१० कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

गेडही गुठीलाई गरुडा मेयर कप सिजन–३ को उपाधि

रौतहटको गरुडा नगरपालिकामा भएको मेयर कप सिजन–३ प्रिमियर लिग गेडही गुठीले जितेको छ।

गरुडा नगरपालिकाको सहयोगमा युथ क्लब अफ रौतहटको आयोजनामा शनिबार सम्पन्न लिगको फाइनलमा गेडही गुठीले जिंगडियामाथि ७५ रनको जित निकाल्दै उपाधि उचालेको हो । निर्धारित २० ओभर खेल्दै गेडही गुठीले दिएको २१८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिंगडिया निर्धारित ओभर नै खेले पनि १४२ रनमा अलआउट भयो। गरुडाको चिनीमिलस्थित क्रिकेट मैदानमा भएको फाइनलमा वडा–२ गेडही गुठीले ब्याटिङ र बलिङ राम्रो प्रदर्शन गरेपछि उपाधि आफ्नो बनाएको हो । फाइनलमा एक समय गेडही गुठी ६४÷८ को नाजुक स्थितिमा थियो ।

तर, धीरज सहनी र मनोज सहनीको जोडीले बलियो साझेदारी गर्दै गेडहीलाई बलियो योगफलतर्फ अग्रसर गराएका हुन् । लिगमा नगरपालिकाका वडास्तरीय ९ र आयोजकको एक गरी कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रिमियर लिग विजेता गेडही गुठीले ८१ हजार र जिंगडियाले ४१ हजार रुपैयाँ नगदका साथै कप र अन्य पुरस्कार प्राप्त गरे ।आफ्नो वडाको टिम जितेकोमा खुसी व्यक्त गर्दै वडा नम्बर २ गेडही गुठीका वडाध्यक्ष कृष्णनन्दन सहनीले विजेतालाई थप एक लाख पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे। गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनिप्रसाद कल्वारले विजेतालाई पुरस्कृत गरे। 

सो अवसरमा उनले गरुडा मेयर कप एउटा राम्रो प्रतियोगिताका रूपमा स्थापित हुन पुगेको उल्लेख गर्दै नगरभित्रका खेलाडीले आफ्नो प्रतिभा तिखार्ने राम्रो अवसर पाएको बताए। नगर प्रमुख कल्वारले खेलाडीहरूले देखाएको अनुशासन प्रशंसनीय भएको उल्लेख गर्दै प्रतियोगिताको फाइनलमा दर्शकको उत्साहपूर्ण सहभागिताले आफूलाई पनि हौसला मिलेको अभिव्यक्ति दिए । साथै उनले गरुडमा नगरस्तरीय खेलमैदान निर्माणका लागि आफूले जग्गा खोजिरहेको र छिट्टै सुखद समाचार आउने संकेत पनि गर । 

 

प्रकाशित: १० कार्तिक २०८१ २०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App