७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

नेकोस कोशी प्रदेश आईटीएफको अध्यक्षमा अरुण राठी निर्विरोध

नेपाल खेलकुद महासंघ (नेकोस) कोशी प्रदेश आईटीए तेक्वान्दो संघको अध्यक्षमा अरुण राठी निर्विरोध निर्वाचित भएका छन्।

विराटनगरमा भएको प्रथम प्रदेश सम्मेलनले विराटनगरका राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्विरोध चयन भएका हुन्।उपाध्यक्षमा सन्तोषकुमार श्रेष्ठ, सचिव ओमकुमार श्रेष्ठ, सहसचिवद्वय गोपाल पोद्दार र सुमिरा श्रेष्ठ, कोषाध्यक्ष प्रदीपकुमार कर्ण चयन भए।

त्यस्तै सदस्यहरुमा धनबहादुर लकान्तरी, चन्द्रवती राई, प्रकाश लिङदेन, अलोक राई, अनिता सेलिङ, सजिना तामाङ, सार्थक पोखरेल, केरिसा आचार्य, जतिन ताम्राकार र बलराम गिरी चयन भएका छन्।

सम्मेलनको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल र खेलाडीमा गरेको लगानी कहिले पनि नडुब्ने बताए।  

उनले खेलकुद सम्बन्धि स्पष्ट कानुन नहुँदा तीन तहका सरकारसँग समन्वय गरेर काम गर्न असहज भएको बताए । सरकारले नयाँ खेल नीति ल्याउन नसक्दा कर्मचारीमा पनि अन्योल रहेकोमा जोड दिए।    

प्रदेशका सबै प्रशिक्षहरुलाई स्पष्टसँग भन्ने गरेको छु, तपाईंहरु प्रशिक्षक भएर प्रशिक्षण गर्दै खेलाडी उत्पादन गर्नुहोस्, बस्नेतले भने, ‘प्रशिक्षकहरुले आफ्नो काम कर्तव्य के हो भन्ने बुझ्न जरुरी छ। प्रशिक्षण गराएर राम्रो खेलाडी उत्पादन गर्दै पदक जित्ने बनाउनु एउटा कुशल प्रशिक्षकको मुख्य जिम्मेवारी हो । तपाईं प्रशिक्षकहरु आफ्नो काम र आफू काम गर्ने संस्थाप्रति उत्तरदायी हुनुहुन वा बन्न सक्नुहुन्न भने राजीनामा दिनुहोस् ।’

‘आफू काम पनि नगर्ने नयाँलाई पनि गर्न नदिई ठाउँमा मात्रै ओगट्ने काम गर्न छाड्नु पर्छ । प्रशिक्षकले पनि समयअनुकूल आफूलाई परिमार्जन गर्न जरुरी छ। नयाँ खेल नीति, नियम र खेल्ने तरिका अपनाउन नसक्दा खेलाडीले भने जस्तो नतिजा दिन सकेका छैनन्’, बस्नेतले भने।  

काम गर्न नसक्ने भए राजीनामा दिएर ठाउँ खाली भए नयाँ प्रशिक्षक नियुक्त गरेर नयाँ तरिकाले प्रशिक्षणको व्यवस्था मिलाइने बताउँदै, बस्नेतले भने, ‘कतिपय प्रशिक्षकहरु प्रशिक्षण त होइन दैनिक हाजिर गर्न समेत जानु हुन्न। उहाँहरुले सम्मानका साथ राजीनामा दिए हुन्छ। कसै कसैले एक महिनाको हाजिर एकै पटक गर्ने गरेको पाइएको छ । उहाँहरुलाई स्पष्ट भनेको छु बानी सुधार्नु होस्।’  

सदस्यसचिव बस्नेतले भने,‘मुलुक आज संकटा हुँदाहुँदै पनि प्रदेश सरकारले खेलकुदको विकासका लागि ठूलो रकम लगानी गरेको छ। प्रदेश सरकारले खेलकुदलाई बुझेकै कारण १० औं राष्ट्रिय खेलकुदका लागि १० करोड रुपैयाँ छुट्याएको छ।’

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले सम्मेलनको सफलताको शुभकामना दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।  

प्रकाशित: १४ कार्तिक २०८१ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App