूर्णविराम लगायो। ७१ रनको लक्ष्य पाएको मधेसले २७ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो। मधेसका मयन यादवले २२ रन र इमरान शेखले ११ रनको योगदान दिए।

लुम्बिनीका रमेश कुर्मीले चार विकेट लिँदा सन्तोष यादवले तीन विकेट लिए । टस जितेर ब्याटिङ गरेको लुम्बिनी २० ओभरमा ७० रनमै अलआउट भएको थियो । लुम्बिनीका समीर अलीको १२ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। मधेसका प्लेयर अफ द म्याच अभिषेक तिवारीले सर्वाधिक पाँच विकेट लिए। उनले ६ ओभरमा १६ रन दिए। लिगका सबै खेल सम्पन्न हुँदा 

सुदूरपश्चिम ६ खेलबाट पाँच जित र एक हारका साथ १० अंकसहित शीर्ष स्थानमा छ ।  समान खेलबाट समान पाँच जित र एक हार सामना गरेको लुम्बिनीको १० अंक नै छ ।  तर, नेट रनरेटले पछि पर्दै लुम्बिनी दोस्रो स्थानमा छ। गण्डकी ६ खेलबाट समान तीन हार र जितका साथ ६ अंक जोड्दै तेस्रो स्थानमा छ।समान खेलबाट मधेस तीन जित र तीन हारसहित ६ अंक बटुल्दै नेट रनरेटले चौथो स्थानमा छ। 

६ खेल नै खेलेको बागमतीले दुई जित र चार हार सामना गरेको छ। बागमती चार अंक बटुल्दै पाँचौं स्थानमा छ। कर्णाली ६ खेलमा दुई जित र चार हारका साथ चार अंक बनाउँदै छैटौं रहँदा समान खेलबाट कोसी एक जित र पाँच हारसहित दुई अंक जोड्दै पुछारमा छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच बुधबार फाइनलमा हुनेछ।  

प्रकाशित: २० कार्तिक २०८१ २१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App