९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

फराकिलो जितसँगै नेपाल समूहविजेता

समूहको अन्तिम खेलमा बिहीबार श्रीलंकासँगको प्रतिस्पर्धाअघि नेपाल जितसँगै झन्डै आधा दर्जन गोल गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो।

घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिपमा समूह ‘बी’ को विजेता बन्न नेपालसँग श्रीलंकामाथि ६ गोलअन्तरको जितबाहेक विकल्प थिएन। बिहीबारकै पहिलो खेलमा भुटानले माल्दिभ्समाथि १३–० को जित निकालेपछि समूहविजेता बन्न नेपाल फराकिलो जित आवश्यक परेको हो। यस किसिमको नतिजा नआउँदा समूह ‘बी’ बाट भुटान विजेताका रूपमा सेमिफाइनल पुग्ने समीकरण थियो। त्यसैले नेपाली टोली पनि समूहविजेता बन्दै उच्च मनोबल साथ सेमिफाइनल खेल्ने लक्ष्यसहित श्रीलंकामाथि फराकिलो नतिजा चाहन्थ्यो ।तर, यो नतिजा असम्भव भने थिएन।

प्रभावकारी तयारीबिना आएको श्रीलंकाको प्रदर्शन त्यति प्रभावकारी पनि थिएन । साथै घरेलु टोलीले आफ्ना सबैभन्दा ठूलो स्टार सावित्रा भण्डारी ‘साम्बा’ को साथ पनि पाएकाले फराकिलो नतिजा असम्भव भने थिएन।

फ्रान्सेली लिग खेलिरहेकी सावित्रा यस संस्करण पहिलोपल्ट बिहीबार उत्रँदै थिइन्।त्यस कारण फराकिलो जितसँगै सावित्राको प्रदर्शन कस्तो होला भन्ने अपेक्षा समर्थकको पनि थियो। यस च्याम्पियनसिपकै सबैभन्दा धेरै समर्थक (सात हजार ६ सय १७) को साथ पाएको नेपालले सुरुआती १५ मिनेटमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो संकेत पनि गर्‍यो।  

पहिलो १५ मिनेटमै घरेलु टोलीले तीन गोल गर्‍यो। यसपछि नेपाली टोलीले सहजै आशातीत अन्तरमा जित निकाल्ने आशामा घरेलु समर्थक थिए। तर, सहज भने भएन। पहिलो हाफमा नेपाल श्रीलंकामाथि हाबी पनि भयो र चार गोल गर्‍यो । दोस्रो हाफ भने नेपालका लागि कठिन बन्यो।

दोस्रो हाफमा मिडफिल्डर प्रीति राईले असहज महसुस गर्दै मैदानमा छाडिन्। प्रशिक्षक राजेन्द्र तामाङको एक मात्र परिवर्तन (प्रीति) पछि सहज भएन। यद्यपि, दोस्रो हाफको सुरुमै नेपालले पाँचौं गोल गर्दै राम्रो संकेत गरेको थियो। त्यसपछि श्रीलंकाले बलियो रक्षात्मक शैली अपनायो र नेपालले गोलका लागि निकै संघर्ष गर्नुपर्‍यो।

साफकै सबैभन्दा ठूलो स्टार स्ट्राइकर साम्बा पनि बलियो निगरानीमा रहिन्  उनीसँगै रेखा पौडेल, रश्मिकुमारी घिसिङ र साविता रानामगरका आक्रमणमा सफल भएनन्। एकपछि अर्को प्रयास असफल भएपछि नेपाल निकै दबाबमा थियो। पाँचौं गोलपछि श्रीलंकाले बाँकी ४७ मिनेटसम्म नेपाली टोलीलाई रोक्यो र भुटान समूहविजेता बन्ने संघारमा पुग्यो। तर, प्रीतिकै स्थानमा आएकी रश्मिकुमारी घिसिङले इन्जुरी समयको चौथो मिनेटमा हेड गोल गरेसँगै नेपालको लक्ष्य पूरा भयो। त्यो गोलसँगै घरेलु समर्थक र नेपाली खेलाडीले ठूलो उत्सव मनाए र दशरथ रंगशालामा गुञ्जायमान बन्यो।

यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र नेपालले श्रीलंकाविरुद्ध लक्षित ६–० अन्तरकै जित निकाल्यो। यससँगै नेपालले गोलअन्तरका आधार भुटानलाई पछि पार्दै समूहविजेता बन्यो। यद्यपि, चार राष्ट्र रहेका यस समूहमा दुवैले समान सात अंक बटुलेका थिए।

नेपाल र भुटानबीचको पहिलो खेल गोलरहित बराबरीमा रोकिएको थियो। दुवैले बाँकी खेलमा भने जित निकाले। सेमिफाइनलमा नेपालले समूह ‘ए’ को उपविजेता भारतसँग खेल्दा भुटानले भने समूह ‘ए’ को विजेता बाङ्लादेशसँग खेल्नेछ। नेपालका प्रशिक्षक तामाङले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने समीकरणबाट बच्नभन्दा पनि समूहविजेता हुने लक्ष्यसहित खेलिएको बताए।

‘हाम्रो लक्ष्य भारतसँगै सेमिफाइनलमा खेल्ने थिएन।समूहविजेता बन्न चाहन्थ्यौं । सुरुआत राम्रो भए भने दोस्रो हाफमा कठिन भयो। प्रीति राई घाइते भएपछि गाह्रो भयो।

प्रीतिले असहज भयो भनेपछि उनलाई आराम दियौं,’ उनले भने,‘सुरुमा गोल गरेकाले मद्दत मिल्यो । श्रीलंका रक्षात्मक रणनीतिसँगै काउन्टर अट्याक खेल्ने प्रयासमा थियो । दोस्रो हाफमा उनीहरूले धेरै बलियो डिफेन्स गरे र गाह्रो भयो। तर, अन्तिममा रश्मिले गोल गरिन्।’

त्यसअघि नेपालले खेलको आठौं मिनेटमा नै काउन्टर अट्याकमार्फत अग्रता लियो। सवित्राले राइट साइडबाट एक डिफेन्डर छक्याउँदै दिएको बललाई सविता रानामगरको लेफ्ट फुटेट वान टच गोलमा परिणत भयो। नेपालले १२औं मिनेटमै सावित्राको दर्शनीय गोलबाट अग्रता दोब्बर पार्‍यो।

करिब  २५ यार्डबाट उनले गरेको सशक्त प्रहार दोस्रो बारको टप कर्नर गोलमा परिणत भयो। एक मिनेट नबित्दै रेखा पौडेलले नेपालको अग्रता ३–० ले अगाडि बढाइन्।अमिसा कार्कीले लेफ्ट साइडबाट गरेको क्रश बललाई रेखाको ड्रप नहुँदै भली प्रहार गर्दै जाली चुमाइन्। तर, चौथो गोल हुन भने लामो समय प्रतीक्षा गर्नुपर्‍यो। ३६औं मिनेटमा सावित्राको लामो प्रहार रेखाको खुट्टामा लागेर गोलमा परिणत भयो।पहिलो हाफमा नेपाल ४–० ले अगाडि रह्यो। दोस्रो हाफमा श्रीलंकाले बलियो रक्षात्मक रणनीतिका साथ खेल्यो।

सुरुमै नेपालले पाँचौं मिनेटमा गोल गरेको थियो।४६औं मिनेटमा अमिसाले हेडरमार्पmत गोल गरेकी हुन्। सविताले राइट साइडबाट दिएको क्रस बललाई अमिसाले दुई डिफेन्डरको बीचबाट जाली चुमाइन्। ५०औं मिनेटमा रश्मिकुमारी र रेखाबीच तालमेल अभाव हुँदा नेपाल छैटौं गोलबाट वञ्चित भयो। करिब १२ यार्डबाट दुवै गोल आफै गर्न हतार भए । ६२औं मिनेटमा सवित्राले गोलकिपर आरजिआइ विरासिंघा बिट भएको अवस्थामा गरेको प्रहार गोडावालेग कुमुदिनीले गोललाइनबाटै क्लियर गरिदिइन्।

सावित्राको ७६औं मिनेटमा पनि प्रहार श्रीलंकाकी गोलकिपर विरासिंघाले असफल बनाइन्। नेपालकी रेखाले ८३औं मिनेटमा गरेको हेडर गोल पनि अफसाइड भयो।यससँगै नेपालको अपेक्षित नतिजा टाढिने अनुमान थियो। तर, इन्जुरी समयको पहिलो मिनेटमा नै रश्मिकुमारीको हेड गोलबाट नेपालको छैटौं गोल पूरा भयो। यसपछि बाँकी समयमा थप गोल भएन र नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्यो। 

प्रकाशित: ९ कार्तिक २०८१ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App