११ कार्तिक २०८१ आइतबार
image/svg+xml
खेल

आइएसएफ जिम्नासाइड समर गेम्समा नोर्बुको रजत पक्का

 नेपालले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा शनिबार कम्तीमा रजत पदक पक्का गरेको छ।  बहराइनको मानामास्थित अल अहली क्लबमा भएको यु–१८ उमेरसमूहको पुरुष  ८० केजीमुनि युथ बक्सर नोर्बु थेन्डुप शेर्पा फाइनल पुगेसँगै नेपालले रजत पदक जित्ने पक्का भएको हो। 

नोर्बुले सेमिफाइनलमा बहराइनका अनास अल जलाकीलाई आरएससी (रेफ्री स्टप कन्टेस्ट) का आधारमा हराउँदै स्वर्ण भिडन्त पक्का गरेका हुन्। प्रतिद्वन्द्वीमाथि पूर्ण हाबी हुँदै मुक्का प्रहार गर्ने खेलाडीलाई निर्णायकले आरएससीका आधारमा विजेता घोषणा गर्ने प्रावधान छ। मंगलबार हुने फाइनलमा नोर्बुको भेट ब्राजिलका रेजेन्डे डी क्रुजसँग हुने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए ।

दीपक उनै खेलाडी हुन्, जसले ग्वाङझाउ एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएका थिए। त्यो एसियाडमा दीपकले कांस्य जित्दै नेपालको पदक खडेरी तोडेका थिए। यसपल्ट मिनी ओलम्पिकका रूपमा रहेको आइएसएफ जिम्नासाइड समर गेम्समा पनि दीपककै प्रशिक्षणमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। युथ बक्सर नोर्बुको स्पर्धामा चार राष्ट्रका चार बक्सर थिए। करिब पाँच वर्षअघि बक्सिङ खेल्न सुरु गरेका नोर्ब कपनका बासिन्दा हुन्। उनी लोयल्टी एकेडेमीका कक्षा १२ मा अध्ययनरत छन्।  

दोस्रो अन्तर्राष्ट्रिय सहभागितामै उनी पदक जित्न सफल भए। करिब एक वर्षअघि अर्मेनियामा सम्पन्न जुनियर विश्व बक्सिङ च्याम्पियनसिप उनको अन्तर्राष्ट्रिय ‘डेब्यु’ हो।

 नोर्बु राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा आफ्नो तौलसमूहका रजत विजेता पनि हुन्। खेलपछि नोर्बुले रजत पदक पक्का गर्न पाएकोमा खुसी व्यक्त गर्दै स्वर्णका लागि सक्दो प्रयास गर्ने बताए। ‘देश र करियरको पहिलो पदक दिलाउन पाएको धेरै खुसीसँगै गर्व महसुस भएको छ। फाइनलमा  अझै उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्ने प्रयास गर्नेछु,’ उनले भने। प्रशिक्षक महर्जनले सोचेअनुरूपको प्रदर्शन गरेको उल्लेख गर्दै नोर्बुबाट स्वर्णको आशा व्यक्त गरे ।

शनिबारै भएको जुनियर पुरुष ८० केजीमुनिमा पनि नेपालकै सूर्यान वैद्यले कांस्य पदक जिते। सेमिफाइनलमा उनी युक्रेनका हलिब इभान्चुकसँग ४–१ ले चुके। पाँच राष्ट्रका पाँचै खेलाडी सहभागी स्पर्धामा बाइ पाउँदै सेमिफाइनलमा प्रवेश गरेकाले उनको पनि कांस्य पदक निश्चित गरेका हुन्। नेपालबाट बक्सिङमा पाँच खेलाडी सहभागी छन्। दुई खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

पुरुष ४६ केजीमुनि रोहित जनालाले अर्मेनिया र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले ब्राजिलकी खेलाडीसँग सोमबार प्रतिस्पर्धा गर्नेछन्। पुरुष ६३ केजीमुनि नेपालका युनिक राईको चुनौती समाप्त भइसकेको छ। बक्सिङमा नेपालका अनिलप्रसाद दाहालले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने दाहाल एक्लो नेपाली हुन्। प्रतियोगितामा समावेश २६ खेलमध्ये नेपाल पाँच खेलमा सहभागी छ। 

प्रकाशित: ११ कार्तिक २०८१ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App