नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ।
दशरथरंगशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग २ - १ गोलले पराजित हुँदै नेपाल उपाधि जित्न असफल भएको हो।
मध्यान्तर सम्म गोलरहित बराबरी भएको खेलमा नेपालविरुद्ध बङ्गलादेशले ५१ मिनेटमा पहिलो गोल गर्दै १-० को अग्रता लिएको थियो ।तर त्यो अग्रतालाई घरेलु खेलाडी अमिशा कार्कीले चार मिनेट पछि गोल फर्काउँदै बराबरीमा ल्याइन । अन्ततः ८० औ मिनेटमा बङ्गलादेशले दोस्रो गोल गर्दै २ -१ अग्रता लियो।
यो अग्रतालाई कायमै गर्दै बङ्गलादेशले दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ ।बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरेका हुन।
यस अघि पनि बङ्गलादेशले फाइनलमा नेपाललाई नै हराएर पहिलो पटक उपाधि जित्न सफल भएको थियो । नेपालले अहिले सम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।
यो संगै नेपाल साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा दुई पटक बङ्गलादेशसँग फाइनलमा पराजित हुन पुगेको छ ।
सन् २०१० मा बङ्गलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालको उपाधि जित्न सपना यसपाली पनि पुरा हुन पाएन । यसपटक पनि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ ।
यसपटक नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन्। नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन्।
नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको थियो।
यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।
प्रकाशित: १४ कार्तिक २०८१ २०:२९ बुधबार